रौतहट । जिल्लाको गौर नगरपालिकाले नगरभित्र बसोबास गर्ने व्यक्तिको विस्तृतरुपमा घरधुरी सर्वेक्षण गर्ने भएको छ । जिल्लाको सबैभन्दा ज्येष्ठ नगरपालिकाको रुपमा रहेको गौर नगरपालिकाले नगर प्रोफाइल बनाउने उदेश्य राखेर आगामी भदौ १ गतेदेखि घरधुरी सर्वेक्षण गर्न लागिएको हो ।
घरधुरी सर्वेक्षणका लागि फारम त्यार भएपछि नगरप्रमुख शम्भू साह कानूले मंगलबार आफ्नो कार्यकक्षमा पत्रकार सम्मलेनको आयोजन गरी नगरपालिकाभित्र बसोबास गर्ने नगरबासीको घरधुरी सर्वेक्षण गर्न लागिएको जानकारी दिए । सो सर्वेक्षणका लागि आवश्यक तयारीसमेत भइसकेको उनले बताए ।
पत्रकार सम्मलेनमा नगरप्रमुख साहले नगरबासीलाई चाहिने सेवा प्रवाह सहजरुपमा पुर्याउन सकिने लक्ष्य राखेर नगरपालिकाबाट विस्तृतरुपमा सर्वेक्षण गर्न लागिएको बताए । उनले भने, ‘घर नम्बरसमेतको तथ्यांक संकलन गरिने छन्, यसले गर्दा कुन घरमा के कस्ता समस्या आएको भन्ने सहजैरुपमा पत्ता लगाउन सकिनेछन ।’
शिक्षा र स्वास्थ्यको अवस्था, परिवार संख्या, रोजगारी अवस्था, बेरोजगारी संख्या, जातजाती, धर्म, लिंग, बाटोको अवस्था, पेशा तथा व्यवसाय, घर र चुल्होको प्रकार, विद्युतको सुविधा, विद्यालय नजाने बालबालिकाको अवस्थासहित सर्वेक्षकले घरमुलीसँग सोधेर अभिलेखीकरण गर्ने मेयर साहले बताए । मेयर साहले एक महीनाभित्र सर्वेक्षण पूरा हुने लक्ष्य राखिएकाले सर्वेक्षक घरमा जाँदा यथार्थ विवरण उल्लेख गरादिन सम्पूर्ण नगरबासीसँग आग्रह गरेका छन् ।
रौतहट
प्रतिक्रिया