सर्लाही । पूर्वप्रधानमन्त्री झलनाथ खनालको नाममा सर्लाहीको लालबन्दीमा स्थापित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भ्रष्टाचारमा दोषी ठहर भएका मधेस प्रदेशका पूर्व अर्थमन्त्री विजयकुमार यादवलाई ९ वर्ष एक महिना जेल सजाय तोकिएको छ ।
विशेष अदालतले दोषी ठहराएका यादवलाई ३ करोड ५९ लाख ६६ हजार ६०० जरिवाना हुने फैसला सुनाएको हो । त्यसैगरी विशेष अदालतले उनीबाट २ करोड ३५ लाख २९ हजार ३८६ असुल गर्न पनि आदेश दिएको छ ।
दोषी ठहर भएका झलनाथ खनाल, स्वास्थ्य विज्ञान प्रतिष्ठानका अध्यक्ष रेवतीप्रसाद पन्त, महासचिव नवराज भण्डारी, कोषाध्यक्ष नीरज भण्डारी देवेन्द्र राईलाई जनही ८–८ वर्ष कैद सजाय हुने फैसला भएको छ ।
लालबन्दी नगरपालिकाका तत्कालीन प्रमुख मानबहादुर खड्का र मधेस सरकारका तत्कालीन सचिव प्रेमकुमार श्रेष्ठले भने सफाइ पाएका छन् ।
आर्थिक मामिलामन्त्री यादव र लालबन्दी नगरपालिकाका प्रमुख मानबहादर खड्काले कानुनविपरीत झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग साझेदारी गरेको र बदनियतपूर्वक १७ करोड ९८ लाख ३३ हजार निकासा गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० असोज २१ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । सो प्रकरणमा आयोगले झण्डै १८ करोड रुपैयाँ मागदाबी गरेको छ ।
प्रदेश सरकारले आर्थिक वर्ष २०७६–०७७ को बजेट वक्तव्यमा सर्लाहीको लालबन्दीमा रहेको प्रतिष्ठानसँग मिलेर सर्पको विष संकलन, प्रशोधन र उत्पादन केन्द्र स्थापना गर्ने जनाएको थियो ।
खनालको नाममा स्थापना भएको सो प्रतिष्ठानका बारेमा नेता खनाल भने यति बेला बेखबर रहेको उनी निकट एक नेताले बताए ।
प्रतिक्रिया