गिरुवारी खोलाको पुल भाँचिएर नारायणगढ–बुटवल सडक अवरुद्ध, यात्रुहरू बाटोमै अलपत्र

नवलपुर । पूर्वी नवलपरासीको चोरमारा स्थित गिरुवारी खोलाको पुल भाँचिएर सडक अवरुद्ध हुँदा यात्रुहरु अलपत्र परेका छन् । यातायात अवरुद्ध भएर अलपत्र परेका यात्रुहरुले बाटोमै रात कटाएका हुन् । पूर्व-पश्चिम महेन्द्र राजमार्गको नारायणगढ–बुटवल सडकखण्ड अन्तर्गत नवलपुरको मध्यबिन्दु नगरपालिका–६ चोरमारस्थित गिरूवारी खोलाको पुल गएराती ९ बजे ओभरलोडका कारण भाँचिएको हो ।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलरासीले दिएको जानकारी अनुसार पुलमा म.प्र.०३-००१ क ३१६३ नम्बरको १८ चक्के टेलर किलिङ्गर (कच्चा पदार्थ) बोकी होङ्सी सिमेन्ट कम्पनीबाट बिरगंज तर्फ जादै गर्दा उक्त टेलर लगाएत अन्य सवारी साधनहरु होल्ड हुँदा सवारी साधनहरुको भारका कारण पुल भाँचिएपछि यातायात अवरुद्ध भएको हो ।

यसअघि २०७९ साल असार महिनामा पनि ओभरलोडकै कारण पुलको बीच भाग चर्किएको थियो । त्यतिबेला मर्मत गरी अस्थायी रूपमा सञ्चालनमा ल्याइएको उक्त पुल पुनः भाँचिएकाे हो । पुल भाँचिएपछि गएराति ९ बजेदेखि नारायणगढ–बुटवल सडक खण्ड पूर्ण रूपमा अवरुद्ध छ ।

ओभरलोडका कारण पुलको एक भागमा क्षति भएको देखिएपछि यातायात रोक्नु परेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रमुख प्रहरी उपरीक्षक यादव ढकालले वताए ।

वैकल्पिक मार्ग को सम्भाव्यता अध्ययनका लागि सडक विभाग र नेपाल प्रहरीको संयुक्त टोली घटनास्थलमा खटिएको । सडक विस्तारका क्रममा रहेको सडक लेनमा निर्माणाधीन अर्को पुल पनि सञ्चालन योग्य नभएकाले डाइभर्सन गरेर राजमार्ग सुचारु गराउने विषयमा छलफल भइरहेको ढकालले जानकारी दिए ।

केही महिना अघि बिनयी त्रिवेणीस्थित बिनयी खोलाको पुल भत्किँदा ३४ घण्टासम्म पूर्व–पश्चिम राजमार्ग ठप्प भएको थियो । हजारौँ यात्रु अलपत्र पर्नुका साथै खाद्यान्न, औषधि, निर्माण सामग्री ढुवानीसमेत प्रभावित भएको थियो । हाल सो पुल डाइभर्सनमार्फत सञ्चालनमा आए पनि स्थायी मर्मत गरिएको छैन ।

यसरी पटक–पटक फलामे पुलहरू भत्किँदा मुख्य राजमार्ग बारम्बार बन्द हुन थालेको छ । देवचुली क्षेत्रका लोकाहा र बौलाहा खोलाका पुलहरू पनि अघिल्लो वर्षहरूमा दुईपटकसम्म भत्किएर मर्मतपछि सञ्चालनमा ल्याइएको थियो । गिरुवारी खोलाको पुल पनि अघिल्ला वर्षहरूमा झन्डै ६ पटक मर्मत गरिएको थियो ।

नवलपुर जिल्लाभित्र रहेका अधिकांश फलामे पुलहरू करिब ५० वर्ष पुराना भइसकेका छन् । भौतिक संरचना निकै कमजोर भएका यस्ता पुलहरूलाई केवल आंशिक मर्मत गरेर अस्थायी रूपमा सञ्चालन गरिएको छ । नयाँ पुल निर्माण नहुँदासम्म जोखिम मोलेर सवारीसाधन चलाइँदै आएको छ ।

स्थानीय सिमेन्ट उद्योग र ढुवानी कम्पनीहरूले भारी तौलका मालबाहक सवारी प्रयोग गर्दा पुलहरूमा थप दबाब पर्न थालेको प्रहरीको भनाइ छ । सडक विभागका इञ्जिनियरहरूका अनुसार, गएराति भत्किएको गिरुवारी पुल पनि अत्यधिक ओभरलोडकै कारण चर्किएको हो । विशेष गरी दाउन्ने खण्ड हुँदै दैनिक हजारौँ सवारीसाधन गुड्ने भएकाले पुलहरूमा अत्यधिक लोड पर्न थालेको छ ।

जामका कारण गाडीहरू लामो समय एउटै स्थानमा रोकिँदा संरचनामा स्थायी भार पर्न जान्छ र पुल कमजोर बन्ने खतरा थपिन्छ । राजमार्ग विस्तार र सुधारको जिम्मा लिएको चिनियाँ ठेकदार कम्पनीले तोकिएको समयमा काम नसक्दा हाल पनि अधिकांश स्थानमा पुराना पुलकै भरमा सवारी सञ्चालन भइरहेको छ । यस्तो अवस्थामा यात्रुहरू दिनहुँ जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।

प्रतिक्रिया