सप्तरी । हत्या आरोपमा नवनिर्वाचित वडाध्यक्ष शपथग्रहण समारोहबाटै पक्राउ परेका छन् । सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ का नवनिर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साहलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ ।
कर्तव्य ज्यान मुद्दामा उनलाई नियन्त्रणमा लिएको सप्तरी प्रहरीका प्रमुख एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए । ‘अदालतको परमादेशबाट उहाँसहित ५–६ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको हो । त्यहीँ मुद्दाको अनुसन्धानको क्रममा आएको सूचना बमोजिम उहाँलाई पदभार ग्रहण समारोहबाटै पक्राउ गरिएको हो’, उनले भने । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
स्थानीय एक युवतीको हत्या र उनको भाइलाई अपहरणसमेत गरेको आरोपमा उनीमाथि छ । साहलाई नियन्त्रणमा लिएर कल्याणपुरमा राखिएको प्रहरीले जनाएको छ ।
वडाध्यक्ष साहसहितका व्यक्तिले डाक्नेश्वरी नगरपालिका १ माधोपुरमा २०७८ चैत २२ गते १ महिलालाई सामूहिक बलात्कारपछि हत्या गरेको आरोप छ । सुरुमा प्रहरीले उजुरी दर्ता गर्न नमानेपछि पीडितले हुलाकमार्फत इलाका प्रहरी कार्यालय कल्याणपुरमा उजुरी दिएका थिए ।
साहसहितका ओरोपीविरुद्ध जबरजस्तीकरणी र कर्तव्य ज्यान शीर्षकमा २०७९ साउन १७ गते हुलाकबाट उजुरी प्राप्त भएपछि अनुसन्धान गरिरहेको प्रहरीको दाबी छ ।
यस्तै २०८० जेठ १० गते जिल्ला सरकारी वकील कार्यालय सप्तरीबाट इलाका प्रहरी कार्यालय कल्याणपुरमा व्यक्ति बेपत्ता रहेको सम्बन्धमा अपहरण तथा शरीरबन्धक र कर्तव्य ज्यान मुद्दामा पनि जाहेरी दरखास्त पठाइएको थियो ।
उच्च अदालत जनकपुरको राजविराज इजलासबाट २०८० चैत ४ गते अनुसन्धानका लागि परमादेश जारी भएको थियो ।
उच्च सरकारी वकिल कार्यालय राजविराजमार्फत इलाका प्रहरी कार्यालय कल्याणपुरमा २०८१ साउन ६ गते परमादेश प्राप्त भएको प्रहरीले जानकारी दिएको छ ।
२०८१ साउन १४ गते इलाका प्रहरी कार्यालयमा यो उजुरी पनि दर्ता गरेर साउन १५ गते पक्राउ अनुमतिसमेत लिइसकेको थियो ।
साह यसअघि २०७९ को स्थानीय तह उपनिर्वाचनमा नेकपा एमालेबाट उम्मेदवार हुँदा पराजित भएका थिए । यही १६ मंसिरमा सम्पन्न उपनिर्वाचनमा जसपा नेपालबाट उम्मेद्वार भएका साह नेपाली कांग्रेसकी उम्मेदवार भुलियादेवी थरुनीलाई ६५ मतले पछि पार्दै ६५२ मत प्राप्त गरी वडाध्यक्ष निर्वाचित भएका थिए
प्रतिक्रिया