मर्चवार लिफ्ट सिँचाइ जल उपभोक्ता संस्थामा मतदान, स्थायित्व र परिवर्तनका दुई धारबीच प्रतिस्पर्धा

लुम्बिनी । लुम्बिनी प्रदेशको बहुचर्चित मर्चवार लिफ्ट सिँचाइ जल उपभोक्ता संस्था मूल समितिको नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मतदान सुरु भएको छ । करिब ३ हजार ५ सय हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य लिएको यो परियोजना मर्चवार क्षेत्रका किसानहरूका लागि अत्यन्तै महत्वपूर्ण मानिन्छ ।

संस्थाको अध्यक्ष, सचिव र कोषाध्यक्ष पदका लागी मतदान सुरु भएको हो । निर्वाचनमा दुई धारबीच प्रतिस्पर्धा देखिएको छ । एकातर्फ ‘स्थायित्व र निरन्तरता’को पक्षमा नजीर अहमद खाँ, जगन्नाथ प्रसाद कुर्मी र जनार्दन यादवको समूह छ भने अर्कोतर्फ ‘सुधार र पारदर्शिता’को अभियान लिएका राजेन्द्र यादव, अब्दुल सलाम मुसलमान र प्रभु यादवको पक्ष उभिएको छ ।

नजीर अहमद खाँ लगातार छैठौँ पटक अध्यक्ष हुन दाबेदारी गरेका छन् । त्यसैगरी सचिवमा जगन्नाथ प्रसाद कुर्मी चौथो पटकका लागि प्रतिस्पर्धामा छन् भने जनार्दन यादव लगातार दोस्रो कार्यकालमा कोषाध्यक्षको कमान सम्हाल्न निर्वाचनमा होमिएका छन् । अर्को धारबाट अध्यक्ष पदमा राजेन्द्र यादव, सचिवमा अब्दुल सलाम मुसलमान र कोषाध्यक्षका लागि प्रभु प्रसाद यादवको प्रतिस्पर्धा छ ।

नजीर नेतृत्वको स्थायीत्व पक्षधर समूहले विगतमा संस्थाले गरेका सुधारात्मक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ । ‘हामी अनुभवी कर्म र निरन्तरतामा विश्वास गर्दछौँ’, अध्यक्ष खाँले भने, ‘पछिल्ला वर्षमा लिफ्ट सिँचाइ प्रणाली सञ्चालन र ब्यवस्थापनका लागी उल्लेख्य सुधारका काम गरेका छौँ, सिंचाई पम्प र पूर्वाधारको मर्मत, स्तरोन्नति र सरकारी निकायसँग सहकार्य विस्तारका कार्यहरू गरेका छौँ, अझ सुधारको आवश्यकता छ, जुन अनुभवीहरूको निरन्तरतामै सम्भव हुन्छ ।’

त्यसैगरी राजेन्द्र यादवको नेतृत्वमा रहेको परिवर्तन पक्षधर समूहले संस्थामा सुधार, पारदर्शिता, र सहभागी निर्णय प्रणालीलाई मुख्य एजेण्डा बनाएको छ । मूल समिती अध्यक्ष पदका उम्मेदवार यादवले भने, ‘जल उपभोक्ता संस्था जनताको हो, यसमा निर्णय लिने प्रक्रियामा किसानको सहभागिता हुनुपर्छ, अहिले नेतृत्व सीमित व्यक्तिहरूमै केन्द्रित भएको छ, हामी डिजिटल प्रणाली, बजेट पारदर्शिता, र किसानको हक सुनिश्चित गर्न चाहन्छौँ’, उनले थपे, ‘हामी रोजगारीको लागि विदेश जानुपरेको छ, किनभने खेती लाभदायी छैन। संस्थाले सिँचाइ सुधार गरे उत्पादन बढ्छ, रोजगारी यही पाइन्छ ।’

संस्थामा कुल १ हजार ७ सय १० बढी सक्रिय उपभोक्ता र १ सय ३१ जना मतदाता रहेको संस्थाका ब्यवस्थापक विश्वनाथ आर्यले बताए । उनले भने, ‘यसअघि किसान नेताका रुपमा निर्बाचित ब्लाक अध्यक्षहरु यस जल उपभोक्ता संस्था मूल समिती निर्बाचनका लागी मतदाता हुन ।’ बिहानैदेखि मतदान स्थलमा लामो लाइन देखिनु मतदाताको सहभागिता र जागरुकताको संकेत हो । प्रत्यक्ष, टेलिफोन र सामाजिक सञ्जालमार्फत् दुवै समूहको प्रचारप्रसार ब्यापक छ ।

विगत केही वर्षयता नियमित विद्युत् आपूर्तिमा समस्या, जीर्ण संरचना, र आर्थिक स्रोतको अभावका कारण संस्था आलोचित हुँदै आएको छ । लक्ष्यअनुसारको सेवा प्रवाह नहुँदा किसानहरू सिँचाइ सुविधाबाट वञ्चित हुँदै आएका छन्। देशको व्यवस्थामै स्थायित्व र परिवर्तन पक्षधर समूहबीच रुझान चलीरहेको यही पृष्ठभूमिमा संस्था नेतृत्वका लागि हुने निर्वाचनले व्यापक चासो पाएको हो ।

नजीर अहमद समूहबाट वरिष्ठ उपाध्यक्षमा राम अवध मिश्र र महिला उपाध्यक्षमा मन्सा देवी गुप्ताको उम्मेदवारी एकल परेकाले यसअघि नै उनीहरू निर्विरोध निर्वाचित भइसकेका छन् । निर्वाचन संयोजक तथा जल स्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, रुपन्देहीका इन्जिनियर बिबेक शाहका अनुसार निर्वाचनमा ब्लकका अध्यक्षहरूले मतदान प्रक्रिया मार्फत संस्थाको पदाधिकारी छान्नेछन् ।

प्रतिक्रिया