ट्रम्पको निर्णयपछि विश्वव्यापी सेयर बजारमा धक्का, व्यापार युद्ध नयाँ चरणमा

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशमा भित्रिने सबै सामानमा नयाँ भन्सार महसुल लगाउने निर्णय गरेपछि विश्वमा व्यापार युद्ध नयाँ चरणमा प्रवेश गरेको छ । यसको प्रत्यक्ष असर विश्वभरको सेयर बजारमा परेको छ ।

राष्ट्रपति ट्रम्पको निर्णयले अमेरिकी अर्थतन्त्र तेजीतर्फ उन्मुख हुने बताए पनि परिणाम त्यसको ठिक उल्टो देखिएको छ । ट्रम्पको घोषणाको पहिलै दिन विश्व बजारमा अनपेक्षित मूल्य वृद्धिसमेत भएको छ । अमेरिकाका ५०० वटा सेयर हेर्ने एसएन्डपी ५०० को कारोबार ४.५ प्रतिशतले ओरालो लागेको छ । कोभिड महामारीपछिको यो सबैभन्दा खराब अवस्था हो ।

बिहीबार बिहानै एसिया र युरोपको सेयर मार्केट ओरालो लाग्ने क्रम सुरु भएको थियो । नाइक, एपल र टार्गेटको सेयरमा पनि असर परेको छ । विश्वव्यापी ब्रान्डका रूपमा चर्चित यिनीहरूको सेयरमा ९ प्रतिशतसम्म गिरावट आएको छ । बेलायत र फ्रान्सको सेयर बजार एकै पटक ३ प्रतिशतले ओरालो लागेको छ । नेदरल्यान्ड्सको आयगन, जर्मनीको ड्याक्स तथा फ्रान्सको बिएनपी पारिबासलगायत कम्पनीको सेयर एकै दिन सरदर ५ देखि ८ प्रतिशतले घटेको छ ।

धेरै सेयर घट्ने कम्पनीमा नाइक परेको छ । एसियाका लागि स्पोट्र्स वेयर बनाउने नाइकको सेयरमा एकै दिन १४ प्रतिशत कमी आएको हो । एप्पलको सेयरमा भने ९ प्रतिशत प्रभाव परेको छ । संसारका सबै देशबाट आउने सामानमा न्यूनतम १० प्रतिशत थप भन्सार महसुलको निर्णयले अमेरिकामा घरमै उत्पादन हुने सामानको मात्रा बढ्ने, संघीय सरकार आर्थिक रूपले दरिलो हुने तथा यसले अमेरिकाको व्यापारलाई अगाडि बढाउने ट्रम्पको भनाइ थियो ।

अहिले सेयर मार्केट ओरालो लागेको समयप्रति टिप्पणी गर्दै अमेरिकी उपराष्ट्रपति जेडी भान्सले यसलाई एक दिनको खराब समयका रूपमा व्याख्या गरेका छन् । राष्ट्रपति ट्रम्पको योजनामा चीन र क्यानडा तथा युरोपेली युनियनका केही देशप्रति बढी लक्षित थियो । ट्रम्पको निर्णयको असरले केही देशको मुद्राको तुलनामा अमेरिकी डलरको मूल्य कमजोर रहेको समेत जनाइएको छ ।

अमेरिकालाई चीनको कडा जबाफ

अमेरिकाले भन्सार वृद्धिको घोषणा गरेपछि चीन यसको विरुद्धमा उत्रिएको छ । शुक्रबार नै चीनले विश्व व्यापार संगठन (डब्लुटिओ)मा कानुनी उपचारका लागि निवेदन दिएको छ । चीनले अमेरिकाले डब्लुटिओको मान्यतालाई अस्वीकार गर्दै गरेको निर्णय सबै देशको व्यापार र व्यवसायलाई असर गरेको आरोप लगाएको छ ।
साथै चीनले पनि अमेरिकी सामानमा ३४ प्रतिशत भन्सार महसुल वृद्धिको निर्णय गरेको छ । क्यानडाले भने नयाँ ढंगले प्रतिकार गरेको छ । क्यानडाले अमेरिकी सामान बहिष्कार गर्ने निर्णय गरेको छ ।

बिहीबार नै क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकाबाट आउने कारमा २५ प्रतिशत लेभी उठाउने घोषणा गरे । ट्रम्पले गत महिना क्यानडा र मेक्सिकोबाट आउने कारमा २५ प्रतिशत कर घोषणा गरेका थिए । उनले बुधबारको सम्बोधनमा क्यानडा र मेक्सिको लक्षित कुनै कर घोषणा थिएन । युरोपेली युनियनले पनि बिहीबार नै प्रतीकात्मक करको घोषणा गरेको थियो ।

यसैबीच, विश्व व्यापार संगठनले अमेरिकी निर्णयप्रति लक्षित गर्दै यस वर्ष कारोबारको मात्रामा १ प्रतिशत कमी आउन सक्ने अनुमान गरेको छ । ट्रम्पले आफ्नो घोषणाले दशकौँदेखि अमेरिकी नेतृत्वमा खुला व्यापारको विकासमा सबैभन्दा जोखिमयुक्त देखिए पनि सबै ठिक हुँदै जाने बताएका छन् । यद्यपि ट्रम्पले व्यापारिक साझेदारहरूसँग कुरा गर्न आफू तयार रहेको समेत बताएका छन् ।

कुन कम्पनीको कति घट्यो सेयर ?

जर्मनीको ड्याक्स : ५ प्रतिशत

पेरिसको सिएसी : ४.२ प्रतिशत

बेलायतको एफटिएससी : ३.८ प्रतिशत

टेस्ला : ५ प्रतिशत

एपल : ५ प्रतिशत

टेक स्टक : ९ प्रतिशत

युरापेली बैंक : ९ प्रतिशत

तेलको मूल्य : ८ प्रतिशत

प्रतिक्रिया