काठमाडौँ । मंगलबार त्रिभुवन विश्वविद्यालयअन्तर्गका आधाभन्दा बढी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सम्पन्न भएको छ । मंगलबार त्रिविका ६४ वटा आंगिक क्याम्पसमध्ये ३८ क्याम्पसमा निर्वाचन भएको थियो ।
तर, पाटन संयुक्त क्याम्पस र पृथ्वीनारायण क्याम्पसमा निर्वाचन बिथोलिएपछि २६ क्याम्पसमा निर्वाचन हुन सकेन । यस्तै, त्रिविका सम्बन्धन प्राप्त १ हजार ५३ क्याम्पसमध्ये अन्य धेरै क्याम्पसमा पनि निर्वाचन सहज रूपमा सम्पन्न हुन सकेन । त्रिविले बाँकी रहेका क्याम्पसमा आगामी १५ दिनभित्र निर्वाचन गरिने जनाएको छ ।
केही क्याम्पसमा झडप र मारपिटका घटना भए । केही विद्यार्थी घाइते भए । विद्यार्थीहरूको नेता छान्ने चुनावमा बाक्लो संख्यामा प्रहरी परिचालन गरेर स्थिति नियन्त्रणमा लिनुप¥यो । स्ववियुलाई राष्ट्रिय राजनीतिको नर्सरी मानिन्छ । किनकि हाल नेतृत्व तहमा रहेका सबै पार्टीका अधिकांश नेता विद्यार्थी राजनीतिबाटै आएका हुन् । तर, नेता बन्ने पहिलो खुट्किलोमै मारपिटको अभ्यास हुँदै आएकोछ ।
आफ्ना हकअधिकारको रक्षा गर्न र माग तथा मुद्दा स्थापित गर्न विद्यार्थीहरू कलेजबाटै राजनीतिमा सक्रिय हुने गरेका छन् । तर, विशुद्ध शैक्षिक क्षेत्रको उन्नयनका लागि विद्यार्थी राजनीति केन्द्रित हुनुपर्नेमा यहाँ पनि दलीयकरण भएको छ । विद्यार्थी संगठनहरूले विद्यार्थीका एजेन्डाभन्दा पनि राजनीतिक दलहरूकै एजेन्डा बोक्ने गरेका छन् ।
विद्यार्थी नेताहरू पनि आफू विद्यार्थी नेताका रूपमा नभई दलको कार्यकर्ताका रूपमा प्रस्तुत हुने गरेकाले पछिल्लो समय विद्यार्थी राजनीतिको ओज र गरिमा घटेको छ । विद्यार्थी संगठनहरू शैक्षिक मुद्दामा केन्द्रित हुन नसकेका कारण स्ववियुको आवश्यकता र औचित्यमाथि नै प्रश्नसमेत उठ्न थालेको छ ।
त्यसो त, विद्यार्थी संगठनहरू राजनीतिक दलका भ्रातृ संस्थाकै रूपमा संगठित छन् । उनीहरू दलको विचारधारा, सिद्धान्त, कार्यदिशा र कार्यक्रमका आधारमा चलिरहेका छन् । उनीहरूले स्ववियुमार्फत् पनि राजनीतिक दलकै एजेन्डामा पैरवी गर्ने गरेका कारण यसको प्रभावकारितामा प्रश्न उठ्ने गरेको हो । राजनीतिक दलहरूले पनि अन्य जनवर्गीय संगठनहरूलाई भन्दा विद्यार्थी संगठनलाई धेरै महत्व दिने गरेका छन् ।
नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का पूर्वअध्यक्ष तथा त्रिविका पूर्वस्ववियु सभापति हिमाल शर्माले विगतमा विद्यार्थी संगठनहरू शैक्षिक मुद्दामा भन्दा राजनीतिक मुद्दामा केन्द्रित भएको स्वीकार गरे । उनले आगामी दिनमा विद्यार्थी संगठन तथा स्ववियुले शैक्षिक रूपान्तरणका लागि शैक्षिक मुद्दामा केन्द्रित हुनुपर्नेमा जोड दिए । ‘विद्यार्थी संगठनले जे गर्छन्, स्ववियु जितिसकेपछि संगठनकै गतिविधि जस्तै काम गर्दा स्ववियुलाई साझा संस्थाका रूपमा छुट्याउन सकिएको छैन,’ उनले भने, ‘स्ववियु राजनीतिको नर्सरी र समाजको प्रतिबिम्ब पनि हो ।’
स्ववियु निर्वाचनमा मात्रै किन लाठीमुंग्री ?
राजनीतिक दलहरूले युवा, विद्यार्थी, महिला, मजदुर अथवा उनीहरूलाई आवश्यक लागेका सयौँ थरिका जनवर्गीय संगठनहरू खोलेका छन् । पेसागत आधारमा पनि संघसंगठन छन् । जातीय आधारमा मोर्चा पनि छन् । ती सबैको साझा र खुला मोर्चाका रूपमा महासंघहरू पनि छन् । पार्टीभित्र र बाहिरी रूपमा निर्वाचन पनि हुने गर्छन् । तर, विद्यार्थीको निर्वाचनमा लाठीमुंग्री बढी नै हुने गर्छ । विद्यार्थी राजनीति अशान्त छ । दलको महाधिवेशन बराबर विद्यार्थी संगठनको अधिवेशन लाग्छ– विद्यार्थी नेताहरूलाई । संसदीय निर्वाचन बराबर स्ववियु निर्वाचन लाग्छ । स्ववियु निर्वाचनमा सत्ता र शक्तिको दुरुपयोग समेत हुने गरेको छ । राजनीतिको आरम्भमा नै यस प्रकारको संस्कार सुरु हुँदा यसले देशको राजनीतिलाई नै गलत दिशा निर्देश गर्ने पक्का छ ।
नेपाल विद्यार्थी संघका पूर्वसभापति गुरुराज घिमिरेले राजनीतिक दलका नेताहरूले विद्यार्थी नेताहरूको दुरुपयोग गरिरहेको बताए । दलका नेताहरू पार्टीका सबै संरचना आफ्नो कब्जामा राख्न केन्द्रित भएको भन्दै उनले त्यसका लागि विद्यार्थीलाई उपयोग गरेको बताए । ‘विद्यार्थी संगठनमा आफ्नो प्रभुत्व राख्न सकियो भने पार्टीभित्र बलियो हुन सकिन्छ भन्ने बुझाइ नेताहरूमा देखियो । त्यही कुरा विद्यार्थीलाई सिकाए । विद्यार्थीले पनि विवेक गुमाए,’ उनले भने, ‘नेताको खेतालो र आदेशपालक भएर नेताको हितको स्वार्थमा उपयोग भए । यसकारण विद्यार्थी आन्दोलनले गलत दिशा समातेको छ ।’
घिमिरेले पार्टी नेताहरूले नै विद्यार्थीलाई राजनीतिमा गलत संस्कार सिकाउने तालिम दिइरहेकाले विद्यार्थी राजनीति प्रदूषित भइरहेको जिकिर गरे । नेपाली राजनीतिमा यसको असर लामो समयसम्म परिरहने उनको तर्क छ ।
त्यसैगरी सौर्य दैनिकसँग कुरा गर्दै नेकपा (एमाले) निकट अनेरास्ववियुका पूर्वअध्यक्ष ठाकुर गैरेले क्याम्पस प्रशासन निर्वाचनलाई मर्यादित बनाउन चुक्दा यस्ता प्रकारका घटना हुने बताए । उनले निर्वाचन निष्पक्ष, भयरहित र स्वतन्त्र रूपले गर्न सके झडप अथवा कुटपिटको घटना निरुत्साहित हुने उल्लेख गरे ।
शैक्षिक मुद्दासँग बेखबर विद्यार्थी संगठन र स्ववियु
नेविसंघका पूर्वसभापति घिमिरेले विद्यार्थी आन्दोलनले बाटो बिराएको भन्दै विद्यार्थी संगठनहरू केका लागि उदय भएका हुन् र अहिले कहाँ उभिएका छन् भन्नेमा गम्भीर समीक्षा हुनुपर्ने बताए । विद्यार्थी संगठनहरू मूल दायित्वबाटै च्यूत भएको भन्दै उनले भने, ‘सामुदायिक हित, विद्यार्थी हकहित, शैक्षिक उन्नयनका सन्दर्भमा मौनता छ । उदासीनता छ । त्यसैले संगठनको औचित्यमाथि नै प्रश्न उठेको छ ।’
अनेरास्ववियुका पूर्वअध्यक्ष गैरेले पनि विगतमा जस्तो शैक्षिक, राष्ट्रियता, लोकतन्त्र, सुशासनको पक्षमा स्ववियुले बहस गर्न नसकेको बताए । लामो समयसम्म स्ववियु निर्वाचन हुन नसकेका कारण पनि मुद्दा पहिल्याउन नसकेको उनको भनाइ छ ।
सत्तारुढका संगठन आमने–सामने
अन्य पार्टीगत संगठनका चुनावमा सत्तारुढबीच गठबन्धन गर्ने गरिएको भए पनि स्ववियुमा भने सत्तारुढ कांग्रेस र एमालेका भ्रातृ संगठनहरू नेविसंघ र अनेरास्ववियु आमने–सामने भए । र, लाठीमुंग्रीमा उत्रिने पनि तिनै संगठन छन् । सत्तारुढहरू नै चुनावी प्रतिस्पर्धामा उत्रिँदा संगठनको अवस्था थाहा पाउन र विद्यार्थीले आफ्ना नेता स्वतन्त्र रूपमा छान्न पाउने भए पनि स्वस्थ प्रतिस्पर्धा छाडेर आपसी मारपिटमा उत्रिँदा गिर्दै गएको विद्यार्थी आन्दोलनको साख अझ ओरालो लागेको छ ।
प्रतिक्रिया