विवाह महोत्सवले संगीतमय सीताको माइती

‘चलु सखि हिलमिल जनकके आँगन

दुल्हा बनल श्रीराम हे

देश विदेश केर भूप सब अयला सखी

धूर ताकि गेला निज धाम हे,

जे शिव धनुष छुबैत काल टूटि गेल,

रहि गेल सिया जी के मान हे

च्लु सखि हिलि मिल जनकके आंगन,

दूल्हा बनल श्रीराम हे’

भगवती सीता र भगवान् श्रीरामको विवाह प्रसंगमा गाइने यो लोकगीत अहिले जनकपुरधामको घरघरमा गुञ्जिँदै छ । घरघरमा अहिले पाहुनाहरूले भरिपूर्ण छ भने मिथिलाभरि मंगलगीत वातावरण नै हर्षित बनाएको छ । यहाँका नागरिक सीताको माइती घरमा संगीतमय आनन्द लिँदै छन् ।


प्रत्येक वर्ष जनकपुरधाममा मनाइने रामजानकी विवाहपञ्चमी महोत्सवले यो क्षेत्र संगीतमय बनेको छ । सीताराम विवाह महोत्सवलाई मिथिलाका समाजले भव्य रूपमा मनाउने गर्छन् । कारण सीता जनकपुरधामकै छोरी भएको र छोरी विवाह जत्तिकै उत्साहपूर्वक यस क्षेत्रका वासिन्दाले सीताराम विवाह महोत्सव पनि मनाउने गर्छन् ।

मिथिलाञ्चलको वैवाहिक परम्परालाई जीवित राख्दै प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीको दिन मनाइने महोत्सवलाई नेपाल–भारतबीचको आदिकालीन सांस्कृतिक सम्बन्धका रूपमा पनि लिइन्छ । कारण तेत्रायुगमै भारत अयोध्याका राजा दशरथका छोरा पुरुषोत्तम राम र राजा जनककी छोरी सीताबीच वैवाहिक सम्बन्ध बाँधिएको थियो । १६ मंसिरदेखि सुरु भएको वैवाहिक कार्यक्रम २२ मंसिरमा सम्पन्न हुनेछ ।

गोस्वामी तुलसीदासले रामायणमा वर्णन गरेअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् ।

त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयम्वरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले ३ टुक्रा पारेका थिए । शिवधनुषलाई भाँचेपछि मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको भव्य समारोहबीच विवाह सम्पन्न भएको थियो ।
रामायणअनुसार जनकपुरधामको रंगभूमिमा आयोजना गरिएको स्वयम्वरमा ५६ कोटी देवीदेवताको उपस्थिति रहेको विश्वास गरिन्छ । सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्य रूपमा हुने विश्वासले हर्षोल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि बिहेसम्ममा सहभागी हुन्छन् ।

महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न हुन्छ । पौराणिक मान्यताअनुरूप राम मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी रंगभूमिमा पुर्याइन्छ । त्यस्तै, जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी रंगभूमिमा लगिन्छ ।

रंगभूमिमा स्वयम्वरविधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीता–रामलाई जानकी मन्दिरमा ल्याइन्छ । त्यसपछि मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न हुन्छ । यस अवसरमा निस्केको भगवान्को डोला शोभायात्रामा राज्यका विभिन्न स्थानलगायत सीमावर्ती भारतीय क्षेत्रका श्रद्धालु भक्तजनसमेत सहभागी हुने गर्छन् ।

रंगभूमि मैदानमा वर र वधुपक्षबीच हुने गरेको हाँसो, ठट्टा तथा गाउँगाउँबाट आउने गरेको सीतारामको प्रतीकात्मक झाँकी र लाखौँ संख्यामा सम्मिलित भक्तजनको उत्साहले वास्तविक विवाहको रमितालाई उछिनेको हुन्छ । पहिले तिरहुतियागाछीमा मनाइने यो महोत्सव २ दशकदेखि रंगभूमिमा विशेष कार्यक्रमसहित मनाउने गरिएको छ ।

श्रद्धालु भक्तजन बिहान सबेरैदेखि पवित्र सरोवर र नदीमा स्नान गरी पूजाअर्चना गर्ने गर्छन् । यस अवसरमा भजनकीर्तन, रामलीला, झाँकी र प्रवचनको पनि आयोजना हुँदै आएको छ । देवताको मानवीयकरणको भावनासँग सम्बद्ध विवाह महोत्सवमा सरिक भएपछि मनोवाञ्छित फल र मोक्ष प्राप्त हुने जनविश्वास रहेको छ ।
जनकपुरधाममा सप्ताहव्यापी रूपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव आइतबारदेखि विधिवत सुरु भएको छ । त्रेता युगमा भगवान् राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष सप्ताहव्यापी रूपमा विवाहपञ्चमी महोत्सव मनाइन्छ । सीताराम विवाहपञ्चमी महोत्सवको पहिलो दिन आइतबार नगरदर्शन कार्यक्रम रहेको थियो । दोस्रो दिन सोमबार फूलबारी लीला, तेस्रो दिन मंगलबार धनुष यज्ञ, चौथो दिन बुधबार तीलकोत्सव सम्पन्न भएको छ ।

पाँचौँ दिन मंसिर २० गते मटकोर र मंसिर २१ गते रामसीता स्वयंवर तथा विवाह कार्यक्रम हुनेछ । महोत्सवको अन्तिम दिन मंसिर २२ गते रामकलेवा गरी अयोध्याबाट जन्तीको रूपमा आएका साधुसन्तको बिदाई गरेपछि विवाहपञ्चमी महोत्सव विधिवत् समापन हुनेछ ।

विवाहोत्सवको मुख्य दिन आज (शुक्रबार)

प्रसिद्ध सीताराम विवाह पञ्चमी महोत्सव मुख्य दिन शुक्रबार (आज) दिउँसो सीतारामको स्वयम्बर हुनेछ । दिउँसो १ बजे जनकपुरधामस्थित जानकी मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेषरूपमा निर्मित डोला सिंहासनमा राखी नगरपरिक्रममापश्चात रंगभूमिमा पुर्याइन्छ । सीतालाई विशेष सुसज्जित डोलामा राखी रंगभूमि मैदानमा लगिन्छ ।

रंगभूमिमा स्वयम्बरविधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीता र रामलाई जानकी मन्दिरमा ल्याई शुक्रबार साँझ मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न गरिने जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले जानकारी दिएका छन् ।

उत्तराधिकारी दासका अनुसार सो अवसरमा निस्किने भगवान्को डोला शोभायात्रामा राज्यका विभिन्न स्थानलगायत सीमावर्ती भारतीय क्षेत्रका श्रद्धालु भक्तजनहरू सहभागी हुन्छन् । रंगभूमि मैदानमा वर र वधुपक्षबीच हुने गरेको हाँसो, ठट्टा तथा गाउँगाउँबाट आउने गरेको सीतारामको प्रतीकात्मक झाँकी र लाखौँ संख्यामा सम्मिलित भक्तजनको उत्साहले वास्तविक विवाहको झझल्को दिने गरेको छ ।

गोस्वामी तुलसीदासले रामायणमा वर्णन गरे अनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् । विवाह उत्सवमा सहभागी हुन नेपाल र भारतको विभिन्न स्थानबाट श्रद्धालु जनकपुरधाम आएका छन् । स्वयम्वर कार्यक्रममा सहभागी हुनका लागि हजारौँको संख्यामा श्रद्धालु भक्तजनको भिड लागेको छ ।

२ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

मधेस प्रदेशको राजधानी जनकपुरधाममा १६ मंसिरदेखि सुरु भएको श्री सीताराम विवाह पञ्चमी महामहोत्सवलाई व्यवस्थित र शान्तिपूर्ण बनाउन २ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले लाखौँ तीर्थयात्रीको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरीले जिम्मेवारी निर्वाह गर्ने जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीका अनुसार चोरी, डकैती र पाकेटमारजस्ता अपराध रोक्न तालिम प्राप्त सादा पोसाकका प्रहरी परिचालन गरिनेछ । धनुषाका सशस्त्र प्रहरी उपरीक्षक दर्शन गिरीले सिमानाबाट मेलासम्मको क्षेत्रमा भारतीय सीमा सुरक्षा बलसँग समन्वय गर्दै ७०५ सशस्त्र प्रहरी तैनाथ गरिने र अत्यधिक भिड हुने स्थानमा ड्रोनको सहायताले निगरानी गरिने जानकारी दिए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले मेलामा आउने सवारीसाधन र भिड व्यवस्थापनका लागि १४० ट्राफिक प्रहरी परिचालन गर्ने र विशेष पार्किङस्थलको व्यवस्था गरिने जनाएको छ । भिभिआइपीका लागि छुट्टै मार्गको तयारीसमेत भइरहेको ट्राफिक प्रमुख प्रहरी निरीक्षक हरिबहादुर वलीले बताए ।

१०० भन्दा बढी अस्थायी शौचालय निर्माण

जनकपुरधाम उपमहानगरपालिकाले बाह्र बिघा रंगभूमि मैदानमा १०० अस्थायी शौचालय निर्माण, हनुमानगढीमा शौचालय तथा ठाउँठाउँमा चापाकलको व्यवस्थापन गरिरहेको छ । नगरप्रमुख मनोज साहका अनुसार नगर क्षेत्रमा व्यापक सरसफाइसमेत गरिएको छ । प्रादेशिक अस्पतालले २४सै घण्टा चिकित्सक तयारी अवस्थामा राख्नुका साथै ७५ शय्या र आवश्यक औषधिको व्यवस्था मिलाएको अस्पताल निर्देशक डा.जामुनप्रसाद सिंहले जानकारी दिए । नेपाल रेडक्रसले १०१ निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै दुर्घटनामा परेकालाई निःशुल्क रगत उपलब्ध गराउने व्यवस्था गरेको छ ।

खानेपानी संस्थानले ठाउँठाउँमा धाराको जडान गरेको छ भने विद्युत् प्राधिकरणले महोत्सव अवधिभर विद्युत् अवरोध हुन नदिन तयारी गरेको छ । नेपाल टेलिकमले मोबाइल नेटवर्क सुधार्न थप टावर र ओबी भ्यानको व्यवस्था गरेको छ । सडक डिभिजन कार्यालयले खाल्डाखुल्डी पुर्ने काम गरेको छ ।

अयोध्याबाट आए ५०० जन्ती

यसपटक भारतको अयोध्याबाट ५०० को संख्यामा जन्ती जनकपुरधाम आएका छन् । श्रीराम जन्मभूमि ट्रस्टका केन्द्रीय मन्त्री राजेन्द्र सिंह पंकजको नेतृत्वमा जन्ती अयोध्या हुँदै विभिन्न स्थान पार गरेर जनकपुरधाम आएको महन्त रामतपेश्वर दास वैष्णवले जानकारी दिए । भगवान् श्रीरामको मन्दिर अयोध्यामा निर्माण भएपछि पहिलोपल्ट अयोध्याबाट ठुलो संख्यामा जन्ती जनकपुरधाम आएको जानकारी दिइएको छ । २१ मंसिरमा सीताराम विवाह महोत्सवको मूल समारोह हुनेछ । त्यसमा अयोध्याबाट आउने जन्तीको सहभागिता रहनेछ ।

जनकपुरधाममा माछा, मासु र मदिरा बिक्री वितरणमा प्रतिबन्ध

सीताराम विवाहपञ्चमीको मुख्य ३ दिन जनकपुरधाममा मदिरा बिक्री वितरण तथा पशुपक्षी काट्न, माछा÷मासु बिक्री वितरण गर्न प्रशासनले प्रतिबन्ध लगाएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाले सूचना जारी गर्दै मंसिर १९ गते राति १२ बजेदेखि मंसिर २२ गते राति १२ बजेसम्म जनकपुरधाममा मदिरा बिक्री वितरण तथा पशुपक्षी काट्न, माछा÷मासु बिक्री वितरणमा प्रतिबन्ध लगाएको हो । जनकपुरधाम उपमहानगरपालिकाको परिक्रमा क्षेत्रभित्र र परिक्रमा सडकको दायाँबायाँ मदिरा बिक्री वितरण, पशुपक्षी मारकाट, माछा मासु बिक्री वितरण, उत्पादनलगायत अन्य नसालु पदार्थको सेवन गर्न पूर्ण रूपमा निषेध गरिएको प्रमुख जिल्ला अधिकारी रामुराज कडरीयाद्वारा जारी सूचनामा उल्लेख छ ।

तोकिएको निषेधित क्षेत्रमा माछा मासु मदिरा खरिद बिक्री तथा सेवन गरेको पाइएमा प्रचलित कानुन बमोजिम आवश्यक कारबाही गर्ने चेतावनीसमेत दिइएको छ ।

जानकी मातालाई चढाइयो १०८ मिटर लामो चुनरी

सीताराम विवाहपञ्चमीको अवसरमा जनकपुरधामस्थित जानकी मन्दिरमा १०८ मिटर लामो ध्वज (चुनरी) चढाइएको छ ।
जनकपुरधाममा शोभा यात्रापश्चात चुनरी माता जानकीलाई चढाइएको हो । भारत, सुरतको जीन माता ट्रस्टले पठाएको उक्त चुनरी माता जानकीलाई चढाएको सीताराम गौशाला जनकपुरधामका अध्यक्ष मनोज रुंगटाले जानकारी दिए ।

उनले भने, ‘जीन माता ट्रस्टले अहिलेसम्म ४७५ मन्दिरमा यतिधेरै लामो ध्वज चढाएको छ । जानकी मन्दिरमा पनि चढाउने मन भएपछि ध्वज पठाएको थियो । आज जनकीलाई चढायौँ । यो हामी जनकपुरवासीका लागि सौभाग्य हो ।’ चुनरी चढाउन निकालिएको शोभायात्रामा नेकपा एमालेकी सांसद जुली महतो पनि सहभागी थिइन् । उनले १०८ मिटरको चुनरी माता जानकीलाई चढाएकोमा खुसी व्यक्त गरिन् ।

विवाहपञ्चमीमा हिसान, प्याब्सन तथा एनप्याब्सनले निःशुल्क आवासको व्यवस्था गर्ने

सीताराम विवाहपञ्चमी महोत्सव हेर्न आएका श्रद्धालुहरूलाई ध्यानमा राखेर हिसान, प्याब्सन तथा एनप्याब्सनले आवासको व्यवस्था गर्ने भएको छ । जनकपुरधाममा श्रद्धालु भक्तजनका लागि निःशुल्क भोजन, आवास, शौचालय, स्नानघर तथा पानीको व्यवस्थापन हिसान, प्याब्सन तथा एनप्याब्सनले गर्ने भएको हो ।

जनकपुरधामका विभिन्न ठाउँमा विभिन्न समुदाय तथा संघसंस्थाहरूले समेत यात्रुहरूलाई खानाको निःशुल्क व्यवस्था गर्न लागेको छ । विगत केही वर्षदेखि विभिन्न ठाउँमा भोजनको व्यवस्था गरिएको देखिन्छ । यसअघि बाह्रविघा मैदानमै विशाल भण्डाराको आयोजना हुँदै आएकोमा अहिले विभिन्न ठाउँमा छुट्टाछुट्टै निःशुल्क भोजनको शिवर आयोजना हुँदै आएको र सोहीअनुरूप आफूहरूले पनि सो कार्य गर्न लागेको हिसान धनुषाका अध्यक्ष सञ्जिव ठाकुरले बताए ।

एन–प्याब्सन जनकपुरधामका अध्यक्ष दीपक ठाकुरले जनकपुरधाममा सञ्चालन हुने निःशुल्क भोजनको शिविरहरूमा गएर भोजन गर्न यात्रुहरूसँग अनुरोध गरेका छन् ।

प्रतिक्रिया