कुलमानलाई गलत सावित गर्न नसक्दा रोकियो प्राधिकरणको श्वेतपत्र

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको वर्तमान अवस्थाबारे यथार्थ चित्रण अर्थात् श्वेतपत्र जारी गर्ने प्राधिकरणको तयारी अस्वाभाविक रूपमा अनिश्चितकालका लागि रोकिएको छ । सोमबार नै जारी गर्ने भनिए पनि मंगलबार ११ बजेका लागि श्वेतपत्र जारी गर्ने समय तोकिएको थियो । तर, मंगलबार एकाएक अनिश्चितकालका लागि स्थगित भयो ।

प्राधिकरणले प्राविधिक कारण भने पनि तयार भएको श्वेतपत्र जारी हुन नसक्नुमा ऊर्जामन्त्री दीपक खड्का र कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यबीच तालमेल नभएको बुझिएको छ । हितेन्द्रदेव शाक्य कार्यकारी निर्देशकको रूपमा पदबहाली भएदेखि नै श्वेतपत्र ल्याउने तरखरमा थिए । उनले सोमबार प्राधिकरणको सञ्चालक समितिले पारित गरेर मंगलबार पत्रकार सम्मेलन गरी पारित गर्ने तयारी गरेका थिए ।

शाक्य आफ्ना लागि भन्दा पनि ऊर्जामन्त्री दीपक खड्काको जोडबलमा वास्तविक तथ्यांक तोडमरोड गरेर श्वेतपत्र ल्याउने दबाबमा थिए । तत्कालीन समयमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भन्ने गरेका तथ्यलाई मन्त्री खड्काले पटक–पटक गलत भन्दै आएका थिए । उनी आफ्नो अभिव्यक्ति पुष्टि गर्ने गरी प्राधिकरणको श्वेतपत्र चाहन्थे । तर, प्राधिकरणले तयार पारेको श्वेतपत्रमा घिसिङले प्रस्तुत गरेकै तथ्यहरू मेल खाएपछि मन्त्री खड्काकै दबाबमा तत्कालका लागि श्वेतपत्र रोकिएको प्राधिकरण स्रोत बताउँछ ।

सोमबार ऊर्जामन्त्री खड्काको अध्यक्षतामा बसेको सञ्चालक समिति बैठकले सर्वसम्मत रूपमा स्वीकृत गरी दोस्रो पटक परिमार्जन गरी मंगलबार सार्वजनिक गर्ने भनिएको श्वेतपत्र अचानक अनिश्चितकालका लागि रोकिएपछि यसमा अनेकौँ आशंका उब्जिएको छ । स्रोतका अनुसार कुलमानले सार्वजनिक रूपमा भन्ने गरेको, तर ऊर्जामन्त्रीले प्रतिवाद गर्ने गरेका तथ्यहरू ऊर्जामन्त्रीकै लाइनअनुसार तोडमरोड गरेर श्वेतपत्रमा राख्न असम्भव भएको प्राधिकरणकै केही कर्मचारी बताउँछन् ।

तत्कालीन कार्यकारी निर्देशक घिसिङले ल्याएको प्राधिकरणको वित्तीय अवस्था महालेखाको प्रतिवेदनका आधारमा भएको र प्राधिकरणका कर्मचारीले आफू फस्ने अवस्था आउने भन्दै प्राधिकरणको नाफा र अन्य वित्तीय अवस्थाबारे पुरानै विवरण ल्याएपछि मन्त्री खड्काले रोकेको प्राधिकरण स्रोतले जानकारी दिएको छ ।

कुलमानले प्राधिकरणको कागजी नाफा देखाए भन्दै ऊर्जामन्त्री खड्काले पटक–पटक सार्वजनिक रूपमा बोल्दै आएका थिए । उक्त नाफा देखिएको वार्षिक प्रतिवेदनमा मन्त्री आफैँले हस्ताक्षरसमेत गरेका थिए । अहिले श्वेतपत्रमा फेरि त्यही आँकडा देखेपछि खड्का असन्तुष्ट बनेका थिए । स्रोतका अनुसार यो विषयमा महालेखाले पनि अनौपचारिक रूपमा चासो देखाएपछि तथ्यांक फेरबदल गर्न असम्भव भएको हो ।

सार्वजनिक हुन नसकेको श्वेतपत्रमा के छ ?

कुलमानले आफू कार्यकारी निर्देशकबाट हटेपछि विद्युत् चुहावट १२.७३ प्रतिशतमा रहेको देखाएका थिए । तर, शाक्यले उक्त तथ्यलाई गलत देखाउन चुहावट दर नै फेरबदल गरेर १४.८५ प्रतिशत रहेको श्वेतपत्रमार्फत् देखाउने प्रयास गरेका थिए । त्यस्तै, विद्युत् महसुल बढाउने तयारी पनि श्वेतपत्रमार्फत् गरिएको छ । जसमा ३ वर्षदेखि विद्युत् महसुल समायोजन नभएकाले समयानकूल विद्युत् महसुल समायोजन गर्ने आवश्यक पहल गर्ने उल्लेख गरिएको छ । कुलमानले भने ८ वर्षमा ३ पटक गरी करिब २५ प्रतिशतसम्म महसुल घटाएका थिए ।

आर्थिक सर्वेक्षण, २०८१ मा राष्ट्रिय प्रसारण ग्रिडबाट पहुँचप्राप्त जनसंख्या ९७.७ प्रतिशत रहेको उल्लेख छ । र, बर्खास्तीपछि कुलमानले वित्तीय विवरण सार्वजनिक गर्दै ९९ प्रतिशतभन्दा बढी जनतामा विद्युत् पहुँच पुगेको उल्लेख गरेका थिए । तर, शाक्यले तयार पारेको श्वेतपत्रमा संरचनाका आधारमा ९१.४१ प्रतिशत र परिवार संख्याका आधारमा ८४.६२ प्रतिशत जनसंख्यामा मात्रै प्राधिकरणको विद्युत् पुगेको तथ्यांक उल्लेख छ ।

सार्वजनिक हुन नसकेको श्वेतपत्रमा करिब १० अर्ब रुपैयाँभन्दा बढी मौज्दात देखिन्छ । तर, नगद अभावका कारण भुक्तानीमा समस्या भएको स्वयं कार्यकारी निर्देशक र मन्त्री खड्काले भन्दै आएका छन् । तयार श्वेतपत्रमा आर्थिक वर्ष २०८०/०८१ सम्ममा कुल सम्पत्ति करिब ६ खर्ब ४४ अर्ब रुपैयाँ छ । जसमा स्थिर सम्पत्ति २ खर्ब ३५ अर्ब रहेकामा पुनर्मूल्यांकनबाट करिब ९९ अर्ब ४६ करोड थप भएको र लेखांकन बाँँकी रहेको उल्लेख छ । करिब २ खर्ब २० अर्ब बराबरका निर्माणाधीन आयोजना भएको उल्लेख गरिएको श्वेतपत्रमा प्राधिकरणमा नेपाल सरकारको २ खर्ब ६ अर्ब ७४ करोड सेयर लगानी रहेको तथ्यांक छ । सञ्चित नाफा ४६ अर्ब ४७ करोड र अन्य जगेडातर्फ ५ अर्ब ८९ करोड गरी जम्मा इक्विटी २ खर्ब ५९ अर्ब १० करोड राखिएको छ ।

प्रतिक्रिया