वडाध्यक्षविरुद्ध कांग्रेसले सुरू गर्यो रिले अनशन

गौर । रौतहट जिल्लाको यमुनामाई गाउँपालिका–४ का वडा अध्यक्षको विरुद्ध नेपाली कांग्रेस यमुनामाई गाउँपालिका–४ का वडा समितिका कार्यकर्ताहरू बिहीबारदेखि रिले अनशनमा बसेका छन् ।

बिगत ७ वर्षदेखि वडा अध्यक्ष अश्विनी यादव भने चेतन यादवले आफ्नो घरमा वडा कार्यालय सञ्चालन गर्दै आएकोमा वडा कार्यालयमा कार्यालय सञ्चालन गर्नुपर्ने माग राख्दै नेपाली कांग्रेसका कार्यकर्ताहरूले यमुनामाई गाउँपालिकाको कार्यालय सरुअठामा मुख्य गेटअगाडि रिले अनशनमा बसेका हुन् ।

नेपाली कांग्रेस रौतहट क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति श्रीराम यादवले वडा अध्यक्ष चेतन यादवले वडा कार्यालयको भवन हुँदा पनि आफ्नो मनपोली गर्नका लागि निजी घरमा वडा कार्यालय सञ्चालन गर्दै आएको आरोप लगाएका छन् । वडा कार्यालय घरमा राखेर राज्यको रकम दुरूपयोग गरिरहेको दावी वहाँको रहेको छ ।

घर भाडा गाउँपालिकाबाट लिने उद्देश्यले आफ्नो घरमै वडा कार्यालय सञ्चालन गरेका वडा अध्यक्ष यादवले जनतालाई दुःख दिने गरेको गुनासो आएपछि आन्दोलन गर्नुपरेको जिकिर गरे ।

नेपाली कांग्रेसका प्रदेश महाधिवेशन प्रतिनिधि रणधीर कुमार सिंहले वडा कार्यालय सरकारी भवनमा सञ्चालन गर्नुपर्नेमा निजी घरमा सञ्चालन गरेकोले आमनागरिकलाई सास्ती भइरहेकोले वडा कार्यालय सार्नुपर्ने बताए ।

समर्थकको काम गोप्य रूपमा गर्ने वडा अध्यक्ष यादवले प्रतिपक्षका व्यक्तिको काममा आनाकानी गर्ने गरेको र विकास निर्माणको कार्यमा समेत अनियमितता गर्ने गरेको आरोप लगाए ।

वडा कार्यालय सार्नुपर्ने पटकपटक आग्रह गर्दा कुनै वास्ता नगरेकोले बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको उल्लेख गरे । वडा कार्यालय गाउँपालिका कार्यालय भएको भवनमा नल्याएसम्म संघर्ष जारी रहने चेतावनीसमेत दिएका छन् ।

रिले अनशनका संयोजकसमेत रहेका वडा प्रत्यासी श्री राम यादवले गाउँपालिका अध्यक्ष मोहमद सउद भने इरसादलाई वडा कार्यालय सार्नुपर्ने भन्दा पनि कुनै वास्ता नगरेको र वडा अध्यक्षको समर्थन गरेकोले नेपाली कांग्रेसले यो कदम उठाएको बताए ।

वडा कार्य समितिका सभापति रामानन्द शर्माले जनताको सहजताका लागि रिले अनसन सुरू गरिएको भन्दै माग पूरा नभए कडा संघर्षसमेत गर्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया