काठमाडौँ । ‘लजाएर लुकी लुकी’ प्रताप दास र प्रतिमा केसीको स्वरमा गीत सिएल शर्माले लेखेका हुन् । रमेश कोइरालाको सो गीतमा सिएल शर्माको संगीतले अझ मनमोहक बनाएको छ ।
नेपाली संगीतको उर्वरभूमि बागलुङ । त्यसै उर्वरभूमिमा जन्मिएर छोटो समयमा नेपाली संगीतमा स्थापित नाम प्रतिमा । साँचोभन्दा हाइफाइको दुनियाँभन्दा बढी कर्ममा रमाउने उनका स्वर भरिएका गीत साँच्चै धेरै मन पराइएका छन् । उनलाई लेखकले मन पराए । संगीतकारले मन पराए र उनको स्वर दर्शकले पनि त्यत्तिकै मन पराए ।
राज पौडेलसँग मिलेर गाएको ‘भन्देऊ हजुर’ त्यत्तिकै सफल गीत । सिएल शर्माको संगीत रहेको सो गीत रोहित घिमिरेले लेखेको हुन् । गीतको एरेन्ज सञ्जीव बराइलीले गरेका थिए ।
यस्ता ५ दर्जनभन्दा बढी सुमधुर गीतमा स्वर भरेकी प्रतिमा सानैमा घरको वातावरणले नै संगीतमा लागेकी थिइन् । एकदिन उनले गाउँको माघे संक्रान्ति कार्यक्रममा स्वरूप राज आचार्यको जिन्दगीको सवाल गीत गाउने कुरामा बाजीसमेत मारेकी थिइन् । यो एउटा घटना हो । बाल्यकालमा उनका यस्ता यादगार घटना अझ धेरै छन् ।
बागलुङबाट काठमाडौँ आएकी उनको जीवनमा बिबी अनुरागीको ठुलो भूमिका रह्यो । अनुरागीले उनको संगीत मोह देखेर चण्डीप्रसाद ढकालसँग संगीत सिक्न गइन् । त्यसपछि उनी पुगिन् मनोजराज सिवाकोटी कहाँ । सिवाकोटीसँग १ वर्ष संगीत सिकेपछि उनले गीत गाउन इच्छा सिएल शर्मासँग व्यक्त गरिन् ।
त्यसपछि उनले ‘माया लाइसक्यौ’ बोलको गीत प्रवीण बेडवालसँग मिलेर गाउने मौका पाइन् । सिएल शर्माको गीतमा उनी आफैँले संगीत भरेका हुन् । सञ्जीव बराइलीले यसको एरेन्ज गरेका थिए ।
त्यसपछि उनको सांगीतिक यात्राले धेरै लामो यात्रा तय गरेको हो । त्यसपछि उनले ‘भन्देऊ हजुर’मा मौका पाइन् । उनले वीरेन्द्र बेसोहीसँग मिलेर गाएको ‘मुटुको अप्ठेरो’ पनि त्यत्तिकै सफल भएको थियो । विष्णु भट्टको सो गीतमा उनी आफैँले संगीत भरेका हुन् । यसमा ओम सुनारले एरेन्ज गरेका हुन् ।
सानो उमेरदेखि नै उनी अन्जु पन्तको फ्यान हुन् । अनि मिल्दो जस्तो शैलीको गीत नै उनलाई गाउन धेरै मन पर्ने । सांगीतिक जीवनलाई अघि बढाउने क्रममा उनले खाली खुट्टा बोलको गीत गाउने अवसर पाइन् ।
खाली खुट्टा भने उनले नेपाल आइडलकै अर्का उत्पादन किरण भुजेलसँग मिलेर गाएकी हुन् । सिएल शर्माले लेखेको सो गीतमा नागेन्द्र श्रेष्ठको संगीत छ । यसै गरी सञ्जीव नेपालीको एरेन्ज छ ।
हिमाल घर्तीसँग गाएको तिमिसँगै पनि त्यत्तिकै मिठो छ । सो गीतलाई सिरेस थापाले लेखेका हुन् । हिमालले लेखेको सो गीतमा उनकै संगीत छ । छोटो समयमा प्रतिमाले साँच्चै सुमधुर गीत गाइन् । साँचो भन्नुपर्दा अन्य कलाकारले स्थापित गर्न जत्ति संघर्ष गर्नुपर्छ, उनले परेन । यसरी छोटो समयमा प्राप्त सफलताको मुख्य श्रेय उनी सिएल शर्मा र बिबी अनुरागीलाई नै दिन चाहन्छिन् ।
नेपाली संगीतमा उनले केही महत्वपूर्ण अवार्ड पनि नपाएकी होइनन् । ‘सानो बाबु’को लागि उनले साधना म्युजिक अवार्ड पाइसकेकी छिन् । उमेश भट्ट र केकी अधिकारीको अभिनय रहेको सो गीतमा प्रतिमाको साथमा प्रवीण बेडवालको स्वर छ । रोहित घिमिरेले लेखेको सो गीतमा पनि सिएल शर्माको संगीत छ ।
‘हे माया तिमी कहाँ छौ’, बोलको गीत श्याम गिरीले लेखेका हुन् । गीतमा भद्र ओलीको संगीत छ । सो गीतका लागि काब्या म्युजिक अवार्ड पाएकी थिइन् । सो गीत उत्कृष्ट गीतसमेत ठहर भएको थियो । ‘मुटुको कप्टेरो’का लागि उनले डायमन्ड म्युजिक अवार्ड पनि पाइन् ।
नेपाल आइडलका कलाकारसँग प्रतिमाको अनौठो साइनो जोडियो । प्रवीण बेडवाल, प्रताप दास र किरण भुजेलपछि अबको उनको यात्रामा सहयात्री बनेका छन्, करण परियार । करण र प्रतिमाको स्वरमा भीम पौडेलले लेखेको तथा भद्र ओलीको संगीत रहेको ‘तिमी मेराे जीवन’ बोलको गीत बजारमा आउँदै छ ।
प्रवीण बेडवाल र उनको ‘बन्धकी’ पनि आउँदै छ । साथमा ‘बाँचुन्जेल’ पनि आउँदै छ । यी गीत सफल हुनेमा उनको विश्वास छ । पहिले गाएका ‘माया लाइसक्यौ’, ‘भन्देऊ हजुर’, ‘संसारको चाल’ ‘मुटुको कप्टेरो’ लगायतमा उनी त्यत्तिकै सन्तुष्ट छिन् । यो छोटो समयमा पाएको महत्वपूर्ण सफलतामा रमाएकी उनले संगीतमा नै भविष्य देखेकी छिन् । साथमा उज्ज्वल जिन्दगीको सपना पनि । उनको मिठो स्वर र लगनले नेपाली संगीतमा एउटा प्रतिभाशाली गायिकाको रूपमा स्थापित हुने कुरामा शंका गर्नुपर्ने कुनै ठाउँ छैन ।
प्रतिक्रिया