काठमाडौँ । बरिष्ठ गायक दीप श्रेष्ठको स्वरमा रहेको गीत ‘एक्लो भएछु’ सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गीतमा डा. बिनुबाबा अर्यालको शब्द र योगेन्द्र उपाध्यायको संगीत रहेको छ ।
बुढेसकालमा एक्लो जीवन जीउन बाध्य ब्यक्तिको कथा भनिएको गीतको भिडियोमा बरिष्ठ नायक शिव श्रेष्ठको अभिनय रहेको छ । सुरज तामाङको निर्देशन रहेको भिडियोमा श्रेष्ठसँगै नायिका अनु शाह र बालकलाकार देवासिस निरौलाको अभिनय, बिशाल थापाको छायांकन र ज्वाला राईको सम्पादन रहेको छ । गीतको अडियो तथा भिडियोलाई गीतकार डा.अर्यालले उत्पादन गरेकी हुन् ।
कार्यक्रममा गीतमा आवद्ध श्रष्टा तथा कलाकारसहित रोयल्टी संकलन समाज नेपालका कार्यवाहक अध्यक्ष चन्द्र शर्मा, संगीतकार संघ नेपालका अध्यक्ष चेतन सापकोटा, चलचित्र पत्रकार संघका उपाध्यक्ष कुबेर गिरी, पिम नेपालका उपाध्यक्ष शंकर थापा स्माइललगायतका अतिथिहरूले संयुक्त रूपमा गीत विमोचन गरेका हुन् ।
संगीतकार योगेन्द्र उपाध्यायले शब्दको भाव अनुरूपकै संगीत तयार पार्ने आफ्नो इमानदार प्रयास रहेको जनाए । निकै छानेर मात्र गीत गाउने बरिष्ठ गायक श्रेष्ठले आफ्नो कम्पोजलाई स्वीकारेर गीत गाइदिँदा राम्रै काम गरेछु भनेर आत्मसन्तुष्टि मिलेको समेत उनको भनाइ छ । गीतकार डा. अर्यालको भावनालाई मर्न नदिन आफूले सोही अनुरूप अडियो र भिडियोमा काम गरेको उनको तर्क छ ।
कार्यक्रममा बोल्दै बरिष्ठ गायक श्रेष्ठले गीतको शब्द र संगीतले आफूलाई छोएका कारण गीत गाउन तयार भएको बताएका छन् । आफ्ना अरू गीतभन्दा यो गीत केही फरक र विशेष रहेको भन्दै उनले त्यसको श्रेय संगीतकार उपाध्यायलाई दिए । उनले संगीतकार उपाध्यायले आफूलाई फरक शैलीमा गाउन सिकाएको समेत बताए । यस्तै गीतका शब्दमै एउटा पूर्ण कथा रहेको भन्दै उनले शब्दको भावलाई मर्न नदिन सबैको मिहिनेत उत्तिकै प्रसंसनीय रहेको जनाए ।
यस्तै बरिष्ठ नायक शिव श्रेष्ठले सुरुमा आफू दीप श्रेष्ठको गीत भनेर अभिनय गर्न तयार भए पनि गीत सुनिसकेपछि भने साच्चिकै मन छोएको बताएका छन् । भिडियोमा अभिनय गर्दै गर्दा कतिपय ठाउँमा आफू साच्चिकै भावुक भएको उनको प्रतिक्रिया छ । उनले भिडियो निर्देशक तामाङको निर्देशकीय कौशलताको प्रसंसा गर्दै अभिनेत्री शाहको अभिनयको पनि आफू प्रसंसक भएको बताए । गीतकार डा.अर्यालको मुटु छुने शब्दमा संगीतकार योगेन्द्र र गायक श्रेष्ठले प्राण भरेको उनको भनाइ छ ।
यस्तै अभिनेत्री शाहले बरिष्ठ गायक श्रेष्ठको स्वर रहेको गीतमा बरिष्ठ नायक श्रेष्ठसँग स्कृन सेयर गर्न पाउनु आफ्ना लागि खुसीको कुरा भएको बताइन । गीतको अडियो निकै बलियो लागेरै भिडियोमा काम गरेको उनको भनाइ छ ।
कार्यक्रममा बोल्दै गीतकार डा.अर्याललले गीतको रचना गर्भबारे प्रकाश पारेकी थिइन । उनले वृद्ध उमेरमा एक्लो जीवन कसैले भोग्न नपरोस् भन्ने सन्देश दिन यो गीत तयार पारेको जनाइन् ।
यस्तै संगीतकार संघ नेपालका अध्यक्ष सापकोटाले गीतकार डा.अर्याल, संगीतकार उपाध्याय र गायक श्रेष्ठले नेपाली संगीतलाई थप धनी बनाएको बताएका छन् । उनले गीतले वर्तमान समयको वास्तविकता बोलेको जनाए । यस्तै पिम नेपालका उपाध्यक्ष संगीतकार थापाले गीतले दिएको सन्देश सबैले मनन् गर्नसके कोही कहिल्यै एक्लो हुन नपर्ने बताए ।
कार्यक्रममा राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष नमराज ढुंगाना, संगीतकार संघका महासचिव बसन्त सापकोटा, राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानका अध्यक्ष राजेन्द्र बजगाई, ब्युटी पेजेन्ट एसोसियसनका महासचिव निशु कान्त झा, फिल स्टुडियोका निर्देशक कुमार केसी सहित गीतमा आवद्ध सम्पूर्ण कलाकर्मीसहित विभिन्न गायकगायिकाको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया