राजविराज, ११ चैत । मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वाधा अड्काउ फुकाउने नाममा प्रमुख चार राजनीतिक शक्तिबीच भएको सहमतिको दस्तावेज सच्चाउनु पर्ने माग गरेका छन् ।
सप्तरीको राजविराजमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले संविधान संशोधन गर्ने गरी तयार पारिएको जाली दस्तावेज तत्काल नसच्याए जनसंघर्ष गर्ने चेतावनी दिए । ‘दलहरुसँग हुँदै नभएको अधिकार प्रयोग गरी सच्याईएका संविधानले मधेस र मधेसीको घाँटी काट्ने काम भएको छ,’ उनले भने, ‘कथित दस्तावेजका आधारमा गरिने निर्वाचनको औचित्य छैन ।’
उनले वाधा अड्काउ फुकाउनु भनेको संविधानमा उल्लेख नभएका कुरालाई सहमति मार्फत समाधान गर्नु रहेको उल्लेख गरे । यादवले भने, ‘तर तीन दल र मधेसी मोर्चाले मधेसी, जनजाती, दलित र पिछडिएका वर्गको घाँटी काट्ने गरी संविधानमा भएका ब्यवस्था एकलौटी रुपमा हटाएका छन् ।’
उनले जनंख्याका आधारमा निर्वाचन क्षेत्रको निर्धारण गर्ने संवैधानिक ब्यवस्थालाई संशोधन मार्फत हटाईएको र समानुपातिक कोटा घटाएकोमा पनि असहमति प्रकट गरे ।
अध्यक्ष यादवले देश र संविधानलाई निजीकरण गर्ने तीन दलीय षडयन्त्रका कारण अहिलेको अवस्था श्रृजना भएको आरोप लगाए ।
‘हामी चुनावका विरोधी होइनौ,’ उनले भने, ‘तर जुन षड्यन्त्र र प्रक्रियावाट चुनाव हुन लागेको छ यस्ले मुलुकलाई निकास दिन सक्दैन ।’
प्रतिक्रिया