अलकत्रा तताउँदा निस्कने पोलिसाइक्लिक अरोम्याटिक हाइड्रोकार्बन, बेंजो पाइरेन, सल्फरडाइअक्साइड र वाष्पशील कार्बनिक यौगिकहरूलाई विश्व स्वास्थ्य संगठनले क्यान्सर गराउने तत्व मानेको छ । तर महोत्तरीको बर्दिवासमा स्थानीय सरकारको संरक्षणमा नै वातावरण र स्वास्थ्यका दृष्टिकोणले घातक मानिएको अलकत्रा उद्योग सञ्चालन भएको छ । वातावरणीय मापदण्ड विपरीत जनस्वास्थ्यमा असर पार्नेगरी खोलिएको यो उद्योगलाई नगरपालिकाले किन संरक्षण र प्रोत्साहन गरेको छ भन्ने विषय अहिले चासो र चर्चामा छ ।
बर्दिवास–१४ स्थित रातु नदीको छेउमा नै खोलिएको विकास एन्ड ब्रदर्स नामक अलकत्रा उद्योगको विरोधमा स्थनीयवासीले १ वर्ष अगाडि नगरप्रमुखलाई निवेदन नै दिएका थिए । ‘उद्योगले जनस्वास्थ्यको साथै कृषि र वातावरणमासमेत नकारात्मक असर पार्न थालेपछि हामीले नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीलाई निवेदन दिएका थियौँ तर १ वर्ष भयो कुनै सुनुवाइ हुन सकेन’, स्थानीय सरोज कोइरालाले भने । ‘यो समस्या दिनहुँ बढेको मात्र छैन दीर्घरोगीहरूको लागि थप समस्या बन्दै गएको छ ।’
वडा–७ मा रहेको माँ जगदम्बा आरएमसी उद्योगवाट निस्कने धँुवाले त थप विकराल समस्या सिर्जना गरेको स्थानीयले वताएका छन् । किसाननगर गाउँ नजिकै ३ वर्षदेखि सञ्चालित यो उद्योगबाट निस्कने धुँवाको कारण बालबालिका र वृद्धहरू प्रताडित बनिरहेको स्थानीय रामविनय यादव बताउँछन् ।यो उद्योग नजिकै जनज्योति आधारभूत विद्यालय छ । झन्डै ३०० विद्यार्थी अध्ययन गर्ने यो विद्यालयमा पनि बालबालिकाका लागि धुवाँले गम्भीर समस्याहरू सिर्जना गरिरहेको शिक्षकहरूको भनाइ छ ।
अवैधानिक उद्योगलाई नगरपालिकाको नै साथ
अहिले सञ्चालनमा रहेका दुवै उद्योगहरू अवैधानिक ढंगले स्थापना भएको खुलासा भएको छ । यी उद्योगहरू वातावरणीय प्रभाव मूल्यांकनबिना र आवश्यक अनुमति नलिइकन स्थापना भएको स्वयं व्यवसायीहरूले वताएका छन् । उद्योगबाट निस्कने धुवाँले नकारात्मक असर गरिरहेको गुनासो बढेता पनि स्थानीय सरकारवाट कुनै प्रतिक्रिया नआउनुले व्यवसायी र जनप्रतिनिधिको मिलोमतोको आशंकासमेत गरिएको छ ।
उद्योग स्थापनार्थ नगरसँग कुनै सहमति नलिएको र नदिएको प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारीले स्वीकार गरे । ‘अलकत्रा उद्योग सञ्चालनमा छन् भन्ने सुनेका छौँ तर उनीहरू हामीसँग दर्ता र छलफलमा नै आएका छैनन्’, उनले भने । नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले पनि जनस्वास्थ्यमा असर पर्ने उद्योगहरूलाई प्रोत्साहन नगरेको दावी गरेका छन् ।
तर स्थानीयवासीले भने पालिकाको संरक्षणमा नै उद्योगहरू सञ्चालन भइरहेको आरोप लगाएका छन् । बर्दिवास–१ का स्थानीय भोजप्रसाद फुयाल(शंकर)ले ध्यानाकर्षण गराउँदा पनि अटेर गर्नुले स्थानीय सरकारको नै मिलोमतो रहेको दाबी गर्छन् । ‘मैले यो विषयमा पटकपटक प्रमुख प्रशासकीय अधिकृतलाई पनि जानकारी गराएको छु । सुनुवाई नभएपछि फेसबुकबाट आफँै उद्योगमा गएर लाइभ पनि गरेको छु’, उनले भने, ‘बुझ पचाएपछि कसको के लाग्छ र ! तर यसको परिणाम जिम्मेवार निकायले भोग्नेछन्, जनता सडकमा आउनुपर्ने वाध्यता बन्दै छ ।’
स्वास्थ्यमा प्रत्यक्ष असर
विशेषज्ञहरूका अनुसार, यस्तो धुवाँमा सास फेर्दा बालबालिका, वृद्धवृद्धा र गर्भवती महिलामा दीर्घकालीन असर हुनसक्छ ।
अमेरिकन जर्नल अफ इन्डस्ट्रियल मेडिसिनको एक रिपोर्टले लामो समयसम्म अलकत्रा फ्युम्स (धुवाँ)मा बस्दा फोक्सोको कार्यक्षमता घट्ने र छालाको क्यान्सर हुने जोखिम बढ्ने देखाएको छ ।
स्थानीय किसानहरूका अनुसार, उद्योग नजिकैको कृषि उत्पादनमा गिरावट आएको छ । माटोमा कालो पदार्थ मिसिएपछि फलफूलको स्वाद र गुणस्तरमा समेत असर परेको गुनासो वढेको छ । जसले स्थानीयको स्वास्थ्यमा प्रतिकूल असर गर्ने अनुमान गरिएको छ ।
चिकित्सकहरूका अनुसार उद्योग नजिक बसोबास गर्ने व्यक्तिमा दम, खोकी, एलर्जी, र स्वासप्रश्वाससम्बन्धी समस्या देखिन्छ । डा.प्रविन मिश्र अलकत्रा सिधा छालामा परेमा जलन, एलर्जी वा क्यान्सरसमेत हुन सक्ने कुरामा सजग गराउँछन् । उनले लामो समय अलकत्राको धुवाँ वा गन्धमा रहने कामदारमा फोक्सो वा छालाको क्यान्सरको जोखिम हुन सक्ने हुनाले सावधानी अपनाउन सुझाव दिएका छन् ।
अलकत्रा मिसिएको पानी जमिनमा बग्दा नदीनाला र भूमिगत पानी समेत प्रदूषित हुने भएकाले विज्ञहरू यस्ता उद्योगहरू बस्ती नजिकबाट विस्थापन गर्नुपर्ने बताउँछन् । ‘वायु प्रदुषणबाट दम, ब्रोंन्काइन्टिस, फोक्सोको क्यान्सरजस्ता रोगहरू बढ्छन् । केही रसायनहरूले स्नायु प्रणालीमा असर पार्छन्, जसले स्मरणशक्ति, ध्यान वा मानसिक स्वास्थ्यमा समस्या ल्याउन सक्छ’, डा. मिश्रले भने, ‘यदि त्यस्ता उद्योग छन् भने विस्थापन वा वातारवरणमैत्री बनाउनु पर्छ ।’विज्ञहरूले अलकत्रा जमिनमा पोखिँदा माटो बाँझो बन्न सक्ने र बोटबिरुवाको वृद्धि रोकिने तर्फ पनि सचेत गराएका छन् ।
तत्काल हटाउन माग
स्थानीयहरूले सञ्चालनरत अलकत्रा उद्योग तत्काल हटाउन माग गरेका छन् ।
बस्तीमा बस्नेहरूको आँखा पोल्ने र स्वासप्रस्वासमा समस्या देखिएकाले अविलम्ब हटाउन माग गरेका हुन् ।
उद्योग तत्काल स्थानान्तरण गरियोस् वा वातावरणीय मापदण्डअनुसार धुवाँ नियन्त्रण प्रणाली जडान गरियोस् र नगरपालिकाले अवैधानिक उद्योगहरूमा कडा कारबाही गरोस् भन्ने मुख्य माग रहेको पूर्व नगरप्रमुख विदुर कार्कीले वताए ।
यदि समयमा नै समाधान गरिएन भने नगरभरिको वातावरणीय सन्तुलनमा यसले विनाशकारी असर पार्न सक्ने भन्दै स्थानीवासी चिन्तित वनेका छन् ।
अहिले नगर क्षेत्रमा उद्योगबाट निस्कने धुवाँ र गन्धले नजिकैको बस्तीमा बस्ने मानिसको दैनिकी प्रभावित भएको छ ।
स्थानीय बासिन्दाले लगातार खोकी, टाउको दुख्ने, दमजस्ता लक्षणहरू अनुभव गर्न थालेको अवस्थामा सरोकारवाला निकायले अविलम्ब चासो नदेखाए प्रतिरोध गर्नेसमेत चेतावनी दिएका छन् ।
के भन्छन सरोकारवाला निकाय ?
‘यो विषय स्वास्थ्यका दृष्टिकोणले निक्कै संवेदनशील छ । स्थानीयहरूले हामीसमक्ष पनि गुनासो गरेका छन् । स्थापनाका पनि आफ्नै मापदण्डहरू छन् साथै वातावरण र जनस्वास्थ्य झन् मुख्य विषय हुन । त्यसो हुँदा यसको विषयमा छानविन गरेर तत्काल व्यवसायीहरूसँग छलफल गर्ने छौँ ।’ – सुमनलाल कर्ण, संयोजक (जिल्ला समन्वय समिति महोत्तरी)
‘यो विषयमा तपाईंहरूले भनेपछि ध्यानाकर्षण भएको छ । हाम्रो नगरबाट यो विषयमा तुरुन्तै अनुगमन प्रक्रिया अगाडि बढने छौँ । यदि मापदण्ड पूरा गरेका छैनन् र प्रक्रियाविपरीत छन् भने कारबाही प्रक्रिया अगाडि बढाउने छाैँ ।’ –राममणि अधिकारी, प्रमुख प्रशासकीय अधिकृत(बर्दिवास नगरपालिका)
‘हाम्रो उद्योग, कलकारखानालाई निरुत्साहित बनाउने उद्देश्य हुँदै होइन । कुनै पनि उद्योग सञ्चालन गर्दा वातावरण र स्वास्थ्यका दृष्टिकोणले आफ्नै मापदण्ड हुन्छन् र त्यसैको परिधिमा रहेर सञ्चालन गर्नुपर्छ । गुनासोहरू बढिरहेका छन् । व्यवसायीले अटेर गर्ने छुट छैन र सरोकारवाला निकायबाट प्रोत्साहन हुनेगरी दिने पनि छुट छैन ।’ –पूर्वनगरप्रमुख विदुर कार्की बर्दिवास नगरपालिका
प्रतिक्रिया