जनकपुरधाम । मधेस सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जनमत पार्टीको प्रवेश कार्यक्रम गरेको पाइएको छ ।
मधेसको मुख्यमन्त्री सतिशकुमार सिंहको कार्यालयमै पार्टी प्रवेश कार्यक्रम राखिएको पाइएको हो । सो कार्यक्रममा मुख्यमन्त्री सिंहको उपस्थिति नरहे पनि मुख्यमन्त्री कार्यालयको सचिवालयका रंजित साहले शुक्रबार मुख्यमन्त्री सिंहको कार्यकक्षमै पार्टी प्रवेश कार्यक्रम सञ्चालन गरेका थिए ।
साहले नवप्रवेशीहरूलाई पार्टीको सदस्यता वितरण गरिरहेको तस्बिर सामाजिक संजालमा समेत कतिपयले पोस्ट्याएका छन् ।
उक्त तस्बिर सामाजिक सञ्जालमार्फत बाहिरिएपछि मुख्यमन्त्री प्रदेशको कि पार्टीको भन्दै विभिन्न कोणबाट प्रश्न उठिरहेको छ । कतिपयले मुख्यमन्त्री सिंहले सत्ताको दुरुपयोग गरिरहेको आरोपसमेत लगाइरहेका छन् ।
राजनीतिक विश्लेषक रोशन जनकपुरीले मुख्यमन्त्री कार्यालय वा मुख्यमन्त्रीको सरकारी निवासमा पार्टी विशेषको कार्यक्रम गर्नु आचारसंहिता विपरीत रहेको प्रतिक्रिया दिए । उनले भने ‘मुख्यमन्त्री कुनै पार्टीको नभई प्रदेशको हुन्छ, मुख्यमन्त्री कार्यालयमा भएको पार्टी प्रवेश कार्यक्रमलाई कडा आलोचना हुनुपर्छ’, अगाडी भने, ‘भेटघाटसम्म त ठिकै थियो तर पार्टी प्रवेश कार्यक्रम नै राख्नु आचारसंहिता विपरीत हो ।’
मुख्यमन्त्री कार्यालयमा पार्टी प्रवेश कार्यक्रम भए नभएको विषयमा आफूलाई जानकारी नरहेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार अनिलकुमार कर्णले बताए । यता जसपा नेपालका नेता ज्ञानेन्द्र यादवले मुख्यमन्त्री कार्यालयमा यसप्रकारको पार्टी विशेषको कार्यक्रम हुनुले मुख्यमन्त्रीमा सरकार चलाउने ज्ञान नरहेको स्पष्ट भइरहेको प्रतिक्रिया दिए । उनले भने ‘मुख्यमन्त्री ज्यूको यो रबैयाले उनको इमेच्योर प्रवृत्ति दर्शाइरहेको छ ।’
प्रतिक्रिया