मुख्यमन्त्री सिंहद्वारा बगर जमिनको स्थलगत निरीक्षण

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री सतिस सिंहले ७ हजार बिघा बगर जमिनको स्थलगत निरीक्षण गरेका छन् । धनुषाको कमला नगरपालिकामा रहेको ६/७ हजार बिघा बगर जमिनको मुख्यमन्त्री सिंहले स्थलगत निरीक्षण गरेका हुन् ।

बगर खेतीयोग्य जमिनमा प्रदेश सरकारबाट कृषि उत्पादन गर्ने उद्देश्यले मुख्यमन्त्री सिंह नेतृत्वको संयुक्त टोलीले स्थलगत निरीक्षण गरेको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । निरीक्षणपछि मुख्यमन्त्री सिंहले आफ्नो नेतृत्वको सरकारले बगर खेतीयोग्य जमिनको सदुपयोग गर्ने घोषणा गरेका छन् ।

जम्बो टोली लिएर निरीक्षण गरेका मुख्यमन्त्री सिंहले स्थानीयसँग गरेको अन्तरक्रियामा आफ्नो नेतृत्वको सरकारले कमला नगरपालिकामा रहेको बगर खेतीयोग्य जमिनमा द्रुत गतिमा काम अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् ।

उनले भने, ‘यो जमिनमा के कस्ता खेती गर्न सकिन्छ, त्यसको डिपीआर तयार गर्छांै । त्यहीकारणले सबै क्षेत्रका विज्ञ लिएर पनि आएका हौँ । डिपीआर तयार भइसकेपछि मल्टी उद्देश्यले कामको थालनी हुनेछ । तर, यो चाँडै सुरु हुनेछ ।’

सबै सरकारले कमलाको बगर खेतीमा काम गर्ने आश्वासन दिए पनि आफ्नो नेतृत्वको सरकारले त्यसलाई परिणाम आउने गरी काम गरेर देखाउने उनले आश्वासन दिए ।

सरकारले लगानी गर्नका लागि नै निरीक्षण गरेको मुख्यमन्त्री सिंहको भनाइ छ । प्रदेश सरकारले बगर खेती योग्य जमिनमा कृषिलाई लक्षित गरेर कामको सुरुआत गर्ने योजना बनाएको छ ।

मुख्यमन्त्री सिंहले बुधबार गरेको बगर खेतीयोग्य जमिनको अवलोकनपश्चात् पूरै योजना तयार गरिएको स्थानीयलाई सुनाए । उनले कमलाको बगरमा ताल बनाउन, माछापालन, बाख्रापालन, भैँसीपालन, केरा खेतीजस्ता मल्टी प्रपजका लागि खेती गरिने बताएका छन् । ताल बनाइयो भने वाटर लेभल पनि बढ्ने भएकाले बगर खेतीयोग्य जमिनको सदुपयोग गर्न अपरिहार्य भएको उनको ठहर छ ।

त्यसका लागि स्थानीय पालिकादेखि सबै सम्बन्धित संस्थाहरूले सहयोग गर्न आवश्यक रहेको उनको भनाइ छ । सबैको समन्वयमा काम भयो भने उपल्बधीमूलक हुने उनको तर्क छ । स्थलगत निरीक्षणमा कृषि मन्त्री जनार्दन सिंह क्षेत्रीसहित सबै क्षेत्रका विज्ञहरूको सहभागिता थियो ।

जहाज दुर्घटनाप्रति मुख्यमन्त्री सिंहद्वारा दुःख व्यक्त
मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले सौर्य एयरलाइन्सको जहाज दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

बुधबार बिहान करिब सवा ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडान भरेको सौर्य एयरलाइन्सको जहान दुर्घटना भएको थियो । दुर्घटनामा क्यापटेनबाहेक सबै १८ जनाको निधन भएको छ ।

घटनाप्रति दुःख व्यक्त गर्दै मुख्यमन्त्री सिंहले दिवंगत भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् । मुख्यमन्त्री सिंहले दुर्घटनाको कारण पहिचान गरी आगामी दिनमा यस्तो दुर्घटना हुन नदिनतर्फ सम्बन्धित निकायको ध्यानाकर्षणसमेत गराएका छन् ।

प्रतिक्रिया