लुम्बिनी । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) ले प्राचीन शाक्य गणराज्यको राजधानी तिलौराकोट सहित रामग्राम र देवदहको समग्र विकासका लागि गुरुयोजना निर्माण गर्न आवश्यक रहेको बताएका छन् ।
२५६९औँ बुद्ध जयन्ती तथा प्रसूती उत्सव समारोहमा बोल्दै उपाध्यक्ष लामाले बृहत्तर लुम्बिनी क्षेत्रको ऐतिहासिक, धार्मिक तथा पर्यटन प्रवर्द्धनका लागि संघ, प्रदेश र स्थानीय सरकारको साझा पहल आवश्यक रहेको बताएकाहुन् ।
तिलौराकोट विश्व सम्पदा सूचीकरणको अन्तिम चरणमा रहेको जानकारी दिँदै उपाध्यक्ष लामाले त्यस क्षेत्रको धार्मिक महत्वलाई उजागरगर्दै बौद्ध विहार तथा गुम्बा निर्माणमा ध्यान दिनुपर्ने बताए । ‘कम्तीमा पूजाकालागि गुम्बा आवश्यक छ, आउने पर्यटकलाई बसोबासको उचित व्यवस्था गर्नु जरुरी छ,’ उनले भने ।
२०४२ सालमा निर्माण भएको लुम्बिनी विकास ऐनले स्थानीय सरकारलाई औपचारिक अधिकार नदिएको हुँदा त्यसको संशोधन आवश्यक रहेको उनले बताए । पहिलो अधिकार स्थानीयको हुनुपर्ने उनको भनाइ थियो । ऐन संशोधनका लागि प्रधानमन्त्रीलाई आग्रह गरेको उनले बताए ।
‘बौद्धमार्गीहरू संसारभर लाखौँको संख्यामा छन्, बजेटको समस्या हुँदैन, हामी स्रोत व्यवस्थापन गर्छौँ, सरकारले सम्यन्त्र बनाएर खर्च गर्नुपर्छ,’ उनले भने । शिशु बुद्धको प्रतिमालाई शोभा यात्रासहित नगर परिक्रमा गराउँदै तिलौराकोटमा ‘प्रसूति उत्सव’ मनाइएको थियो ।
शिशु बुद्धको प्रतिमा लिन कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङसहितको टोली आज मंगलबार बिहान बुद्ध जन्मस्थल लुम्बिनी पुगेको थियो । तिलौराकोटमा बाजागाजासहित शिसु बुद्धको भव्य स्वागत गरिएको थियो ।
त्यस क्षेत्रको विकास र संरक्षणका लागि उपाध्यक्ष लामाले सबै पक्षको साथ र सहयोग आवश्यक रहेको भन्दै गुरुयोजनासहितको समग्र विकासमा नेपाल सरकार, स्थानीय र प्रदेश सरकार, जनप्रतिनिधि तथा धार्मिक समुदायको एकता जरुरी रहेको बताए ।
प्रतिक्रिया