जलेश्वर । सागरनाथ वन विकास परियोजनाका जंगल काठ तस्कर र वनकर्मीबीच झडप भएको छ । काठ तस्करको संगठित गिरोहका कारण रातको समय पनि वन क्षेत्र अशान्त बन्दै गएको छ ।
गौशाला–१२ लक्ष्मीनियास्थित परियोजनाको स्टिल टावर उत्तरको ७ नम्बर ब्लक र अघिल्लो दिन गौशाला–८ कुशुमाडीको प्लट नं ३ नजिकको ग्रिनबेल्टमा घटेका त्रासदीपूर्ण घट्नाले वन जंगलको सुरक्षालाई चुनौतीपूर्ण बनाएको छ ।
माइस्थानस्थित परियोजनाको हात्तीलेट वन व्यवस्थापन शाखाप्रमुख विद्यासागर कर्णले दिएको जानकारी अनुसार उत्तरतर्फको ग्रिन बेल्टमा २ वटा बत्ती बलेको देखेपछि रेन्जर रोहित चौधरीको कमान्डमा खटेको ११ जना परियोजनाकर्मीको टोलीले घेराबन्दी गरी सर्च गर्दा शंकास्पद अवस्थामा बा ५ च ४३१ नम्बरको बलेरो गाडी फेला पारेको थियो ।
बलेरोको तलासी गर्दा त्रिपालले छोपेको करिब ५५ क्युफिट बराबरका सालका १६ थान काठ भेटिएपछि गस्तीमा रहेका परियोजना कर्मीले बलेरो नियन्त्रणमा लिएका थियो । यस्तो अवस्थामा जंगली क्षेत्रको बाटो हुँदै दक्षिणबाट केही मोटरसाइकल उत्तरतर्फ लागेपछि मध्यरातको बेला त्रास र संशय थपेको गस्तीमा रहेका परियोजनाकर्मीले बताएका छन् ।
लामो प्रयासपछि परियोजनाले काठ र बलेरो नियन्त्रणमा लिएको जनाएको छ । घट्नामा संलग्नहरूको पहिचान र खोजी भइरहेको परियोजनाको वन व्यवस्थापन शाखाका फरेस्टर प्रेमप्रसाद उपाध्यायले बताए । यसअघि परियोजनाकै गौशाला–८ कुशुमाडीको जंगलस्थित प्लट नं ३ मा काठ तस्कर र वनकर्मीबिच घम्साघम्सी पर्दा ३ जनालाई नियन्त्रणमा लएको वनकर्मीको भनाइ छ ।
राति करिब १० बजेतिर फरेस्टर उपाध्यायको कमान्डमा खटी गएको गस्तीले ४ वटा साइकलमा २ थान सालको काठ चोरी गरी लाँदै गरेको अवस्थामा पक्राउ गर्न खोज्दा झडप परेको बताइएको छ । परियोजनाकर्मीले गौशाला–८ भन्टावारीका अभिषेक साह, रामकिसुन महतो र रामबाबु शर्मालाई नियन्त्रणमा लिनुका साथै ४ दशमलव ५८ क्युफिट बराबरको २ थान सालका काठ र ४ थान साइकल बरामद गरेको परियोजनाको हात्तीलेट वन व्यवस्थापन शाखाले जनाएको छ ।
दोहरो झडपछि दुवै ठाउँबाट करिब ५८ क्युफिट साल जातको १८ थान काठसहित ३ जना तस्कर, ४ थान साइकल र एउटा बलेरो पिकअप नियन्त्रणमा लिएको माइस्थानस्थित परियोजनाका हात्तीलेट वन व्यवस्थापन शाखा प्रमुख विद्यासागर कर्णले बताए ।
पक्राउ परेका तीनै जनालाई माइस्थान सबडिभिजन कार्यालयले न्यायिक हिरासतमा राखी वन ऐनअनुसार कारबाही अघि बढाएको सबडिभिजन प्रमुख कृष्णकान्त पटेलले बताए । वनकर्मीकाअनुसार जंगली क्षेत्रमा झडप हुने क्रम रोकिएको छैन ।
प्रतिक्रिया