लुम्बिनी । नेपालको धार्मिक तथा साँस्कृतिक सम्पदास्थल लुम्बिनीमा चैत्र पूर्णिमा मेला पाँच दिनसम्म मनाइँदैछ । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका– ३ स्थित बुद्ध जन्मस्थलमा परम्परागत चैत्र पूर्णिमा महोत्सव एवं रुमिन्देईमाई मेला चैत २९ गते शुक्रबारदेखि सुरु भएको हो । यो मेला बैशाख २ गतेसम्म चल्नेछ ।
वर्षेनी लाग्ने यो महोत्सव तथा मेला बुद्ध धर्मावलम्बीका लागि मात्र नभई विभिन्न धर्म, जात, र राष्ट्रियताका मानिसहरूलाई समेत आकर्षित गर्ने एक विशेष अवसर पनि हो । यस मेलाले श्रद्धा, सांस्कृतिक विविधता र अध्यात्मिक उर्जाको संगमको रूपमा कामगर्ने गरेको बौद्ध भिक्षु बिबेकानन्द पाण्डेले बताए ।
ई. पू. ६२३मा लुम्बिनीस्थित बगैँचामा माता मायादेवीको कोखबाट सिद्धार्थ गौतम (बुद्ध) को जन्म भएको विश्वास गरिन्छ । बुद्धको जन्म, बुद्धत्व प्राप्ति, र महापरिनिर्वाणको सम्झनामा मनाइने यो विशेष दिन हो । यो अवसरमा स्थानीय हिन्दु र बौद्ध धर्मावलम्बीहरु बिशेष पूजा, ध्यान र दान–धर्मको कार्यहरुमा समर्पित देखिन्छन् ।
मेलामा विशेष किसिमको धार्मिक तथा सांस्कृतिक नृत्य हुनुका साथै कथा सुन्ने, कडाही चढाउने र अन्य धार्मिक अनुष्ठान गर्ने गरिन्छ । मेलामा स्वास्थ्य शिविर र पिउने पानीको व्यवस्था पनि छ ।
बौद्ध भिक्षु धम्म शिद्धीले लुम्बिनीमा चैत्र पूर्णिमामेलाको अनुभवलाई अत्यन्त धार्मिक, शान्त तथा प्रेरणादायक बताए । यो अवसरमा विशेषगरी मायादेवी मन्दिर क्षेत्रमा, भक्तजनहरूको भीड देखिन्छ । स्थानीयले यो मन्दिरलाई समयमाइ वा रूमिन्देइमाइको स्थानको रूपमा पुज्ने गर्छन् ।
‘विशेष भव्यता र व्यवस्थापनका साथ अहिले ५ दिन सम्म मनाइने यो मेला पहिला १५ दिनसम्म मनाइन्थ्यो,’ पर्यटन ब्यवसायी हुसेनी लोधले जानकारी दिए । लुम्बिनीका अभियानकर्ता मेघनाथ आचार्यका अनुसार, ‘यो मेलाले पर्यटनमा केही सुधार ल्याएको छ । यातायात, र हस्तकला बिक्रीमा वृद्धि भएको छ ।’
वैशाख पूर्णिमाको अवसरमा लुम्बिनी विकास कोषले लाखौं खर्च गरेर मनाउने बुद्धजयन्ती तथा लुम्बिनी महोत्सवभन्दा स्वस्फूर्त लाग्ने यो मेलामा बढी धार्मिकता र रौनकता देखिन्छ ।
यद्दपि लुम्बिनीमा भीड व्यवस्थापन, पार्किङ समस्या, शौचालय, खानेपानीको र धुलाम्मे मेलास्थलमा परिवर्तन देखिएको छैन । तरपनि रुमिन्देइमाइ र बुद्ध जन्मस्थलप्रति स्थानीयको श्रद्धा र लगाव कायमै देखिन्छ । इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रमुख तथा प्रहरी निरिक्षक दिपक मगराठीका अनुसार मेलास्थलमा शान्ती सुरक्षाको प्रबन्ध प्रयाप्त छ ।
‘चैत्र पूर्णिमा महोत्सव लुम्बिनीको अन्तर्राष्ट्रिय पहिचान बलियो बनाउने अवसर मात्र नभई धर्मिक आस्था, सांस्कृतिक उर्जा र पर्यटनको समुचित मिश्रण पनि हो’, लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरामुद्दीन खाँनले भविष्यमा अझ् प्रभावकारी व्यवस्थापन र स्मार्ट मेलाप्रणाली लागू गरेर अझ् सभ्य बनाउनुपर्ने आवश्यकता औँल्याए ।
‘लुम्बिनीको चैत्र पूर्णिमामेला बौद्धकालीन मानिन्छ, यो केवल धार्मिक उत्सव मात्र होइन, सांस्कृतिक विविधता, मानवता बीचको एकता र सद्भावको प्रतीक पनि हो, यसले न केवल स्थानीय समुदायलाई एकत्रित गर्छ, अपितु विश्वभरका बौद्धमार्गीहरूलाई पनि नयाँ ऊर्जा र उत्साह प्रदान गर्दछ,’ लुम्बिनी बिकास कोषका कोषाध्यक्ष शिद्धीचरण भट्टराइले भने, ‘यसलाई अझ प्रभावकारी र व्यवस्थित बनाउनका लागि सबै पक्षले मिलेर कामगर्न अत्यावश्यक छ ।’
प्रतिक्रिया