संसदमा मागियो रेशम चौधरी पक्राउबारे सरकारसँग जवाफ

काठमाडौं । जनमत पार्टीका सांसद अब्दुल खानले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गरिएको बारेमा संसदमा सरकारसँग जवाफ मागेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका बीचमा एकता हुन लागिरहेको सन्दर्भमा चौधरीलाई पक्राउ गर्नुको पछाडि राजनीतिक षड्यन्त्र भएको आरोप लगाए । सांसद रामप्रकाश चौधरीले नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीको पक्राउका बारेमा उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरे ।

सांसद गंगाराम चौधरीले यही वैशाख १७ गते नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका बीचमा एकताको प्रक्रिया अगाडि बढिरहेको बेला सर्वोच्च अदालतको नक्कली पत्रले रेशम चौधरीलाई अनाहकमा दुःख दिएको बताए ।

सांसद रञ्जुकुमारी झाले सप्तरीको गाउँ ब्लकको जग्गाधनीलाई जग्गाधनी प्रमाणपत्र उपलब्ध गराउने विषयमा सरकारको ध्यानाकर्षण गराइन् । उनले रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको बजेट बढोत्तरी गर्न बहुपक्षीय योजनामा पार्न आग्रह गरिन् ।

सांसद रेखा यादवले देशव्यापी रुपमा भ्रष्टाचार मौलाएको भए पनि कारबाही नभएकामा गुनासो गरिन् । उनले नेपाल विद्युत् प्राधिकरणले पछिल्लो पटक जारी गरेको श्वेतपत्रका बारेमा सत्य तथ्य छानबिन गर्न माग गरिन् । सांसद यादवले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा भइरहेको ढिलाइप्रति असन्तुष्टि प्रकट गरिन् ।

सांसद प्रेम सुवालले मौलाउँदो भ्रष्टाचार, विचौलियाको बिगबिगी नियन्त्रणका बारेमा सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद प्रभु साहले काठमाडौंको सुकुम्बासी बस्तीमा खानेपानी रोकिएकामा असन्तुष्टि व्यक्त गरे । उनले सुकुम्बासीको मत र कर लिए पनि खानेपानी रोक्ने काम भएकामा गुनासो गरे ।

सांसद राजेन्द्र बजगाईंले हिमाली पानी र जडीबुटी भारतीय बाटो हुँदै विश्व बजारमा पुर्याउन सके मुलुकले ठूलो मात्रामा आर्थिक लाभ हासिल गर्न सकिने बताए ।

नेपालमा विदेशी लगानीको आकर्षण बढाउनका लागि आफूले गरेको पहललाई सार्थक बनाउन सरकारी कमजोरीका कारण नसकिएको जिकिर गरे। सांसद दयालबहादुर शाहीले लोकतान्त्रिक संस्कारलाई थप बलियो बनाउनुपर्नेमा जोड दिए । उनले सरकारले काम गर्ने वातावरण बनाउन आग्रह गरे ।

प्रतिक्रिया