बेबी बुद्धको उपेक्षा : लुम्बिनीको सौन्दर्यमा दाग

लुम्बिनी । लुम्बिनी गौतम बुद्धको जन्मस्थल, बुद्ध जयन्तीको अवसरमा बेहुलीझै सिंगारिएको छ । नेपाली र बौद्ध झन्डाहरू फहराइएका छन्, पुष्प वर्षा गरिँदै शोभायात्रा निकालिएको छ । तर, यही भव्यताका बीच एउटा दृश्यले धेरैको मन खिन्न बनाएको छ, बेबी बुद्धको प्रतिमामा माकुराको जालो ।

२५६९ औबुद्ध जयन्ती तथा लुम्बिनी दिवस २०८२ मूल समारोह समितिले ३० गते मंगलबार ‘शिसु बुद्ध’ को प्रतिमालाइ नगर परिक्रमा गराउँदै तिलौराकोटमा लगी ‘प्रसूति उत्सव’ मनाउने भएको छ । तर, लुम्बिनीमा रहेको ‘बेबी बुद्ध’को प्रतिमा सफाइ अभावका कारण उपेक्षित देखिएको छ ।

लुम्बिनी विकास कोषले १ करोड खर्चँदै बुद्ध जयन्ती एवं लुम्बिनी दिवस मनाइरहँदा लुम्बिनीमा पर्यटकका लागि आकर्षणको केन्द्र, मायादेवी मन्दिर र शान्ती दीपको मुखैमा रहेको ‘बेबी बुद्ध’ प्रतिमाको सरसफाइ आइतबार बेलुकासम्म नभएको लुम्बिनी बचाउ महाअभियानको गुनासो छ ।

लुम्बिनी बचाउ माअभियानका संयोजक अकरम खानले भने, ‘त्यहाँ बेबी बुद्धको स्थापना बौद्ध धर्म पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गरिएको थियो, तर समयसँगै यसको नियमित हेरचाह भएको देखिएन ।’

उनले उक्त प्रतिमाको पनि सरसफाइ तथा संरक्षणमा ध्यान दिन आग्रह गरे । ‘बुद्ध जन्मस्थल लुम्बिनीको सौन्दर्यलाई मात्र होइन, यहाँको ऐतिहासिक तथा धार्मिक धरोहरलाई समेत समान रूपमा जोगाउन आवश्यक छ,’ संयोजक खानले भने । बेबी बुद्धको प्रतिमा नियमित सफा राख्न र यसको गरिमा कायम राख्न तत्काल ध्यान दिनुपर्ने संयोजक खानको भनाइ छ ।

प्रतिक्रिया