रौतहट । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले जनताले सरकारलाई कर किन तिर्ने भन्दै प्रश्न गरेका छन् । प्रतिननिधिसभाको बैठकमा बोल्दै सांसद साहले भने, ‘जनताले सरकारलाई कर किन दिने ? मरिमरि आफूले दिएको कर बापत सरकारबाट जनताले के पाएका छन् ? म सरकारलाई सोध्न चाहन्छु, जनताले त विकास र आफ्नो सेवासुविधाका लागि कर तिर्ने हो, तर जनताले अहिले देशमा लुट र ब्रम्हलुट मात्रै देखेका छन् ।’
बैठकमा उनले भने, ‘दूध नदिने गाई अहिलेसम्म कसैले पालेको हामीले देखेका छैनौँ । नेपाली जनताले दूध नदिने गाई किन पाल्ने ? हामी हेरिरहेका छौँ कि सरकारका मातहतमा रहेका उद्योगहरू घाटामा छन् । सरकारी उद्योगहरू कि घाटामा छन् कि त बन्द भएका छन् ? जसले उद्योग चलाइरहेको छ, त्यसले सम्मान पाउनुपर्ने हो कि उल्टै दण्ड भोग्नुपर्ने ?’
सांसद साहले सरकारको उद्योग बन्द हुने र घाटा हुने तर निजी उद्योगहरूले कर तिर्नुपरेको सुनाए । उनले भने, ‘कुन नैतिकताले सरकारले ती निजी उद्योगसँग कर लिन मिल्छ ? सरकारका मातहतमा रहेका संस्थान र केन्द्रहरू घाटामा हुने ? तर निजी उद्योगहरूले कर तिर्नुपर्ने ? सरकारले के नैतिकताको आधारमा कर लिन मिल्छ ? नेपाल एयरलायन्स घाटामा हुने, त्यो पनि सामान्य नभएर अर्बौं घाटामा भएको छ । अनि निजी एयरलाइन्सहरूले कर तिर्नुपर्ने ? सरकारले कुन नैतिकताको आधारमा कर लिन्छ ? हामी सोध्न चाहछौँ ।’
उनले सरकारी अस्पतालहरूको हालतबारे पनि सुनाए । तर, निजी अस्पतालहरूले राम्रो गरेको र नाफा आर्जन गरेको उनको भनाइ छ । उनले जनताले ५० भन्दा बढी किसिमका कर तिर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने माग गरे । उनले नेपालमा महँगी पनि दिनानुदिन बढिरहेको र आफ्ना उत्पादन पनि महँगो रहेको बताए । यही कारण नेपाली उत्पादनले विदेशमा स्थान नपाएको उनको दाबी छ । उनले देशको अर्थतन्त्र धराशयी बनाउने कर प्रणाली आफूहरूलाई नचाहिएको टिप्पणी गरे । उनले देशमा विद्यमान आयात र निर्यातको असन्तुलन (ग्याप) भनेको नै नेपालमा भएको कर व्यवस्था भएको दाबी गरे ।
उनले भने, ‘अनावश्यक कर थुपारेर हाम्रो उत्पादन महँगो बनाउने काम भयो । त्यो महँगोको कारण उद्योग तथा धन्दाहरू उठ्नै नसक्ने, सबै धराशयी हुने । मान्छेलाई कर तिर्न रुवाउने र तड्पाउने काम ग¥यो । तर, सरकारले आफ्नो दायित्व केही पनि पूरा गरेन ।’ राज्यसँग यत्रो प्राकृतिक स्रोत र साधन अनि आम्दानीको स्रोत हुँदाहुँदै पनि राज्य उल्टो घाटामा हुने परिपाटीको अन्त्य हुनुपर्ने साहको भनाइ छ । उनले जनतालाई रुवाइरुवाई कर तिर्न लगाउने सरकारको आलोचना गरे ।
उनले भने, ‘सरकारको व्यापार घाटामा छ भने जनताको पनि त्यही हालत होला नि । जनता पनि घाटामा छन् । अनि ती जनतालाई रुवाइरुवाई कर तिर्न लगाउने ? अनि मोजको संसार बसाउने काम गर्ने ? जनतालाई लुटेर बर्बाद गर्ने जुन स्थिति छ, त्यसलाई अन्त्य गर्न मेरो विचारमा सरकारलाई जुन नानाभाती कर (दुनियाँमा नभएका) कर छन्, ती कर हटाइनुपर्छ । ती हटाइएन भने अर्थतन्त्रलाई सुधार गर्न सकिँदैन । सरकारले अनावश्यक कर हटाएन भने जनता अब कर तिर्न बाध्य हुने छैनन् ।
प्रतिक्रिया