जनकपुरधाम । नगराइन नगरपालिकाको नगरसभा हुन नसक्दा चालु आर्थिक वर्षको सुरुवातदेखि नै नगरको सम्पूर्ण ठप्प बनेको छ । नगरसभा हुन नसक्दा नगराइन नगरपालिकामा विकास निर्माणका कामदेखि कर्मचारी, स्वास्थ्यकर्मी तथा शिक्षकहरूले समेत विगत ४ महिनादेखि तलब पाउन सकेका छैनन् ।
नेपाली कांग्रेसबाट निर्वाचित नगरप्रमुख विनयकुमार यादव र उपप्रमुख राधादेवी यादवबीचको विवादका कारण नगरसभा हुन नसकेकोे नगराइनबासीको आरोप छ ।
यता नगरप्रमुख यादवले पत्रकार सम्मेलनको आयोजना गरेर एमालेबाट निर्वाचित जनप्रतिनिधिको हठका कारण नगरसभा हुन नसकेको आरोप लगाएका छन् । उनले नगरउपप्रमुखले नगरको योजनामा नगरप्रमुख तथा उपप्रमुख राख्न हठ कसेपछि नगरसभा प्रभावित हुँदै आइरहेको स्पष्ट पारे ।
नगरप्रमुख यादवले भने ‘नगरमा विकास भयो भने त्यसको श्रेय नगरप्रमुखलाई जाने भ्रम एमालेका साथीहरूलाई छ, त्यो भ्रमबाट निस्किन म एमालेका साथीहरूलाई आग्रह गर्न चाहन्छु ।’
‘असार १० गते नगरसभा गर्नेमा सबै सहमत थिए, हामी नगरसभाका लागि समयमै पुगिसकेका थियौँ, उनले अगाडि भने, ‘नगरसभा गर्ने सहमति गरेर एमालेका साथीहरू त्यो दिन नआइदिदा नगरसभा प्रभावित भएको थियो ।’
त्यसपछि पनि पटक पटक नगरसभाका लागि आग्रह गर्दा समेत एमालेबाट निर्वाचित जनप्रतिनिधि नगरसभाका गर्न तयार नभएको उनले आरोप लगाए ।
नगराइन नगरपालिकाको १९ सदस्यीय कार्यपालिकामा १३ जना एमालेका जनप्रतिनिधि छन् भने कांग्रेसको ५ र १ जना लोसपाका जनप्रतिनिधि रहेका छन् ।
प्रतिक्रिया