मधेस ब्युरो । असारको तेस्रो हप्ता बितेर चौथो हप्ता चलिरहेको भए पनि मधेस प्रदेशमा खासै रोपाइँ हुन सकेको छैन । गत २ दिन राम्रोसित पानी परेकोले किसानहरू दिनभर रोपाइँमा ब्यस्त हुन पुग्दा रोपाइँको प्रतिशतमा केही वृद्धि भएको हो ।
मधेस प्रदेशमा भदैया र मंसिरा गरी २ किसिमको धानको रोपाइँ धमाधम हुन थालेको छ । ढिलो गरी पानी परेको हुनाले भदैया धान पनि ढिलो हुन पुगेको हो । सामान्यतया असारको तेस्रो हप्तासम्म भदैया धान सिध्याइसक्नुपर्नेमा ढिलो नै भए पनि धमाधम रोपाइँ भइरहेको छ ।
मधेस प्रदेशको रौतहटमा करिब ६ प्रतिशत, सर्लाहीमा करिब ५ प्रतिशत, धनुषामा करिब २० प्रतिशत, महोत्तरीमा करिब २० प्रतिशत, सिराहामा करिब ११ प्रतिशत, सप्तरीमा करिब २५ प्रतिशत र बारामा करिब ७ प्रतिशत धानको रोपाइँ भएको छ । समग्रमा मधेस प्रदेशमा अहिलेसम्म करिब १५ प्रतिशत धानको रोपाइँ भएको विकास निर्देशनालायका प्राविधिक सहायक प्रतिमा यादवको भनाइ छ ।
ढिलो गरी पानी पर्दा धानको बेर्ना तयार नभएको कारण अहिले पानी परे पनि रोपाइँमा ढिलो भएको हो । सिँचाइको सुविधा भएको ठाउँमा भने धानको रोपाइँ धमाधम भइरहेको छ । यसवर्ष विगतका वर्षहरूमा भन्दा पानी बढी पर्ने सम्भावना रहेकोले किसानहरूलाई धानको उत्पादन राम्रो हुने विश्वास रहेको छ । ब्याडमा धानको बेर्ना तयार भइरहँदा पानी परेकोले किसानहरू धेरै खुसी भएका छन् ।
यसैगरी पानी पर्ने हो भने किसानहरूले साउनको पहिलो हप्तासम्म रोपाइँ सिध्याउने विश्वास गरिएको छ । गत वर्ष साउनको दोस्रो हप्तादेखि खेतमा रोपाइँ गर्ने किसिमले पानी परेको थियो ।
गत केही दिनदेखि पानी परिरहेको भए पनि सर्लाही, रौतहट र बाराको खेतमा भने वर्षाको पानी लागेको छैन । केही गैरी खेत, कुलो लाग्ने तथा बाढी पसेको खेतमा मात्र रोपाइँ भएको र अधिकांश किसानले बोरिङ तथा पम्पसेटको सहायताले रोपाइँ गरिरहेका छन् । किसानहरूले धमाधम रोपाइँ गरिरहेको र वर्षाले बेर्ना तयार भइरहेको हुनाले केही दिन किसानलाई अत्यन्तै बेफुर्सदी हुने कटहरियाका किसान रुपेश महतोले बताएका छन् ।
धानको रोपाइँ भइरहँदा किसानहरूमा उत्साह बढिरहेको महतोको भनाइ छ । रोपिसकेको धानमा पनि वर्षाको पानीले राम्रो गरिरहेको र बेर्नालाई पनि राम्रो गरिरहेकोले किसानहरूमा उत्साह बढेको महतो बताउँछन् ।
प्रतिक्रिया