सगरमाथा संवादमा १७५ विदेशी विशिष्ट पाहुना सहभागी हुने

काठमाडौँ । प्रत्येक २ वर्षमा आयोजना गर्ने गरी नेपालले पहिलो पटक आयोजना गर्न लागेको सगरमाथा संवादको तयारी अन्तिम चरणमा पुगेको छ । ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ विषयमा हुन लागेको पहिलो संस्करणको कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको हो ।

आगामी २ देखि ४ जेठसम्म काठमाडौँमा हुने सगरमाथा संवादमा आउने विदेशी विशिष्ट पाहुनाको सूची सार्वजनिक गरिएको छ । संवाद आयोजनाका लागि प्रधानमन्त्री ओलीको संयोजकत्वमा उच्चस्तरीय निर्देशक समिति, परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको संयोजकत्व र वनमन्त्री ऐनबहादुर शाही ठकुरीको सहसंयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको छ ।

१७५ विदेशी विशिष्ट पाहुना आउने

सगरमाथा संवादमा १७५ विदेशी पाहुना सहभागी हुने भएका छन् । सगरमाथा संवाद व्यवस्थापन समिति संयोजकसमेत रहेकी परराष्ट्रमन्त्री राणाले करिब त्यतिकै संख्यामा नेपाली सहभागी हुने जानकारी दिइन् । उनले भनिन्, ‘संवादमा करिब ३५० जना सहभागी हुनुहुनेछ । १२ देशको उच्च तहको प्रतिनिधिमण्डल सहभागी हुनेछ ।’

संवादमा सहभागी हुन चीनबाट नेसनल पिपल्स कंग्रेस (एनपिसी) का उपाध्यक्ष सिआयो जी आउने भएका छन् भने भारतबाट वनमन्त्री भूपेन्द्र यादव पनि आउने भएका छन् । अजरबैजानका प्राकृतिक स्रोतमन्त्री मुख्तार बाबायेभ, बंगलादेशका सामाजिक कल्याण मन्त्रालयका सल्लाहकार सर्मिन सोनेया मुर्सिद, भुटानका ऊर्जामन्त्री जेम छिरिङ, माल्दिभ्सका पर्यटन तथा वतावरण मन्त्री थोरिक इब्राहिम, जपानका उपविदेशमन्त्री इकुइना अकिको, संयुक्त अरब इमरेट्सका उर्जा तथा दिगोपानाका लागि सहायक विदेशमन्त्री अब्दुला बलाला, संयुक्त राज्यबाट त्यहाँ संसदीय मामिलाका सहसचिव ब्यारोनेस सुसान हेम्यानलागयत प्रतिनिधि आउने भएका छन् ।

विभिन्न मुलुकका साथै सार्क, बिम्स्टेक, विश्व बैंक, एसियाली विकास बैंक, लस एन्ड ड्यामेज फन्ड, आइपिसिसी, युएनएफसिसिसी, युएन इएससिएपी, आइआरइएन, एल्पाइन कन्भेन्सन र विकास सहायता संस्था, विश्वविद्यालय, थिंकट्यांक, अनुसन्धान तथा सोध केन्द्र, नागरिक समाज, गैरसरकारी संस्थालगायत विदेशी प्रतिनिधि तथा दर्जनौँ संस्थाबाट ६१ विदेशी तथा स्वदेशी संगठन एवं संस्थाले भाग लिनेछन् ।

को को छन् वक्ता ?

प्रधानमन्त्री केपी शर्मा ओलीबाट सम्बोधन हुने उक्त समारोहमा परराष्ट्रमन्त्री डा राणाले स्वागत मन्तव्य दिने कार्यक्रम छ । उक्त कार्यक्रममा संवादसम्बन्धी तयार पारिएको चिनारीयुक्त श्रव्यदृश्य सामग्री प्रस्तुत गरिनेछ । भारत र चीनका तर्फबाट प्रतिनिधिमण्डलको नेतृत्व गरेर आउने विशिष्ट पाहुना र कोप–२९ का अध्यक्ष तथा अजरबैजानका राष्ट्रपतिका जलवायु विषयसम्बन्धी प्रतिनिधिले सम्बोधन गर्ने कार्यक्रम रहेको संवाद सचिवालयले जनाएको छ ।

संवादलाई सम्बोधन गरी संयुक्त राष्ट्रसंघका महासचिवले पठाएको श्रव्यदृश्य सामग्री पनि प्रस्तुत गरिनेछ । उद्घाटनपछि १२ छुट्टाछुट्टै विषयमा कार्यक्रम सञ्चालन हुनेछन् । राजनीतिज्ञ, नीति निर्माता, विद्वान्, विज्ञ एवं विषय ज्ञाता र अनुसन्धानकर्ताको गहन ढुंगाको छलफल एवं विचार आदानप्रदान तथा विश्लेषणका माध्यमबाट जलवायु परिवर्तन र पर्वतीय समस्या समाधान तथा सम्भावनामा जोड दिइने कार्यक्रम रहेको मन्त्री राणाले बताइन् । मन्त्री राणाका अनुसार १० वटा जति पूर्वसंवादलगायत तयारी पूरा भइसकेको छ ।

संवादमा उच्चस्तरीय उद्घाटन सत्रसहित उच्चस्तरीय प्लेनरी छलफल हुने, विभिन्न विषयमा १२ वटा समानान्तर सत्र तथा केही साइड इभेन्ट पनि हुने तालिका छ । तेस्रो तथा अन्तिम दिन विदेशी पाहुनालाई हिमाल देखाउन माउन्टेन फ्लाइटको व्यवस्था मिलाइएको छ भने संवादको काठमाडौँ घोषणा जारी गरिनेछ ।

संयुक्त राष्ट्रसंघले यो वर्ष २०२५ लाई अन्तर्राष्ट्रिय हिमनदी संरक्षण वर्षका रूपमा घोषणा गरेको सन्दर्भमा संवादमा पनि महत्वका साथ हिमालको विषय उठाइनेछ । विश्वव्यापी हरितगृह ग्यासको उत्सर्जनमा नेपालको भूमिका न्यून छ । तर, जलवायु परिवर्तनको असरबाट भने अत्यन्त प्रभावित भइरहेको छ ।

बढ्दो जलवायु परिवर्तनका असर, वायु प्रदूषणलगायत विश्वव्यापी संकटले नेपालजस्ता अल्पविकसित, हिमाली देश र यहाँका नागरिक आक्रान्त छन् । यस परिस्थितिमा संवादले जलवायु संकट समाधानमा साझा धारणा बनाउन तथा सामूहिक कल्याण प्रवद्र्धन गर्ने विश्वव्यापी प्रयासमा योगदान गर्न सक्ने एक जीवन्त संवाद मञ्चको रूपमा आफूलाई प्रमाणित गर्ने उद्देश्य राखेको छ ।

प्रतिक्रिया