भाटा बाबाको दर्शन गरेर फर्किने क्रममा ट्रयाक्टर दुर्घटनामा चालकको मृत्यु

पर्सा । जिल्लाको धोबिनी गाउँपालिका–२ भिखमपुर गाउँ नजिक दर्शनार्थी बोकेको प्रदेश २–०३–००१ त ५३३९ नम्बरको ट्रयाक्टर नहरमा पल्टँदा ट्रयाक्टर चालकको घटनास्थलमा मृत्युु भएको छ । ट्रयाक्टरमा सवार आधा दर्जनभन्दा बढी दर्शनार्थीहरू सामान्य घाइते भएका छन् । पटेर्वासुगौली गाउँपालिकाको सोनवर्षा रामभौरी भाथा दुधेश्वरनाथ बाबाको दर्शन गरी फर्किरहेको अवस्थामा जानकी टोलादेखि हरिहरपुर जाने नहर बाटोमा ट्रयाक्टर पल्टँदा चालकको घटनास्थलमा नै मृत्यु भएको छ ।

प्रत्यक्षदर्शीहरूका अनुसार दर्शनार्थी बोकेको ट्रयाक्टर तेज गतिमा रहेका कारण बाटोमा बालबालिका र बाख्रा बचाउन खोज्दा ट्रयाक्टर अनियन्त्रित भई नहरमा पल्टिँदा चालकको घटनास्थलमा मृत्युु भएको छ । घटनाको सूचना पाउने बित्तिकै घटनास्थलमा इलाका प्रहरी कार्यालय जानकी टोल र इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक राजन ढकालको नेतृत्वमा रहेको टोली पुगी नहरको पानीमा ट्रयाक्टरमा दबिएको चालकको शव जेसिबीबाट तानेर निकालिएको प्रहरीले जनाएको छ ।

मृतक चालक छिपहरमाई गाउँपालिका–२ टिहुकी गाउँ निवासी ५० वर्षीय प्रेम मुखिया बिन रहेको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक राजन ढकालले जनाएका छन् । प्रहरीले मृतकको शव पोस्टमार्टमका लागि नारायणी अस्पताल पठाएको छ । ट्रयाक्टरमा २२ जना सवार रहेकोमा आधा दर्जनभन्दा बढी दर्शनार्थीहरू सामान्य घाइते भएका थिए ।

प्रतिक्रिया