अष्टावक्रको जन्मस्थान महोत्तरीको राजावासमा रहेको दाबी

महोत्तरी । राजा जनकका गुरु ऋषि अष्टावक्रको जन्मस्थान महोत्तरीको बर्दिवास नगरपालिकास्थित राजावास हुन सक्ने दाबी गरिएको छ । भारतको आन्ध्र प्रदेशबाट बर्दिवास पुगेका डा.स्वामी विश्वासनन्दले अष्टावक्रको जन्मस्थलबारे दाबी गर्दै त्यहाँ विभिन्न ऐतिहासिक अवशेष फेला परेको बताए ।


बर्दिवासमा आयोजित पत्रकार सम्मेलनमा स्वामी विश्वासनन्दले अष्टावक्रको जन्मस्थानका अवशेषहरू पत्ता लागेको र त्यसले राजावासलाई सम्भावित जन्मस्थलको रूपमा प्रमाणित गर्ने आधार दिएको बताए । उनले भने, ‘मध्यपाषाण युगको हतियार कारखाना रहेको भनिएको स्थानबाट झन्डै ७ किलोमिटरको दुरीमा रहेको राजावास नै अष्टावक्रको जन्मस्थल हुन सक्छ ।’

डा.विश्वासनन्दका अनुसार पुरातात्विक अवशेषहरूको आधारमा राजावासलाई अष्टावक्रको जन्मभूमि र राजा जनकले ज्ञान प्राप्त गरेको स्थानका रूपमा चिनाउन सकिन्छ । उनी हाल अष्टावक्रको जन्मस्थल र समाधिबारे अध्ययन गर्दैछन् । एमालेका स्थानीय नेता शंकर महतोको निमन्त्रणामा बर्दिवास आइपुगेका स्वामी विश्वासनन्दले अष्टावक्रको जन्मस्थानबारे थप खोजीमा सहयोग गर्न आग्रह गर्दै, अष्टावक्रका बारेमा गहिरो अध्ययन गरिरहेको बताए ।

स्वामी विश्वासनन्दले केमिस्ट्रीमा पिएचडी गरेका छन् । विश्वका ठुला कर्पोरेट कम्पनीहरूमा काम गरेका उनले सन् १९९१ मा प्रयोगशालामा अनुसन्धान गर्दै गर्दा बैराग्य जीवन रोजे । र अष्टावक्रसम्बन्धी अनुसन्धानमा जुटेका हुन् । अहिलेसम्म ७२ देशको भ्रमण गरिसकेका स्वामीले नेपालको मिथिला क्षेत्र र जनकपुरधाम नजिक भएकोले बर्दिवास नै अष्टावक्रको जन्मस्थल भएको सम्भावना औँल्याए ।
पत्रकार सम्मेलनमा उपस्थित नेताहरूले अष्टावक्रको जन्मस्थलबारे थप खोजी गर्न आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया