मुख्यमन्त्री कँडेलले भोलि विश्वासको मत लिँदै

काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले भोलि सोमबार विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिनेसम्बन्धी पत्र मुख्यमन्त्री कँडेलले शनिबार प्रदेशसभा सचिवालयमा दर्ता गराएका छन् ।

सोमबार विश्वासको मतसम्बन्धी प्रयोजनका लागि व्यवस्था मिलाउन संसद सचिवालयलाई पत्राचार गरिएको मुख्यमन्त्री कँडेलले जानकारी दिए । ४० सदस्यीय प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न मुख्यमन्त्री कँडेललाई कम्तीमा २१ सांसदको समर्थन आवश्यक पर्छ । कर्णाली प्रदेशसभामा नेपाली कांग्रेसका १४, एमालेका १०, माओवादी केन्द्रका १३ एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र १/१ सांसद छन् ।

एमाले र कांग्रेसको मत जोड्दा २४ सांसद पुग्ने भएकाले कँडेलले विश्वासको मत पाउने निश्चित देखिएको छ । संघीय सत्ता समीकरण फेरबदल भए पनि कर्णालीमा एमालेका कँडेल मुख्यमन्त्री कायम छन् । उनी चैत २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए । संघमा सत्ता समीकरण बदलिएसँगै माओवादी केन्द्रले साउन ७ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कँडेलले विश्वासको मत लिन लागेका हुन् ।

प्रतिक्रिया