सीमानाकामा असई यादवको रजगज

सर्लाही । सीमानाकामा सुरक्षाको जिम्मेवारी पाएका असई राजेश प्रसाद यादवको प्रहरी चौकी भाँड्सरमा मोजमस्ती छ । असई यादवको संरक्षणमा सीमामा गैरकानुनी क्रियाकलाप बढ्नुका साथै व्यापक तस्करी मौलाएको छ । स्रोतका अनुसार केही तस्करहरू प्रहरी चौकीमै गएर ‘डिल’ मिलाउने गरेका छन् ।

भारतसँग प्रत्यक्ष सिमाना जोडिएकाले असई यादवकै सेटिङमा दर्जनौँ अवैध भट्टीहरुले घरेलु मदिरा उत्पादन तथा बिक्री–वितरण गर्दै आएको छ । भट्टी सञ्चालक र प्रहरीबीच रकमको सेटिङ भएपछि निर्वाध रुपमा मदिरा उत्पादन भइरहेको स्थानीयहरुले बताएका छन् । अवैध मदिरा भट्टी चलाएरै मासिक लाखौँ रुपैयाँ रकम उठाउने गरेका छन् ।

रातभरि मदिरा उत्पादन गर्ने कार्य हुन्छ । धुवाँको मुस्लो र उत्पादन भइरहेको रक्सीको गन्धबाट स्थानीयहरुले आफूहरु आजित भएको बताएका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगको सेटिङकै कारण प्रहरीले आजसम्म कुनै पनि भट्टी भत्काउन वा मदिरा उत्पादनमाथि रोक लगाउन नसकेको स्थानीयहरुले जनाएका छन् । तलदेखि माथिसम्म प्रहरी प्रशासनलाई महिनावारी दिएरै सो अवैध भट्टी चलाइरहेको स्थानीयहरु बताउँछन् ।

दैनिक उत्पादन हुने घरेलु मदिराको मुख्य बजार छिमेकी मुलुक भारत रहेको छ भने जिल्लाको विभिन्न स्थानदेखि प्रदेश तथा काठमाडौंसम्म प्रहरी प्रशासनको सेटिङमा निर्यात हुने गरेको स्थानीयहरुको दाबी छ ।

भारतको बिहार राज्यमा मदिरा उत्पादन तथा बिक्री–वितरणमा बिहार सरकारले प्रतिबन्ध लगाएपछि तराईका सिमावर्ती जिल्लाहरुमा अवैध रक्सी भट्टीहरूले मदिरा उत्पादन गरेर बिहारमा बिक्री–वितरण गर्दै आएको छ भने सिमावर्ती क्षेत्रमा मदिरा पसलहरु पनि प्रसस्तै खुलेका छन् ।

भाँड्सरमा मात्रै १५ वटा मदिरा भट्टी सञ्चालनमा रहेको छ । जसमध्ये १० वटा ठूलो र ५ वटा सानो भट्टी रहेको छ । ठूलो भट्टीलाई मासिक ७ हजार र सानो भट्टीलाई मासिक ४ हजार रेट नै तोकिएको स्रोतले बताएको छ । भाँड्सरका प्रत्येक मदिरा पसलबाट समेत नेपाल प्रहरीका असई यादव र सशस्त्र प्रहरीका सई ज्ञान बहादुर आलेले महिनावारी रकम असुलउपर गर्दै आएको स्रोतले बताएका छन् भने बालुवा र गिट्टीसमेत यस नाकाबाट निर्वाध रुपमा भारततर्फ जाने गरेको छ । बालुवा, गिट्टीको रेट प्रतिटेलर १ हजार तोकिएको स्रोत बताउँछन् ।

गत वर्ष यस नाकाबाट प्रहरी चौकी भाँड्सरका वर्तमान इन्चार्ज असई राजेश प्रसाद यादव र सशस्त्र प्रहरी बल, नेपाल बिओपी भाँड्सरका तत्कालीन इन्चार्ज सई सन्तोष शाहको प्रत्यक्ष संलग्नतामा व्यापक रूपमा हुँदै आएको धान तस्करीको विषयमा सशस्त्र प्रहरी महानिरीक्षक (आईजिपी) राजु अर्याललाई जानकारी गराइएपछि उक्त नाका नियन्त्रणमा लिनका लागि उनले उच्चस्तरीय निर्देशन जारी गरेका थिए ।

महानिरीक्षक अर्यालको आदेशपछि मधेस सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय, महोत्तरीका तत्कालीन बाहिनिपति सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआईजी) कालिदास धौबजीको नेतृत्वमा २०८१ माघ २० गते आइतबार परिचालित टोलीले सो नाकाबाट अवैध रूपमा हुने गरेको धानको तस्करी नियन्त्रणमा लिन सफल भएको थियो ।

डिआईजी धौबजीले सशस्त्र प्रहरी बल, नेपाल बिओपि भाँड्सरमा कार्यरत तत्कालीन इन्चार्ज सन्तोष शाहसहितको टोलीलाई तत्काल कारबाही गरी गणमा तानेका थिए भने उक्त बिओपीमा नयाँ टोली पठाएका थिए । सोही तस्करीमा प्रत्यक्ष संलग्नता पुष्टि भए पनि नेपाल प्रहरीको असई राजेश प्रसाद यादवलाई हालसम्म कुनै कारबाही गरिएको छैन ।

वर्तमान अवस्थामा समेत उनी प्रहरी चौकी भाँड्सरका इन्चार्ज छन् । असई यादवले एसपी रविन्द्र बहादुर सिंहलाई महिनावारीको रुपमा मोटो रकम बुझाउने गरेकाले उनलाई एसपी सिंहले जोगाउँदै आएका थिए भने एसपी सिंहको यही वैशाख १५ गते सर्लाहीबाट सरुवा भएको हो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीकै सेटिङमा भन्सार छलेर भारतीय सामग्रीहरु चिनी, तेल, चामल, मलखाद्य, कपडा, स्पेयर पार्टस्, खसी, कुखुरा र कुखुराको चल्ला, अन्डा, कस्मेटिक तथा खेलकुद लगायतका सामग्रीहरु नेपाल भित्रिने गरेको छ । तस्करहरुले नेपालतर्फबाट गाईगोरु, मदिरा, सुपारी, मरिच, अलैँची र चाइनिज इलेक्ट्रोनिक सामग्रीहरु भारततर्फ यस नाकाबाट चोरी निकासी गर्दै आएका छन् ।

प्रतिक्रिया