चैते धानको उत्पादनबाट मधेस प्रदेशका किसान उत्साहित

रौतहट । मधेस प्रदेशको अधिकांश जिल्लामा चैत धानको उत्पादन राम्रो भएको छ । गत वर्षको तुलनामा चैते धानखेतीको बिस्तार भएको र उत्पादन पनि राम्रो भएकोले किसानहरू उत्साहित भएका छन् ।

अन्य वर्षको तुलनामा यस वर्ष चैते धानको लागि मौसम अनुकूल रहेकोले धानको उत्पादन राम्रो भएको किसानहरूको भनाइ छ । रौतहटको फतुवा विजयपुर नगरपालिकाका अजय यादवले चैते धानको उत्पादन गत वर्षको भन्दा राम्रो भएको बताएका छन् ।
खेतमा बिजुली पुगिसकेकोले किसानलाई सिँचाइको कुनै झमेला नभएको तथा मौसम अनुकूल हुँदा उत्पादन राम्रो भएको यादवको भनाइ छ । रौतहटको मौलापुर, फतुवा विजयपुर, कटहरिया, देवाही गोनाही, बौधिमाई नगरपालिकाको अधिकांश धानको खेतसम्म बिजुली पुगिसकेकोले सिँचाइको सुविधा राम्रो हुँदा चैते धानखेती फस्टाएको हो ।

बाराको आदर्श कोतबाल गाउँपालिकाका प्रगासप्रसाद साहले आफूले ५ मनभन्दा बढीको कट्ठाको दरले चैते धानको उत्पादन गरेको बताए । मंसिरमा धान ४ मनको कट्ठा मुस्किलले हुने खेतमा किसानहरूले ६ मनको कट्ठाको दरले पनि चैते धानको उत्पादन गरेको साहको भनाइ छ । चैते धानको खेतीमा खासै झन्झट नहुने र उत्पादन पनि राम्रो हुने साहको भनाइ छ ।

चैते धानको खेती गर्दा सबैतिर सुक्खा हुनाले धानको खेतसम्म किसान सजिलै पुग्न पाउँछन् । गोडमेल गर्न र सिँचाइ गर्न कुनै समस्या हुँदैन । साथै मलखाद पनि आवश्यकता र फुर्सदअनुसार तुरुन्त हाल्न सकिन्छ । बाढीको डर नहुने भएकोले किसानहरूले चैते धानखेती ढुक्कले गर्न थालेका छन् । चैते धानको खेती बारा जिल्लामा अत्यधिक हुने गरेको देखिएको छ ।

सर्लाहीमा पनि चैते धानको उत्पादन गत वर्षको तुलनामा धेरै बढी भएको छ । गत वर्षको तुलनामा बढी खेतमा र बढी दरमा उत्पादन भएको किसानहरूको भनाइ छ । सर्लाही जिल्लाको हरेक ठाउँमा गत वर्षको तुलनामा चैते धानखेती राम्रो भएको कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख देवानन्द रायको दाबी छ ।

सर्लाही, रौतहट र बारा जिल्लाको करिब हरेक पालिकामा चैते धानखेती भएको छ । बिजुलीको सिँचाइ सुविधा पुगेको पालिकामा अधिकांश किसानले धेरथोर चैतेधानको खेती गरेका छन् ।
रौतहटमा पनि गत वर्षको तुलनामा यस वर्ष चैतेधानको खेतीमा बिस्तार भएको र अनुकूल मौसम हुँदा धानको उत्पादन पनि राम्रो भएको कृषि ज्ञान केन्द्र रौतहटका कृषि अर्थविद् विप्लव गुप्ताले जानकारी गराएका छन् ।

गत वर्षको तुलनामा यसवर्ष सुक्खा कम भएको तथा मनसुनको वर्षा पनि विगतका वर्षहरूमा भन्दा छिटो भएकोले चैते धानखेतीमा रोग र किराको प्रकोप कम देखिएको तथा उत्पादन राम्रो भएको किसानहरूको भनाइ छ । नेपाललाई धानको उत्पादनमा आत्मनिर्भर बनाउनका लागि चैते धानखेतीले निकै सहयोग पुर्याउने बुद्धिजीवीहरू बताउँछन् । चैते धानखेती र हरियो तरकारी उत्पादन बढाउनका लागि सरकारले खेतखेतमा बिजुली र किसानको हात हातमा सिँचाइ अभियान सञ्चालन गर्नुपर्ने कृषिसित सम्बन्धित बुद्धिजीवीहरूको सुझाव रहेको छ ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया