विमानस्थल सञ्चालन हुने भएपछि त्यहाँ बस्दै आएका ४०३ परिवार मुक्त कमैयाले ठाउँ छाडेका थिए । विमानस्थलमा अहिले चारैतिरबाट काँडेतारले बारिएको छ भने धावनमार्ग ग्राभेल गरिएको छ
काठमाडौँ । माओवादीको सशस्त्र द्वन्द्वका कारण बन्द भएको कैलालीस्थित टीकापुर विमानस्थलमा पुनः नियमित उडान हुने भएको छ । माओवादी द्वन्द्वका कारण २०५४ सालदेखि बन्द रहेको विमानस्थल पर्यटन व्यवसायी र स्थानीय तहको सक्रियतामा २७ वर्षपछि भोलि (३० मंसिर) देखि नियमित सञ्चालन गर्न लागिएको हो ।
विमानस्थलमा हवाई उडानका लागि तारा एयरसँग टीकापुर नगरपालिकाले न्यूनतम १५ सिटका लागि सुनिश्चितासहित सहमति गरेको मेयर रामलाल डगौरा थारुले जानकारी दिए । विमानस्थलमा यसअघि नेपाल वायुसेवा निगम र तारा एअरले परीक्षण उडान गरिसकेका छन् ।
भोलि आइतबार पहिलो उडान हुनेछ भने दोस्रो उडान ४ पुस, बिहीबार हुनेछ । त्यसपछि प्रत्येक साता आइतबार र बिहीबार १/१ उडान हुने गरी तालिका निर्धारण गरिएको छ । तालिकाअनुसार यति एयरलाइन्सले काठमाडौँ–नेपालगन्ज र नेपालगन्जबाट कनेक्टिङ फ्लाइटमार्फत् तारा एयरले नेपालगन्ज–टीकापुर उडान भर्नेछ । टीकापुरमा भएका यात्रुलाई तारा एयरले नेपालगन्ज ल्याउने र त्यहाँबाट यति एयरलाइन्सले काठमाडौँ ल्याउनेछ । यसका लागि एकमुष्ट काठमाडौँ–टीकापुरको एकतर्फी भाडा ९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
विमानस्थल सञ्चालनमा आएपछि धनगढी र नेपालगन्ज विमानस्थल धाइरहेका टीकापुर नगरपालिका आसपासका कैलाली, सुर्खेत र बर्दियाका स्थानीयलाई सहज हुने अपेक्षा गरिएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले विमान कम्पनीले उडानको माग गर्ने र प्राधिकरणले भाडादर तोकेर जनशक्ति खटाउने बताए । सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद न्यौपानेले विमानस्थल सञ्चालनमा आएपछि टीकापुरलाई पर्यटकीय सहरका रूपमा विकास गर्न सकिने बताए ।
तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाले काठमाडौँ–नेपालगन्ज–टीकापुर र टीकापुर–नेपालगन्ज–काठमाडौँ उडानको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिए । उनका अनुसार प्रत्येक साता आइतबार र बिहीबार उडान हुनेछ । काठमाडौँबाट विहान १० बजे यति एयरलाइन्सको विमान नेपालगन्जका लागि उडान गर्नेछ भने त्यहाँबाट दिउँसो १२ः३० बजे तारा एयरले यात्रु लिएर टीकापुर पुग्नेछ । सोही दिन दिउँसो १ः२० बजे तारा एयरको विमान नेपालगन्जका लागि प्रस्थान गर्नेछ भने दिउँसो २ः०५ बजे यति एयरलाइन्सको विमानले यात्रु लिएर काठमाडौँ आउनेछ ।
तत्कालीन गृहमन्त्री खड्गबहादुर सिंह (स्वर्गीय) ले २०४१ सालमा विमानस्थल निर्माण गराई सञ्चालनमा ल्याएका थिए । झन्डै १८ बिघा जग्गामा निर्माण गरिएको उक्त विमानस्थलमा केही वर्षपछि नियमित उडान भएर उडान बन्द भएको थियो । द्वन्द्वका कारण पूर्ण रूपमा बन्द भएपछि भने २०६१ सालमा मुक्त कमैयाद्वारा अतिक्रमणमा परेको थियो ।
केही वर्षअघि विमानस्थल सञ्चालनका लागि स्थानीयले पहल थालेसँगै कब्जा गरी बसेका मुक्त कमैयालाई स्थानान्तरण गरिएको छ । विमानस्थल सञ्चालन हुने भएपछि त्यहाँ बस्दै आएका ४०३ परिवार मुक्त कमैयाले ठाउँ छाडेका थिए । टीकापुर विमानस्थलमा अहिले चारैतिरबाट काँडेतारको छेकबार छ भने धावनमार्गमा ग्राभेल गरिएको छ ।
प्रतिक्रिया