काठमाडौँ । कुनै पनि मानिस या व्यक्तिलाई संघर्षविनाको जीवन खल्लो हुन्छ । संघर्षले नै मानिसलाई जीवनयापनको महत्वपूर्ण खुड्किलो पार गर्न ठूलो मद्दत गर्छ । हरेक प्राणीलाई संघर्ष आवश्यक त पर्छ नै तर अझै मानिसको संघर्ष त ठूलो खुड्किलोभित्र पर्दछ । कतिपय व्यक्तिले संघर्ष गर्दागर्दै पनि आफैँले चाहेअनुसार सफलता हासिल गर्न सकिरहेका छैनन् भने त्यही असफलताको भिडमा केही व्यक्ति संघर्षले नै केही सफलता प्राप्त गरिरहेका छन् । यही भिडमा छन् गायक एवं राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समितिका अध्यक्ष अर्जुन थापा मगर ।
यो स्थानसम्म आउनुमा आफ्नो एकल संघर्ष मात्रै नभई घरपरिवार र साथीभाइहरूको पनि स्नेहलाई स्मरण गर्छन् अर्जुन । अर्जुन भन्छन्, ‘नेपाली लोकगीत संगीत आफैँमा एउटा महासागर हो, संस्कृति, परम्परा, रीतिरिवाज र सामाजिक सन्दर्भहरूले यसको स्थान झन फराकिलो छ, म यो स्थानसम्म आउनुमा मेरो एकल संघर्षलाई मात्रै हेरेर हुँदैन, पहिला त मेरा बुबाआमालाई श्रेय जान्छ, त्यसपछि विभिन्न साथीभाइहरूलाई, सबैको मायाले यही गहिराइभित्र डुबेर कला क्षेत्रमा जीवनको महत्वपूर्ण समय बिताइरहेको छु ।’
स्याङ्जा जिल्लाको विरुवा गाउँपालिका–४ ओरस्टे भोर्लेमा बुबा भुवानसिंह थापा मगर र आमा पविकुमारी थापाको कोखबाट जन्मिएका अर्जुनलाई बाल्यअवस्थादेखि नै गीतसंगीतको मोहमा डुबे । हाल पर्यटकीय गण्डकी प्रदेशले परिचित स्याङ्जाको विरुवास्थित सामान्य परिवारमा जन्मिएर हुर्कंदै रोधीघर तथा वनपाखामा गुञ्जने समधुर आवाज ‘यानीमाया’, ‘सुनीमाया’, ‘सालैजो’ तथा ‘कौडा’ जस्ता भाकाहरूलाई पच्छ्याएर यो स्थानसम्म आइपुगेका अर्जुन संगीत सिकाइको आधारभूत विद्यालय ठान्ने बताउँछन् । सानैदेखि गायन कला र साहित्यमा रुची राख्दै स्थानीय श्री दिव्य प्रकाश माध्यमिक विद्यालयबाट एसएलसी परीक्षा उत्तीर्ण गरेका थापा विद्यार्थी जीवनका अतिरिक्त क्रियाकलापमा सधैँ उत्कृष्ट हुने गर्दथे ।
गाउँघरको स्थानीय अध्ययनपछि उच्च शिक्षा हासिल गर्न आफू पर्यटकीय राजधानी पोखरा हानिएको अर्जुनले सुनाए । कलिलो उमेर, ठुलो सपना, अन्जान सहर यहीबाटै उनले आफ्नो भविष्यका सपना पूरा गर्ने विचार गरे । भर्ना भए पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा । कला, साहित्य तथा संगीतमा रुची भएका अर्जुन त्यतिबेला आफूले लेखेको गजल क्याम्पस प्रतियोगितामा तेस्रो भएपछि उनको मनोबल बढेको बताउँछन् । ‘सुन्दरता’ नामक उक्त गजल क्याम्पसको वार्षिक मुखपत्रमा प्रकाशित भएको स्मरण गर्दै उनी त्यसपछि कलामार्फत नै सुन्दर भविष्यकोे यात्रमा लम्किएको बताउँछन् ।
जनप्रिय क्याम्पसपछि उनी अध्ययनका लागि पृथ्वीनारायण क्याम्पसमा पुगे । त्यहाँ उनले पहिलोपटक लोकदोहोरी प्रतियोगितामा सहभागी भएर कला एवं गायन क्षेत्रमा औपचारिकरूपमा अघि बढे । त्यसपछि क्रमशः पोखरा एफएममा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आरजेको अनुभव बटुलेका अर्जुन त्यसपछि भने पोखराको ‘मान्द्रो रोधी घर’मा काम गर्न थाले ।
त्यसपश्चात् लोकगीत तथा संगीतलाई अगाडि बढाउनका लागि दोहोरी साँझ एउटा महत्वपूर्ण खुड्किलो बन्न पुगेको स्मरण गर्दै सोही समय विभिन्न संगीतालयमा संगीतको शिक्षा लिइसकेपछि २०६६ सालमा पोखरादेखि लोक संगीतप्रतिको तिर्खा मेटाउन भविष्यमा बुनेको सपनासहित आफू देशकै राजधानी काठमाडौं छिरेको उनले बताए । काठमाडौैँ आइसकेपछि विभिन्न दोहोरी साँझहरूमा काम गर्दै औपचारिक रूपमा लोकदोहोरी गीत रेकर्ड गर्ने सपना बुन्न थाले । काठमाडौँमा बसेबास गरेको केही वर्षको अन्तरालपछि २०७८ सालमा गायिका विष्णु माझी र आफ्नै आवाज, आफ्नै शब्द र संगीतमा ‘आँशुले बाटो छेक्नुछ’ बोलको गीत ल्याएका अर्जुन उक्त गीतबाट घरपरिवार, दर्शकश्रोता तथा शुभचिन्तकहरूबाट राम्रै माया र समर्थन पाएपछि थप हौसला प्राप्त भएको बताउँछन् । सबैको साथ र माया पाएपछि उनले निरन्तर गीत सिर्जनाहरू गरेर बजारमा ल्याउन थाले । क्रमशः केही गीतमा आवाज, केहीमा शब्द संगीत सिर्जनाहरू पस्कँदै अगाडि बढेका उनी प्रविधिको विकास र आफूमा निहित कलालाई विश्वास गर्दै केही समयपश्चात् गायनसँगै संगीत संयोजन, भिडियोमा अभिनय र निर्देशनतिर पनि समाहित भए ।
आफूले आवाज दिएका, अभिनय गरेका, संगीत संयोजन गरेका, सिर्जना अनि निर्देशन गरेका गीतहरूमध्ये ‘आँशुले परेली धुन्न भन्दानी,’ ‘स्याङ्जाली ठिटो,’ ‘केशरी फूल’, ‘सँगै जिउने मर्ने’, ‘ए माइली’, ‘सुनको महल’, ‘मनमति’ ‘मेरो लागि’ जस्ता दर्जनौँ सिर्जनाहरू बजारमा रुचाइएको जिकिर गर्छन् अर्जुन ।
अभिनय र लेख रचनामा रम्ने उनले नेपाली चलचित्रमा पनि योगदान गरेका छन् । नेपाली चलचित्र ‘अर्थ यो प्रेमको’ मा उनको नायकको रूपमा भूमिका, कथा र संगीतसमेत रहेको छ । नेपाली लोकदोहोरी क्षेत्रमा योगदान दिएवापत उनले विभिन्न अवार्डहरू पनि प्राप्त गरेका छन् । ती अवार्डमध्ये पूजा लोकदोहोरी अवार्ड, सगरमाथा म्युजिक अवार्ड, ज्योति फिल्मस अवार्ड, साधना समर्पण अवार्डलगायत धेरै अवार्डहरू आफूले प्राप्त गरिसकेको उनले सुनाए । अर्जुन लोकगीत संगीतमा लाग्दै गर्दा लोकदोहोरी कलाकारहरूको समस्या, लोकगीत संगीतको अवस्था र परिस्थिति नियाल्ने मौकासमेत पाएका छन् । कलाकारहरूको आर्थिक अवस्था, लोकदोहोरीलाई हेरिने दृष्टिकोण तथा समग्रमा कलाकारको भविष्य लगायतका विषयहरूले समेत आफूलाई सताउने गरेको बताउँछन् अर्जुन ।
लोकदोहोरी कलाकारहरूको समस्या एवं समग्र लोकदोहोरीको हितमा लाग्ने संस्थामा आबद्ध भएर काम गर्ने इच्छा जागेपछि अन्ततः राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समितिको नेतृत्वमा आइपुग्दा आफ्नो केही इच्छा पूरा भएको उनको भनाइ छ । प्रतिष्ठान उपत्यका समन्वय समितिको नेतृत्वमा आउनुभन्दा अगाडि उनी प्रतिष्ठान मातहतकै संस्था उपत्यका समन्वय समिति काठमाडौँले विभिन्न समितिहरू विस्तार गर्ने क्रममा दोहोरी साँझको सबैभन्दा ठूलो क्षेत्र नयाँ बसपार्क हेर्ने संयोजकको जिम्मेवारी पाएका थिए । अर्जुन भन्छन्, ‘दोहोरी साँझमा जागिर गरेर राजधानीमा जीविकोपार्जन गर्नै हम्मेहम्मे पर्ने परिस्थितिका कलाकार, व्यवसायमा टिक्न प्रयत्न गरिरहेका दोहोरी साँझहरूमा गएर आफ्नो संस्थाको उद्देश्य र महत्व बुझाउन चुनौतीपूर्ण काम थिएन, तैपनि कार्यसमितिका साथीहरू, अग्रज कलाकारहरूको साथले डटेर आफ्नो कार्यक्षेत्रमा संस्थाको महत्व धेरैसामु दर्शाउँदै विश्वास दिलाउन सफल भएँ ।’
पूजा लोकदोहोरी अवार्ड लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समितिले आयोजना गर्दा नयाँ बसपार्क समितिबाट बसपार्कदेखि कमलादी प्रज्ञा प्रतिष्ठानसम्म सयौँमा नितान्त लोकदोहोरी कलाकारहरू ¥यालीसहित सहभागी भएको सम्झनाले आफ्नो मन अहिले पनि फुरुंग भएको बताउँछन् अर्जुन । दोहोरी साँझमा होस् या बाहिर कतै लोकदोहोरी कलाकारको अधिकारको निम्ति सधैँ अग्रभागमा रहेर आवाज उठाइरहने उनी सदस्य, द्वितीय उपाध्यक्ष हुँदै राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समितिको अध्यक्ष पदमा २०८१–८२ का लागि भारी मतान्तरले विजयी भएका हुन् ।
निःस्वार्थ लोकदोहोरी कलाकारहरूका लागि गरेको कामको मूल्यांकन गरी लोकदोहोरी प्रष्ठिान केन्द्रले आफूलाई दिएको जिम्मेवारी सम्झने उनले उपत्यका समन्वय समितिको नेतृत्वमा आइसकेपछि उपत्यका समन्वय समिति र त्यसका मातहतमा रहेका ९ वटै समितिको अभिलेखलगायत अन्य दस्तावेजहरू सुरक्षित गर्नका लागि ‘लोकदोहोरी भिसिसी डटकम’ नामक वेबसाइट निर्माण पनि गरेको जानकारी दिए । साथै, लोकदोहोरी कलाकारहरूको परिस्थितिजन्य समस्याका लागि ‘उपत्यका समन्वय समिति आकस्मिक कोषको’ निर्माण उनकै नेतृत्वमा बनेको छ । ९ वटै समितिहरू र कार्यक्रमहरूलाई व्यवस्थित तथा प्रभावकारी बनाउन संस्थागत अन्तरक्रिया लगायतका कार्यक्रमहरू सञ्चालन हुँदै आएको अर्जुन बताउँछन् । काठमाडौँ उपत्यकामा रहेका दोहोरी साँझमा कार्यरत कलाकारहरूको विवरण संकलन भइसकेको जनाउँदै उनले जसबाट सिंगो संस्थाको प्रभावकारिता र स्वयं कलाकारको समस्याहरू पहिचान गरी समाधानको उपाय खोज्न सजिलो हुने बताए । उपत्यका समन्वय समितिले गर्दै आएको लोकदोहोरी अवार्डको आठौँ संस्करण उनको नेतृत्वमा सम्पन्न भइसकेको छ । जसलाई थप परिमार्जित र विकसित गरी यसको उचाइ बढाउने योजनामा आफू रहेको अध्यक्ष अर्जुन बताउँछन् ।
पछिल्लो समय लोकगीत संगीतमा देखिएका विकृति र विसंगतिप्रति चिन्ता व्यक्त गर्दै उनले यसलाई नियमन गर्ने आधिकारिक निकायहरू नहुँदा स्वयं कलाकारहरू नै सिर्जनाको मर्म र भावनाभन्दा फाइदामा रोमलिँदा मौलिक लोक संस्कृतिको हनन् भएको गुनासो गरे । यसले समग्र कला, संगीत, साहित्य परम्परा र सिंगो राज्यलाई पुर्याउने दीर्घकालिन असरप्रति सबै तहबाट बेलैमा सजग हुन आवश्यक रहेको अर्जुन बताउँछन् । हाल उनी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समितिको अध्यक्ष मात्रै नभई सफल लोकदोहोरी गायक, संगीत संयोजक तथा म्युजिक भिडियो निर्देशकका रूपमासमेत आफूलाई उभ्याएका छन् ।
प्रतिक्रिया