राष्ट्रियसभामा नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा जोड

काठमाडौं । सांसदहरूले नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८२–८३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरूले त्यसका सकारात्मक तथा नकारात्मक पक्षमाथि टिप्पणी गर्दै प्रभावकारी कार्यान्वयनमा जोड दिएका हुन् ।

सांसद नारायणदत्त भट्टले नीति तथा कार्यक्रले सबै पक्षलाई समेटेकाले आशावादी रहेको प्रतिक्रिया दिनुभयो । सांसद राजेन्द्रलक्ष्मी गैरेले नीति तथा कार्यक्रमले स्वच्छ र गुणस्तरीय खानेपानी सुनिश्चिता गर्न लिएको नीति राम्रो रहेको भन्दै प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

सांसद रुक्मिणी कोइरालाले महिलाविरुद्ध हुने हिंसालगायतका नीति र जलवायु परिवर्तनबारे जनताले भोग्नुपरेका समस्याबारे अन्तरराष्ट्रियस्तरको ध्यानाकर्षण गर्ने नीति राम्रो रहेको बताए । सांसद झक्कुप्रसाद सुवेदीले नीति तथा कार्यक्रमले नेपाली जनताको सपना पूरा गर्न नसक्ने र समाजवादउन्मुख आर्थिक सामाजिक रूपान्तरणको कुरा समावेश नभएको बताए ।

सांसद नारायणदत्त मिश्रले आर्थिक गतिशीलता, भ्रष्टाचार नियन्त्रण गर्न नीतिको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताए । सरकारले तोकेको न्यूनतम मूल्य किसानले पाउन नसकेको भन्दै उनले किसानले उचित मूल्य पाउने व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

सांसद राधेश्याम पासवानले नीति तथा कार्यक्रममा कृषि, स्वास्थ्य, पर्यटन, खानेपानी, युवासम्बन्धी राम्रा नीति आए पनि कार्यान्वयनमा प्रभावकारिता आवश्यकता रहेको बताउए । सांसद विष्णुदेवी पुडासैनीले उद्यमशीला, रोजगारी, कृषि उत्पादन वृद्धि, शिक्षाको गुणस्तर सुधार जस्ता नीति राम्रा रहेका र नीतिले तिनै तहका साझा कार्यक्रमका बारेमा उल्लेख गर्नु राम्रो पक्ष भएको बताइन् ।

यस्तै, सांसदहरू रेणु चन्द, विष्णुकुमारी सापकोटा, पदमबहादुर परियार, मायाप्रसाद शर्मा, तुलसाकुमारी दाहाल र तुलसाकुमारी दाहालले छलफलमा भाग लिएका थिए । नीति तथा कार्यक्रममाथिको छलफल जारी रहेकाले अर्को बैठक मंगलबार दिउँसो १२ः १५ बजे बस्ने सभाध्यक्ष नारायणप्रसाद दाहालले जानकारी दिए ।

प्रतिक्रिया