मधेसमा कांग्रेसका ४ मन्त्रीको नाम टुंगो

धनुषा । मधेसमा नेपाली कांग्रेसले मुख्यमन्त्री सतिशकुमार सिंहलाई विश्वासको मत दिएसँगै मधेस सरकारमा सहभागी हुने टुंगो लागेको छ । मुख्यमन्त्री सिंहले शनिबार नै कांग्रेसलाई सरकारमा सहभागी गराउन माओवादी र एकीकृत समाजवादीका मन्त्रीलाई बर्खास्त गरि मार्ग प्रसस्त गरिसकेका छन् ।

यता कांग्रेसले मधेस प्रदेशको सरकारमा भाग पाएपछि ४ जना मन्त्रीको नाम टुंगो लगाएको छ । सरकारमा यसअघि अवसर नपाएका नयाँलाई मात्रै मन्त्री बनाउने मापदण्ड निर्धारण गरी सोहीअनुरूप ४ जना छनौट गरिएको पार्टीका प्रदेश सभापति कृष्ण यादवले बताए ।

मन्त्रीको नाम आधिकारिक रूपमा सार्वजनिक गरिएको छैन । तर, नामको टुंगो भने लागिसकेको एक जना नेताले जनाए । ती नेताका अनुसार धनुषाबाट शेषनारायण यादव, सर्लाहीबाट कौशलकिशोर राय, रौतहटबाट सुनिल यादव र पर्साबाट जनार्दन क्षेत्रीको नाम टुंगिएको छ ।

कांग्रेसले ४ वटा मन्त्रालय पाउने निक्र्यौल भए पनि कुन मन्त्रीलाई कुन मन्त्रालयको जिम्मेवारी तोक्ने भनी आन्तरिक निर्णय भइनसकेको पार्टी सभापति यादवले बताए ।

कांग्रेसले अर्थ मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, खानेपानी, सिँचाइ तथा उर्जा मन्त्रालय र उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय पाउने भएको छ ।

प्राप्त जानकारीअनुसार कांग्रेसका विभिन्न ४ जना नेताको कोटाबाट १–१ जना मन्त्री चयन गरिएको हो । रमेश रिजालको तर्फबाट जनार्दन क्षेत्र, महेन्द्र यादवको तर्फबाट शेषनारायण यादव, कृष्णा यादवको तर्फबाट सुनिल यादव र शेखर कोइरालाको तर्फबाट कौशल किशोर राय मन्त्री पदमा अवसर पाउन लागेको स्रोतको भनाइ छ ।

आनन्दप्रसाद ढुंगानाको तर्फबाट धनुषाका संजयकुमार महतोले यसअघि नै प्रदेशसभाको विषयगत समितिअन्तर्गत कृषि समिति सभापति चयन भइसकेकाले बाँकी नेताले मन्त्रीको कोटा पाएको एक नेताको भनाइ छ ।

प्रतिक्रिया