मुम्बई । एकता कपुरको चर्चित शो ‘कसौटी जिन्दगी की’ का स्क्रिप्ट लेखक महेश पाण्डेलाई मुम्बई प्रहरीले पक्राउ गरेको छ । निर्माता जतिन सेठीसँग २ करोड ६५ लाख ठगी गरेको आरोपमा उनलाई शुक्रबार पक्राउ गरिएको हो ।
पाण्डेलाई अदालतमा पेस गरी न्यायिक हिरासतमा पठाइएको प्रहरी स्रोतले जनाएको छ । यस सम्बन्धमा अम्बोली प्रहरी चौकीका वरिष्ठ प्रहरी अधिकृतले भने, ‘जतिन सेठीले दिएको उजुरीका आधारमा महेश पाण्डेलाई पक्राउ गरिएको हो । जतिन सेठीले महेश पाण्डेलाई २ करोड ६५ लाख ऋण दिएको आरोप लगाएका छन् । तर महेश पाण्डेले पैसा फिर्ता गरेनन् ।’
पाण्डेको गिरफ्तारीको बारेमा वकिल रिजवान सिद्दिकीले भने, ‘महेश पाण्डे, उनकी श्रीमती मधु महेश पाण्डे र परिवारका अन्य सदस्यहरू विरुद्ध आईपीसीको धारा ४०६ र ४२० अन्तर्गत मुद्दा दर्ता गरिएको छ।’ महेश पाण्डेले टिभीका लागि धेरै कार्यक्रम लेखेका छन् । उनले ‘कहानी घर घर की’ बाट आफ्नो करियर सुरु गरेका थिए । त्यसपछि उनले ‘कसौटी जिन्दगी की’, ‘कसम से’ जस्ता धेरै शो लेखे ।
महेश पाण्डेले धेरै भोजपुरी फिल्मको निर्माण र निर्देशन पनि गरेका छन् । जसमध्ये एउटा फिल्म ‘गब्बर सिंह’ पनि थियो । यो फिल्म एकता कपुरले निर्माण गरेकी हुन् । यो फिल्म ‘शोले’ को भोजपुरी रिमेक थियो ।
प्रतिक्रिया