मुशायरामा गुञ्जिए लोकेश, सविता र परिविक्रम

काठमाडौँ । आदिगजलकार मोतीराम भट्टको १५९औँ जन्मजयन्तीको अवसरमा नेपाल गजल प्रतिष्ठानले ‘गजल मुशायरा’को पाँचौँ शृंखला सम्पन्न गरेको छ । १५ भदौमा शनिबार राष्ट्रिय नाचघर जमलमा आयोजित मुशायरामा लोकेश संघात, सविता बराल र परिविक्रम प्रस्तुत भए । निकै चोटिला र प्रभावशाली गजलहरू वाचन गरिरहँदा उपस्थितिमा निकै उत्साह देखिन्थ्यो ।


रिसाएर जाऊ तिमी जाने बेला


पुनः मुस्कुराए हृदयघात हुन्छ ।


गजलकार लोकेश संघातले यो गजल बोलिरहँदा हल तालिमय बनेको थियो । केहीछिनमा शृंगाारमय अजलमा सविता बराल यसरी गुञ्जिइन् :


शराबी गुलावी दुबै ओठ टोकी


तिमी मुस्कुराऊ लजाएर हुन्न ।


यस्ता दर्जनौँ गजलहरू सुनिए हलमा । खचाखच भरिएको हलमा ३ स्रष्टाले आफ्ना ५–५ वटा तथा अन्य २ जनाका १–१ वटा गजल वाचन गरे । कार्यक्रममा विश्वव्यापी गजल प्रतियोगिता, २०८० का विजेता कुशलनाथ योगीको गजलकृति ‘कोहिनूर’ सार्वजनिकसमेत गरियो । प्राडा देवी नेपालले ‘कोहिनूर’माथि टिप्पणी गर्दै योगी नयाँ पुस्ताका कुशल र अब्बल गजलकार रहेका बताए । प्रमुखअतिथि प्रसिद्ध गीतकार एवं गजलकार करुण थापाले अब नेपाली गजलले सही बाटो पहिल्याउन थालेको र नयाँ पुस्ताले नेपाली गजललाई उचाइ दिनेमा आफू विश्वस्त रहेको धारणा राखे ।


सोही अवसरमा नेपाल गजल प्रतिष्ठानले गरेको विश्वव्यापी गजल प्रतियोगिता, २०८१ को नतिजासमेत सार्वजनिक गरिएको थियो ! रेशम अधिकारी प्रथम भएको सो प्रतियोगितामा अधिकारीसहित नारायण सिटौला ‘इरादा’, मिलनकुमार ढुंगााना, चित्र थापा, विपिन नेपालका गजल उत्कृष्ट ५ मा परेका थिए ।


‘नेपाली गजलको विकास र बिस्तारका लागि’ मूलमन्त्र लिएको प्रतिष्ठानले हरेक महिना गजल सुन्ने÷सुनाउने कार्यक्रम गर्दै आइरहेको छ भने बहर–बहार र मोती पाठशालामार्फत गजल प्रशिक्षणसमेत दिँदै आएको छ । आगामी दिनमा नेपाली गजललाई लेखनमा परिष्कारसहित गायनमा समेत तीव्रता दिइने प्रतिष्ठानका अध्यक्ष लालकाजी श्रेष्ठले जानकारी दिए ।


सो कार्यक्रमलाई आइविना अस्ट्रेलिया, ग्लोबल आइएमई बैंक, सूर्य लाइफ इन्स्योरेन्स, सूर्य नेपाल र सिवाइसीले प्रायोजन गरेका थिए भने इन्टरनेट पार्टनर भायनेट र मिडिया पार्टनर युनिभर्सल टेलिभिजन थिए । नेपाली गजलको विकास र बिस्तारका लागि मूलमन्त्र लिएको प्रतिष्ठानले हरेक महिना गजल सुन्ने, सुनाउने कार्यक्रम गर्दै आइरहेको छ भने बहर–बहार र मोती पाठशालामार्फत गजल प्रशिक्षणसमेत दिँदै आएको छ ।

प्रतिक्रिया