दुधेश्वर महादेवमा दर्शनार्थीको भिड

पर्सा । पर्सा जिल्लाको ऐतिहासिक एवं मुख्य धार्मिक पर्यटन स्थलका रूपमा रहेको भाथा बाबा दुधेश्वर महादेव मन्दिरमा साउनको पहिलो सोमबारको दिन हजारौ श्रद्धालु भक्तजनले पुजापाठ गरेका छन् । श्रद्धालुले हर हर महादेवको नारा लगाउदै जलअभिषेक गर्दै फुल बेलपत्र र प्रसाद चढाएर पुजापाठ गरे ।

जिल्लाको पटेर्वासुगौली गाउँपालिका–२ राभौरी भाथा स्थिति रहेको भाथा धाममा साउन भरी दाग्ने मेला सोमबारबाट सुरु भएको छ । दुधेश्वर महादेव मन्दिरको पूर्वमा पर्सा राष्ट्रिय निकुन्ज आधाभार, उत्तरमा घोडेमासन, पश्चिम सिकारीबस, दक्षिण चर्भैया सोनवर्षा रहेको छ । यहाँ नेपाल भारतका हजारौं भक्तजन श्रद्धालुले रामभौरी भाथाको नजिक खोलाबाट जल भरेर पाँच किलो मिटरको पहाडी झाडीको उचाई हुँदै ल्याएको जल ‘हर हर महादेव, बोल भम, जय शम्भु’ भन्दै भक्तिका साथ चढाउने गर्दछन् । दर्शनार्थीले श्री दुधेश्वर महादेवको मन्दिरमा पुगेर जलअभिषेक, फूल बेलपत्र र प्रसाद चढाएर पुजापाठ गरेका छन् । वर्षोदेखि वर्षको ४ पटक लाग्ने मेला साउन भरी, माघ बसन्त पञ्चमी, फागुन महाशिवरात्री, बैशाख त्रयोदशीमा लाग्ने गर्दछ ।

धार्मिक जन विश्वासकाका साथ पर्सा, बारा, रौतहट, मकवानपुर, चितवन, भारतको बेतिया, मोतिहारी, बगहा, नरकटियागंज, लौरिया, रामनगर, सिकटा, मैनाटाड, इनार्वा, सितामढी लगायत बिभिन्न स्थानका भक्तजन दुधेश्वर महादेव प्रतिको आस्था विश्वास लिएर आउने गरेको दुधेश्वर महादेव मन्दिर समिति अध्यक्ष ज्ञनालाल पटेलले बताए ।

हजारौको संख्यामा नेपाल भारतबाट आएका श्रद्धालु भक्तजनले पुजापाठ गरि आफूले मागेको बर पूर्ण हुने बिश्वास रहेको छ । श्रद्धालुको मनोकामना पूर्ण भएपछी कयौंले दुधेश्वर महादेवको स्थानमा अष्टयाम समेत गराउदै आएका छन् ।

भाथा बाबा दुधेश्वर महादेवको स्थानमा पुग्न पहिला सडकका कारण समस्या थियो । जंगल र पहाडको बाटो अहिले सिंडी बनाएकाले मन्दिरमा पुग्न सहज भएको छ । मन्दिरमा अहिले पनी निर्माण काम भइरहेको र बाटोका साथै यहाँको सुरक्षा व्यवस्था समेत राम्रो भएकाले मन्दिर पुग्न सहज भएको पटेर्वासुगौली गाउँपालिका अध्यक्ष दिनेश कुमार चौधरीले बताएका छन् ।

प्रतिक्रिया