काठमाडौँ । सर्वाधिक पुरस्कार राशिका २ नेपाली अन्तर्राष्ट्रिय रियालिटी सो को घोषणा गरिएको छ । ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ सिजन–२ अमेरिकाको ओहायोबाट औपचारिक घोषणा गरिएको हो । एक्रोन सहरको कोप्ले खेल मैदानमा नेपालका बरिष्ठ कलाकारहरूको सांगीतिक प्रस्तुति रहेको एक खुला सांगीतिक समारोहका साथमा आयोजक संस्था इन्ट्रा–नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाका अध्यक्ष डिल्ली अधिकारीले दोस्रो संस्करणको घोषणा गरेका हुन् ।
कार्यक्रमअनुसार विश्वका विभिन्न मुलुकहरूमा स्थलगत अडिसनहरू तय गरिएका छन् भने दोस्रो संस्करणको अडिसनको सुरुआत सन् २०२५ को फेबु्रअरीको मध्यमा अमेरिकाबाट गरिनेछ । नेपालभित्र र संसारको जुनसुकै कुनामा बसेको भए पनि नेपालीकला, संस्कृतिप्रति अगाध आस्था र विश्वासले ओतप्रोत भएका र यो क्षेत्रमा आफ्नो समुदायमा विश्वभरि नै परिचय बनाउन सक्छु भन्ने अभिलाषा राख्ने सम्पूर्ण नेपालीभाषी समुदायका लागि सो आयोजना गर्न लागिएको फाउन्डेसनका अध्यक्ष अधिकारीले जानकारी दिए ।
फाउन्डेसनका अनुसार दोस्रो संस्करणका लागि युरोपमा बेलायत र पोर्चुगलमा, पूर्वी एसियाका लागि थाइल्यान्डमा, मध्यपूर्वका लागि दुबईमा, अस्ट्रेलियाका लागि सिड्नीमा, भारतका लागि सिक्किम र नेपालका दमक, नेपालगञ्ज, पोखरा र काठमाडौँमा अडिसनहरू आयोजना गरिनेछ ।
सहभागी हुन चाहने प्रतिस्पर्धीहरूले फाउन्डेसनको वेबसाइटबाट आवेदन दिन सक्नेछन् । विश्वभरबाट स्थलगत अडिसनमा छनौट भएका कलाकारहरूलाई थप प्रतिष्पर्धाका लागि काठमाडौँ ल्याइने बताइएको छ ।
भ्वाइसका लागि १२० र डान्सका लागि १२० गरी २४० प्रतिस्पर्धीहरू काठमाडौँ ल्याइनेछन् । दुबै सो का विजेतालाई १ करोड नेपाली रुपैयाँ पुरस्कार स्वरूप प्रदान गरिनेछ । दोस्रो हुनेलाई २५ लाख र तेस्रो हुनेलाई १० लाख रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । दोस्रो संस्करणको घोषणा कार्यक्रममा नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान वलले शुभकामना मन्तव्य राखेका थिए ।
प्रतिष्पर्धाका लागि १८ वर्ष पूरा भएको नेपालीमूलका व्यक्ति हुनुपर्ने, प्रतिष्पर्धीले प्रस्तुत गर्ने सबै प्रस्तुतिहरू नेपाली कला र संस्कृतिसँग सम्बन्धित हुनुपर्नेछ ।
यी २ ‘शो’को पहिलो सिजन सन् २०२३ मा नेपालमा सम्पन्न भएको थियो । जसमा गायनतर्फ भारत सिक्किमका प्रितम राई र नृत्यतर्फ थाइल्यान्डकी खुसी कार्कीले प्रथम पुरस्कार जितेका थिए ।
प्रतिक्रिया