आर्थिक अभावमा उपचार नहुँदा १ महिलाको हातै गुम्ने अवस्था

जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिका–४, वीरेन्द्र बजारमा बस्दै आएकी २४ वर्षीया रेणु परियारले आर्थिक अवस्था कमजोर भएकै कारण समयमै उपचार गराउन नपाउँदा एउटा हात गुम्ने अवस्था भएको छ ।

खाना पकाउने क्रममा असार २८ गते बिहान आगलागी हुँदा रेणुको अनुहारको ७० प्रतिशत भाग र देब्रे हात गम्भीर रूपमा जलेको थियो । हाल उनको उपचार काठमाडौँको कीर्तिपुर अस्पतालमा भइरहेको छ ।

गत सोमबार सामाजिक अभियन्ता उज्वल विक्रम थापाको समन्वयमा रेणुलाई जनकपुर प्रादेशिक अस्पतालबाट थप उपचारका लागि कीर्तिपुर पठाइएको थियो । थापाका अनुसार, समयमा राम्रो उपचार नपाउँदा जलेको देब्रे हात काट्नुपर्ने अवस्था आएको छ । थापाको समन्वयमै कीर्तिपुर अस्पतालमा रेणेको निःशुल्क उपचार भइरहेको छ । चिकित्सकले देब्रे हातको रेणुको हत्केला काट्नुपर्ने अवस्था आएको सामाजिक अभियन्ता थापाले बताए ।

मोरङको संसारे पत्थरी नगरपालिका–४ की स्थायी बासिन्दा परियार, ५ वर्षदेखि वीरेन्द्र बजारमा पति जगत परियारसँग भाडाको कोठामा बसेर लुगा सिलाई गर्दै जीविकोपार्जन गरिरहेकी थिइन् । उनका ५ वर्षीया छोरी आरसु पनि छिन् ।

आगलागीपछि रेणुलाई जनकपुर प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । तर आर्थिक अभावका कारण समयमा उचित उपचार पाउन सकिनन् । अस्पतालले थप उपचारको लागि बाहिर लग्न सुझाव दिए पनि आर्थिक विपन्नताले उनको परिवारले सकेन । अलपत्र परेको अवस्थामा परेको पत्रकार शैलेन्द्र महतो क्रान्तिले थाहा पाएपछि सामाजिक अभियन्ता थापा र अन्य सहयोगीसँग समन्वय गरी उनलाई कीर्तिपुर अस्पताल पठाएका थिए ।

अस्पतालमा कुरुवा बसेका पति जगत र छोरी आरसुलाई खान बस्न तथा रेणुको लामो उपचारका लागि आर्थिक समस्या भएकाले सहयोगको आवश्यकता छ । रेणु पहिलेदेखि नै छारे रोगबाट पीडित थिइन् । आर्थिक अभावका कारण छारे रोगको उचित उपचार नपाउँदा खाना पकाउने क्रममा अचानक रोगले च्यापेपछि आगलागीमा परेकी थिइन् ।

प्रतिक्रिया