मध्यपाषण युगको हतियार कारखानाबारे मुख्यमन्त्रीको चासो

महोत्तरी । जर्मन नागरिक गुड्रन कर्विन्सले महोत्तरीमा फेला पारेको मध्यपाषण युगको हतियार कारखानाको विषयमा मधेस प्रदेश सरकारले चासो देखाएको छ ।

जिल्लाको बर्दिवासस्थित पाटुमा रहेको यस ठाउँको थप अध्ययन गरी पुरातात्विक पर्यटन केन्द्रकोरूपमा विकास गर्न गुरुयोजना वनाउने मुख्यमन्त्री सतिश कुमार सिंहले बताए ।

होटल तथा पर्यटन व्यवसायी माहासंघ मधेस प्रदेशले आयोजना गरेको ‘घुमौँ मधेस, बुझौँ मधेस’ भन्ने कार्यक्रममा स्थलगत अनुगमनको क्रममा मुख्यमन्त्री सिंहले १० हजार वर्ष पहिला मानवको चहलपहल रहेको विषय निक्कै रोचक रहेको प्रतिक्रिया दिए ।
पुरातात्विक महत्वका हिसाबले महत्वपूर्ण भएको बताउँदै यसलाई संरक्षण गर्न स्थानीय सरकारले समेत योजना बनाउनुपर्नेमा मुख्यमन्त्री सिंहले जोड दिए ।

सन् १९८५ को दशकमा १० वर्ष लगाएर कर्विन्सले पाटुको अध्ययन गरेकी थिइन् । रातो माटोले पुरिएको अवस्थामा हजारौँ मध्य पाषण युगका हतियारहरू भेटिएपछि यो नै मध्यपाषण युगको हतियार कारखाना भएको निष्कर्ष निकालेकी थिइन् । जुन युग १० देखि १२ हजार वर्ष पहिलाको मानिन्छ ।

प्रतिक्रिया