काठमाडौँ । आइतबार नेपालमा पहिलो पटक याक दिवस मनाइयो । राजधानी काठमाडौँ र पाँचथर, मुस्ताङ, सोलुखुम्बू, ताप्लेजुङ, संखुवासभालगायत पहाडी जिल्लामा स्थानीय रूपमा मेला–महोत्सव गरेर याक र चौँरीको महत्व बुझाउने काम भयो ।
उच्च हिमाली भेगमा पाइने यो जनावर संसारमा दुर्लभ हुँदै गएको छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का अनुसार हिन्दुकुश हिमालयका चीन, भारत, नेपाल र भुटानमा मात्र यो जनावर रहेको विश्वास छ । याक नेपालका लागि सांस्कृतिक, आर्थिक र वातावरणीय महत्व बोकेको जनावरका रूपमा चिनिन्छ । उच्च हिमाली भेगमा पाइने जंगली याकबाहेक नेपालका २७ जिल्लाका हिमाली तथा पहाडी क्षेत्रमा शेर्पा, तामाङ, थकाली, राई र लिम्बूजस्ता आदिवासीले घरपालुवा जनावरका रूपमा याक, नाक (पोथी याक) तथा चौँरी पाल्छन् । कृषि पेसासँगै याक तथा चौँरीपालन उनीहरूको अर्थतन्त्रको मुख्य आधार नै बनेको छ ।
याकको सबैभन्दा पुरानो स्वरूप नेपालको माथिल्लो उचाइमा मात्र पाइने गरेको छ । ४ हजारदेखि ६ हजार मिटर उचाइमा रहने जंगली याक लगभग दुर्लभ भइसकेको छ । घरपालुवा याक तल्लो तह (२५०० देखि ३५००) मिटरसम्ममा पनि पाउन सकिन्छ । मनाङ, मुस्ताङजस्ता जिल्लामा घरपालुवा याक, नाक र चौँरी जंगलमा छाडेरै पालिन्छ । तर, बढ्दो जनसंख्या र जलवायु प्रदूषणका कारण अहिले याकको अस्तित्वमाथि नै खतरा परेको छ । यसैगरी कृषि निर्वाहमुखी बन्दै गएपछि बढेको मानिसको बसाइँसराइ याक हराउँदै जानुको अर्को कारण बनेको छ ।
कृषि मन्त्रालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७४÷७५ नेपालमा रहेका याक, नाक, चौँरीको संख्या ६९ हजार ९७८ बाट आव २०७८÷७९ मा आइपुग्दा ६२ हजार ५६१ मा झरेको छ । इसिमोडले त पछिल्लो ३ वर्षमै नेपालमा याकको संख्या ५३ हजारबाट घटेर ४८ हजार बाँकी रहेको जनाएको छ ।
चौँरी उच्च हिमाली भेगका बासिन्दाका लागि जीवनरेखा हो । संसारको सबैभन्दा चुनौतीपूर्ण भूभागमा तिनीहरूले मासु, दूध, फाइबर, मलका लागि मल र हलो जोत्ने जस्ता कृषि कार्यका लागि मुख्य भूमिका खेल्छन् । उच्च पर्वतीय समुदायमा याक तथा चौँरी केवल जीविकाको स्रोत मात्र होइन, सांस्कृतिक पहिचान र सामाजिक–आर्थिक लचिलोपनको पर्याय पनि हो । धेरै अर्थमा, चौँरी एक प्रतिष्ठित जनावर हो र हिमालयको पारिस्थितिक र सांस्कृतिक वास्तुकार दुवैको रूपमा वर्णन गर्न सकिन्छ ।
चौँरीपालन हिमाली समुदायको परम्परा, चाडबाड र आध्यात्मिक अभ्यासमा गहिरोसँग गाँसिएको छ । चौँरीको संरक्षण भनेको जनावरको संरक्षण गर्नु मात्र होइन, यो हिन्दुकुश हिमालयमा पर्वतीय जीविकोपार्जन, स्वदेशी ज्ञान र नाजुक पारिस्थितिकीय प्रणालीको रक्षा गर्नु पनि हो । बौद्ध धर्मको मान्यताअनुसार अत्यन्त धार्मिक महत्व बोकेको जंगली याक नेपालमा १० हजार वर्ष अघिदेखि घरपालुवा भएको हो ।
संसारमा जंगली याकको मात्रा कति छ भन्ने एकिन छैन । सन् २०१४ को तथ्यांकअनुसार नेपालमा १४ हजार जंगली याक थिए । अहिले नेपालका याक संरक्षणका लागि काम गर्न थालिएको छ । याक र चौँरीपालक कृषकहरूले संगठन नै बनाएर आफ्नो माग उठाइरहेका छन् । पाँचथरको फालेलुङ गाउँपालिका तथा धादिङको रुबीभ्याली गाउँपालिकामा संगठित रूपमै चौँरी–याकपालन गरिन्छ । ती पालिकाको अर्थतन्त्रको एउटा मुख्य आधार नै याक, नाक तथा चौँरीपालन बनेको छ ।
पछिल्लो समय जलवायु परिवर्तन याक संरक्षणमा सबैभन्दा ठुलो समस्याको विषय भएको छ । सन् १९८२ देखि २००६ सम्म हिन्दुकुश पर्वत शृंखलाको तापक्रम वृद्धिदर प्रतिवर्ष जाडोयाममा ० दशमलव ०७ डिग्री र गर्मीयाममा ० दशमलव ०३ डिग्री रहेको अध्ययनमा देखिएको छ । यो २०५० सम्म १ देखि २ डिग्रीसम्म पुग्ने अनुमान छ ।
अर्कातर्फ मौसमी रूपमा हुने हिमपात र हिउँ पर्ने दर कम हुँदा कृषकले हप्तौँसम्म पशुका लागि खानेकुरा र पानीको अभाव झेल्न बाध्य भएका छन् भने अर्कातिर उच्च हिमपातपछि हिमपहिरो र चट्टानी पहिरोका कारण पनि याक एवं चौँरी मर्ने क्रम बढिरहेको छ । त्यस्तै, नाक धेरै बिरामी पर्ने र रौँ गुमाउने समस्या पनि बढ्दै गएको छ ।
जलवायु परिवर्तनबाट निम्तिएका अस्वाभाविक घटना (हिमपहिरो, हिमआँधी, चट्टानी पहिरो) ले हिमाली समुदायले पशुपालन छाड्दै गएको देखिएको छ । झन्डै ३० प्रतिशत हिमाली क्षेत्रका कृषकले याक र चौँरीपालन पेसा छाडेको जनाइएको छ ।
प्रतिक्रिया