जनमत–नाउपा एकताको ‘च्याप्टर क्लोज’ !

नाउपा विवाद प्रमुख कारण, रञ्जिताको जबाफ– ‘सिके र रेशमलाई सोध्नू’

काठमाडौँ । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) बीच हुने भनिएको एकताको ‘च्याप्टर क्लोज’ भएको छ । डा. सिके राउत नेतृत्वको जनमत र रेशम चौधरी संरक्षक र रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नाउपाबीच गत १७ वैशाखमै एकता घोषणा गर्ने भनिए पनि घोषणासभा स्थलबाटै नाउपा संरक्षक चौधरी पक्राउ परेपछि बिथालिएको थियो ।

सर्वोच्च अदालतका अधिकृत महिमानसिंह विष्टले किर्ते पत्र लेखेर नेपाल प्रहरीलाई झुक्याउँदै चौधरीलाई साढे ४ घन्टा कारागारमा थुनाएका थिए । पछि विष्टको बद्मासी पत्ता लागेपछि चौधरी सोही दिन कारागारमुक्त भए । त्यसदिन बिथोलिएको पार्टी एकता केही दिनमा गर्ने भन्दै नेताहरू छलफलमा जुटे पनि अब तत्काल एकता नहुने निश्चित भएको हो । दुवै पार्टीका उच्च स्रोतले पार्टी एकताको ‘च्याप्टर क्लोज’ भएको बताएका छन् ।

नाउपाको आन्तरिक विवाद प्रमुख कारण

एकताको विषयलाई लिएर नाउपाभित्र पहिलेदेखि नै असमझदारी थियो । संरक्षक चौधरी एकताको पक्षमा थिए भने अध्यक्ष श्रेष्ठ विपक्षमा । अन्ततः डा. राउत र चौधरीले उनलाई एकताको पक्षमा उभ्याएका थिए । उनले पनि चौधरीले आफूलाई थाहा नदिई एकता छलफल गरेकोप्रति असन्तुष्टि राख्दै राउतसँग कुरा गरेपछि एकतामा सहमत भएको जानकारी गराएकी थिइन् ।

पछिल्लो समय एकता हुन नसक्नुमा नाउपामा रेशम–रञ्जिताबीचको असमझदारी नै मुख्य कारण रहेको नेताहरू बताउँछन् । दुवै पार्टीका नेताहरू रेशम पक्राउपछि त्रसित थिए । सरकार पार्टी एकताविरुद्ध लागेको भन्दै एकताको मिति तय गरे पुनः अन्य नेताहरू पक्राउ पर्ने त्रास उनीहरूमा थियो । त्यसैले तत्कालै एकताको नयाँ मिति तय गर्न नसकेको बताइएको छ ।

२५ वैशाखमा गृहमन्त्री रमेश लेखकले रेशम चौधरीलाई पक्राउ गर्ने सरकारको कुनै मनसाय नभएको जबाफ संसद्मा दिइसकेका छन् । सरकारले प्रष्टीकरण दिइसक्दा पनि एकताप्रति नेताहरूको चासो देखिएको छैन । १७ वैशाखपछि नाउपाभित्र एकता नचाहने पक्ष बलियो बन्दै गएको छ । उनीहरूले खुलेरै एकताको विपक्षमा मत राख्न थालेपछि एकता प्रक्रिया रोकिएको हो । ‘अब सरकारसँगको डर भन्दा पनि हाम्रै आन्तरिक कारणले एकता नहुने भयो भन्दा हुन्छ,’ नाउपाका एक नेताले सौर्य दैनिकसँग भने ।


सौर्य दैनिकसँग कुरा गर्दै नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले आफ्नो स्वास्थ्य र जनमत अध्यक्ष डा. सिके राउतको पूर्वनिर्धारित कार्यक्रमका कारण एकता हुन ढिलो भएको बताइन् । पार्टी एकता कहिले हुन्छ ? भन्ने सौर्य दैनिकको प्रश्नमा उनले भनिन्, ‘केही दिनमा गर्ने भन्ने कुरा थियो । सिके र रेशमजीलाई सोध्नू न !’

‘सबै कुरा थाती राखेर संगठन निर्माणमा जुटौँ’

पार्टी एकताको सन्दर्भमा कुरा गर्न खोज्दा नाउपा संरक्षक रेशम चौधरी सम्पर्कमा आउन चाहेनन् । यद्यपि सोमबार उनले सामाजिक सञ्जालमार्फत् एकता टरेको कुराको संकेत गरेका छन् । उनले सबै कुरा थाती राखेर संगठन निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । ‘सबै कुरा थाती राखेर आफ्नो संगठन निर्माणमा जुटौँ,’ उनले भनेका छन्, ‘संगठन रहे तपाईं रहने हो, राजनीतिक पदधारी हुने हो । संगठनबिनाको राजनीति कल्पना पनि नगरौँ ।’

जनमतमा अझै एकताको आस

जनमत पार्टीका शीर्ष नेताहरूले पनि नाउपाभित्रकै समस्याका कारण एकता हुन नसकेको बताएका छन् । सौर्य दैनिकसँग कुरा गर्दै जनमतका प्रवक्ता शरद्सिंह यादवले आफ्नो पार्टी कुनै पनि हालतमा एकीकरण गर्नुपर्छ भन्ने पक्षमा रहेको बताए । ‘नाउपाको समस्या सतहमा देखिएकै हो,’ उनले भने, ‘अध्यक्षजी र बाँकी संसदीय दल र पार्टीभित्रका समस्या सतहमा आएकै छन् । त्यसलाई नकार्न सकिँदैन । कुनै दिन एकता हुन्छ ।’

प्रतिक्रिया