मकवानपुर । जिल्लाको बकैया गाउँपालिकाका एक वडा अध्यक्ष पुर्पक्षका लागि कारागार चलान भएका छन् । उनलाई पदीय दुरुपयोग गरी सरकारी कागजात किर्ते गरेको अभियोगमा पुर्पक्षका लागि कारागार चलान गरेको हो । बकैया गाउँपालिका–४ का वडाका वडाध्यक्ष राजन दंगाल सरकारी कागजात किर्ते गरेको अभियोगमा पुर्पक्षका लागि भीमफेदी कारागार चलान भएका हुन् ।
जिल्ला न्यायाधीश सकुन्तला कार्कीको इजलासले बुधबार सरकारी कागजात किर्तेको अभियोगमा दंगाललाई थुनामा राखी मुद्दा पुर्पक्ष गर्न आदेश दिएको थियो । सोही आदेशअनुसार वडा अध्यक्ष दंगाललाई पुर्पक्षका लागि कारागार पठाइएको अदालत स्रोतले जनाएको छ । वडा अध्यक्ष दंगालविरुद्ध गत असार दोस्रो हप्ता कागजात किर्ते गरेको अभियोगमा अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।
पक्राउ पुर्जी जारी भएको ४ महिनापछि दंगाल बुधबार अदालतमा उपस्थिति भएको मकवानपुरका प्रहरीले जनाएको छ । वडाध्यक्ष दंगालमाथि स्याङ्जाकी मृतक उमादेवी गुरुङको नागरिकता किर्ते र जग्गा पाससम्बन्धी प्रक्रियाका लागि नक्कली कागजात बनाएर सिफारिस गरेको अभियोग छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरमा गुरुङको श्रीमान् भारतीय मूलका एमसी परेराले विगत ६ महिना अगाडि वडाध्यक्ष दंगालसहित ७ जनाविरुद्ध जाहेरी दिएका थिए । प्रहरीका अनुसार गुरुङको नाममा ललितपुर, कीर्तिपुर र चितवनमा जग्गा रहेको र सो जग्गा हत्याउने प्रयासअनुसार कागजात किर्ते गरी प्रक्रिया अघि बढाइएको थियो ।
सोही अभियोगमा प्रहरीले गत असारमा वडाध्यक्ष दंगाल, वडा सचिव अनिशा श्रेष्ठ, नक्कली छोरा बनेका पूर्णबहादुर ब्लोनसहित सर्जमिन मुचुल्कामा साक्षी बसेका स्थानीय ४३ वर्षीय सानुमान थिङ, ३९ वर्षीय जितमान थिङ, ३५ वर्षीय जमानसिं भुलून, ६९ वर्षीय रामबहादुर न्यासुरविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । प्रहरीले उनीहरूविरुद्ध लिखतसम्बन्धी कसुरमा अदालतमा मुद्दा दायर गरेको थियो ।
बकैया–४ का ४६ वर्षीय ब्लोनलाई मृतक गुरुङको नक्कली छोरा बनाएर वडाध्यक्ष दंगालले १८ मंसिर ०८० मा मृत्यु दर्ता र नाता प्रमाणित लगायतका कागजात तयार पारिदिएका थिए । सोही घटनामा संलग्न रहेको आरोपमा वडा सचिव श्रेष्ठ, ब्लोन र न्यासुरलाई जिल्ला अदालतले २१ असारमा नै पुर्पक्षका लागि थुनामा पठाएको प्रहरीले जनाएको छ । गुरुङको २६ भदौ २०७४ मा मृत्यु भएको थियो । उनका श्रीमान् परेरा चितवनको भरतपुरमा बस्दै आएका थिए । उनका २ छोरी र १ छोरा अमेरिकामा बस्दै आएका छन् ।
प्रतिक्रिया