फेस अफ तामाङको उपाधि दिक्छेनलाई

काठमाडौँ । तामाङ समुदायका बालबालिकाहरूको प्रतियोगितामूलक सौन्दर्य प्रतियोगिता ‘फेस अफ तामाङ किड्स प्रथम संस्करण २०२४’ को उपाधि दिक्छेन तामाङ र मर्जेन तामाङले जितेका छन् । युथ क्रियसनद्वारा आयोजित प्रतियोगितामा १० प्रतिस्पर्धीलाई उछिन्दै उनीहरूले क्रमशः बालिका र बालकतर्फ ‘फेस अफ तामाङ किड्स’को शीर्ष उपाधि जितेका हुन् ।

प्रतियोगिताअन्तर्गत बालिकातर्फको प्रतिस्पर्धामा साम्देन थिङ ‘फस्ट रनर अप’ र किन्जु डोमा तामाङ ‘सेकेन्ड रनर अप’ तथा बालकतर्फ आरोज तामाङ ‘फस्ट रनर अप’ र सिद्धान्त तामाङ ‘सेकेन्ड रनर अप’ भए ।
प्रतियोगिताका सहभागीले करिब १ महिनासम्म रोजिन शाक्यको फेसन कोरियोग्राफी र नृत्य निर्देशक एमबी गुरुङबाट प्रशिक्षण लिएका थिए । प्रतियोगिताको फिनालेमा अमिता दोङ, सुयोग तामाङ र रञ्जिता तामाङ निर्णायक थिए ।

फिनालेमा पूर्वमन्त्री परशुराम तामाङ प्रमुख अतिथि र मिलन मोक्तान तथा पञ्चालाल घिसिङ विशेष अतिथि थिए । कार्यक्रममा तामाङ समुदायसँगै राष्ट्रिय आयामका विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो ।

युथ क्रिएसनका प्रमुख रवी लामा तामाङले बालबालिकाको बौद्धिक सुन्दरता र प्रतिभालाई समाजमा स्थापित गर्न र सामाजिक दायित्व निर्वाह गराउने अवसर प्रदान गर्ने उद्देश्यसहित प्रतियोगिता गरिएको बताए ।

बालबालिकाले प्रशिक्षणका क्रममा बौद्धमार्गीको पवित्र धार्मिकस्थल स्वयम्भूमा निःशुल्क पानी वितरण गरेका थिए भने स्वयम्भूको अवलोकन गरी तामाङ कूताब धिममा तामाङ परिकार खानपिन र गायक तथा तामाङ डाजाङका अध्यक्ष फुलकुमार बोम्जनबाट तामाङ भाषा लिपी रिमठिमको बारेमा जानकारी लिएका थिए ।

सहभागीहरूलाई नेपाल तामाङ मातृभाषा सम्भोटा लिपि विकास प्रतिष्ठानका सचिव तथा ओख्रेनी मावि गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजल, काठमाडौँकी शिक्षिका रुवी लामाले तामाङ भाषाका वर्णमाला किताब उपहार स्वरूप प्रदान गरेकी थिइन् । उनले सहभागीहरूलाई तामाङ मातृभाषाको परिचय, महत्व, संरक्षण र सम्बद्र्धनको विषयमा जानकारी दिएकी थिइन् ।

प्रतिक्रिया