काभ्रे । सत्य साई सेवा संगठन नेपालले सत्य साई बाबाको जन्मोत्सवका अवसरमा काभ्रे जिल्लाको पनौती नगरपालिका–१२ स्थित भूमिडाँडाका बाढीपहिरो पीडितहरूलाई राहत वितरण गरेको छ ।
उक्त संस्थाले विपद्मा परेका समुदायलाई सहयोग र मानवताको सन्देश दिन साईका सदस्यहरूले आफूहरूलाई सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा वृद्वभत्ता रकम बचाएर उक्त राहत वितरण गरेको जनाएको छ ।
संगठनले भूमिडाँडाका १२० जना बाढीपहिरो पीडितलाई न्यानो कपडा कम्मल खाद्यान्न वितरण गरेका छन् । अभियानमा विशेष रूपमा सहयोग पु¥याउनेहरूमा सत्य साई प्रदेश समिति ३, सत्य साई केन्द्र पूर्व काठमाडौँ, र विभिन्न व्यक्तिको सहभागिता थियो । अभियानअन्तर्गत ६ जना बाढीपहिरो पीडितलाई विशेष प्रकारको राहत प्रदान गरिएको थियो ।
उक्त सहयोगले उनीहरूको जीवनमा केही सहजता ल्याउने र चिसो बढ्दै गर्दा कसरी चिसोबाट बच्न मद्दत पुग्ने बताइएको छ । चिसोबाट कसरी बच्ने भन्ने चिन्ता थियो, राहत पाएपछि सहयोग पुगेको ७८ वर्षीय नरबहादुर तामाङ बताउँछन् । सकी नसकी राहत लिन आएका उनी अन्य वृद्वहरूले राहतको महसुस भएको सुनाए ।
राहत लिन आएकी ६७ वर्षीय माइली तामाङले भनिन्, ‘असोज १२ गते आएको वर्षातले हाम्रो घर पनि भत्कियो, तल खेत पनि बगायो बस्ने ठाउँ धराप छ । राहत हामीसम्म आइपुगेको थिएन । यो सहयोग हाम्रो लागि राम्रो भयो ।’
सत्य साई प्रदेश समितिका उपाध्यक्ष वासुदेव थपलियाले भने, ‘यो हाम्रो संयुक्त प्रयास हो यसमा सबैलाई धन्यवाद दिन चाहन्छु ।’ सांस्थाको काठमाडौँ उपाध्यक्ष रोमा शर्माले चिसोबाट बच्न केही भए पनि सहयोग पुग्ने ठानेर सहयोग गरेको बताइन् । राहत सामग्रीमा न्यानो कपडा र अन्य आवश्यक वस्तुहरू समावेश थिए । सहयोगको कुल मूल्य २ लाख बराबर रहेको बताइएको छ ।
प्रतिक्रिया