ढकालसहित ३ स्रष्टा सम्मानित

भक्तपुर । फेमकुमारी डोरनाथ ढुङ्गेल साहित्य प्रतिष्ठानले ३ साहित्यिक स्रस्टालाई सम्मान गरेको छ । शनिबार साहित्यिक विमर्श एवम् स्रष्टा सम्मान कार्यक्रम आयोजना गरेर प्रतिष्ठानले ३ जना साहित्यिक प्रतिभाहरूलाई सम्मान तथा जनमत पत्रिकाको भक्तपुर विशेष अंक विमोचन गरेको हो ।

समारोहमा यसवर्ष प्रतिष्ठानमा प्राप्त कृतिहरूमध्येका ‘भक्तगाथा’ कृतिका स्रष्टा लेखक शिवप्रसाद ढकाल, ‘क्रान्तिदूत’ कृतिका स्रष्टा खेमराज निरौला र ‘लहना र तीर’ कृतिका स्रष्टा अभय श्रेष्ठलाई उत्कृष्ट कृतिकारका रूपमा सम्मान गरिएको हो ।

प्रतिष्ठानका संस्थापक तथा अध्यक्ष राममणि ढुङ्गेलको सभापतित्वमा भएको समारोहमा प्रमुख अतिथिका रूपमा सहभागि रहँदै राजगुरू पण्डित माधवप्रसाद भट्टराईले उनीहरूलाई फूलमाला तथा बर्को ओढाई सम्मानपत्रका साथ सम्मान गरेका थिए ।

समारोहमा तीन विभिन्न स्रष्टाहरूबाट सम्मानित तीन कृतिहरूमाथि प्रकाश पार्दै उनीहरूको व्यक्तित्व तथा कृतित्व बारे आफ्ना धारणाहरू प्रस्तुत गरेका थिए ।

समारोहमा प्रमुख अतिथि, विशेष अतिथि तथा संस्थाका संस्थापक अध्यक्षबाट बनेपाबाट अविरल रूपमा प्रकाशित भईआएको जनमत पत्रिकाको भक्तपुर विशेषांकको विमोचन गरी लोकार्पण गरिएको थियो ।

समारोहमा संस्थापक अध्यक्ष ढुङ्गेलले संस्था स्थापना, त्यसको उद्देश्य र गरिआएका कार्यहरूबारे प्रकाश पारे ।

फेमकुमारी डोरनाथ ढुङ्गेल साहित्य प्रतिष्ठान साहित्यकार राममणि ढुङ्गेलले आफ्ना माता फेमकुमारी तथा पिता डोरनाथ ढुङ्गेलको स्मृति स्वरूप विसं २०६८ सालमा स्थापना गरेका हुन् ।

समारोहमा प्रमुख अतिथि भट्टराईले फेमकुमारी डोरनाथ ढुङ्गेल साहित्य प्रतिष्ठान सन्तानले आफ्ना मातापिता प्रति जनाउनु पर्ने सम्मानको नमूनासमेत नेपाली भाषा र वाङ्मयको सेवा तर्फ एक उदाहरणीय पुनित कार्य भएको बताए

समारोहमा विभिन्न साहित्यिक स्रष्टाहरूबाट मन्तव्य राखेका थिए । स्वागत मन्तव्य चित्रकार तथा लेखक नगेन्द्र प्रसाद पौड्यालले गरेका थिए । कार्यक्रममा सहजीकरण देबु लुईटेलले गरेकी थिइन् ।

प्रतिक्रिया