आदर्श आधारभूत विद्यालयका बालबालिकालाई कपडा वितरण

पाँचथर । फिदिम नगरपालिका–२ मुस्कान चौक निवासी देवीकुमारी मुखीयाले आदर्श आधारभूत विद्यालयका आवासीय २० जना बालबालिकाहरुलाई कपडा वितरण गरेकी छन् । बालबालिकाहरुलाई उनले पाइन्ट, टिसर्टलगायतका रु १२ हजार मूल्य बराबरको कपडा शुक्रबार वितरण गरेकी हुन् ।

पुराना कपडा लगाउनु पर्दा असहज महसुस गरिरहेका बालबालिकाहरुको अवस्था देखेपछि आफूले सहयोग गरेको मुखीयाले सुनाइन् । नयाँ कपडा लगाउन पाएपछि यहाँका बालबालिका धेरै खुसी भएको उनको भनाई छ । शुक्रबार नै फिदिम नगरपालिकाले पनि एक सय किलो चामल, २० किलो आलु आठ–आठवटा डस्ना, कम्बल, झुललगायत प्रदान गरेको छ ।

यसअघि पत्रकार तथा साहित्यकार सन्देश सुब्बाले एक हजार १११ रुपैयाँ नगद सहयोग गरेका थिए । स्थानीय वृद्ध विरबहादुर लिम्बूले पाँच हजार मूल्यको पानी राख्ने हिल टैंक प्रदान गरेका छन् । विरबहादुरले आफूले सरकारबाट पाएको वृद्धभत्ताबाट आधी रकम छुट्याएर विद्यालयलाई सहयोग गरेको बताए ।

प्राप्त भइरहेको सहयोगले असहाय बालबालिकाहरुको आवासका लागि धेरै राहत पुगिरहेको आवासीय कक्षा व्यवस्थापन समिति संयोजक गंगा ईंवा लिम्बूले बताए । संयोजक गंगाले फेरि पनि यस्तै सहयोगको अपेक्षा गर्दै विद्यालयको तर्फबाट दाताहरुप्रति धन्यवाद व्यक्त गरे । यहाँका आवसीय कक्षामा आमाबाबुविहीन तथा अत्यन्तै कमजोर आर्थिक अवस्थाका २० जना असहाय विद्यार्थी अध्ययनरत छन् ।

यसै शैक्षिक वर्षबाट सुरु गरिएको यहाँको आवासिय विद्यार्थीका लागि तत्कालिन अवस्थामा गाँस, बाँस र कपासको समस्या झेल्नु परिरहेको छ । विद्यालयसँग पर्याप्त भवनको अभावले भाडाको घरमा आवासीय कक्षा सञ्चालन गर्नु परिरहेको अवस्था छ । यस कारण बालबालिकाहरुले साँघुरो कोठामा असजिलोका साथ आवासीय सेवा लिनुपरिहेको छ ।

यसमा सहयोग पुर्याउन संयोजक गंगाले सम्बन्धित निकाय र सहयोगी मनहरुसँग सहयोगको अपिल गरेका छन् । केही समयअघि यस विद्यालयको पाँचथरका प्रदेश (ख) सांसद, कोशी प्रदेशका पूर्वअर्थ मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो मौसमले अवलोकन गरेका थिए । त्यस क्रममा सांसद आङ्बोले विद्यालयको व्यवस्थित भवन निर्माणमा सहयोग गर्न सघाउने बचनबद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया