अपांगता भएका व्यक्तिहरुको राष्ट्रिय सर्वेक्षण प्रश्नावलीको मस्यौदा तयार

काठमाडौं । राष्ट्रिय अपांग महासंघ नेपालले अपांगता भएका व्यक्तिहरुको राष्ट्रिय सर्वेक्षण गर्नका लागि प्रयोग गर्ने प्रश्नावलीको मस्यौदा तयार गरेको छ । शुक्रबार अपांग महासंघले राजधानीमा एक कार्यक्रमको आयोजना गरी उक्त प्रश्नावली सार्वजनिक गरेको हो ।

प्रकाशित प्रश्नावलीले अपांगता भएका व्यक्तिहरुको विस्तृत तथ्यांक लिनका लागि २ वटा मोड्युल तयार गरेको छ । जसअन्तर्गत पहिलो मोड्युलले परिवारका कोही सदस्य अपांगता भए–नभएको निर्क्योल गर्नेछ भने दोस्रो मोड्युलले पहिलो मोड्युलको स्क्रिनिङबाट पहिचान भएका परिवारका सदस्यहरुसँग तथ्यांक लिनका लागि प्रयोग गरिनेछ । प्रश्नावलीको दुवै मोड्युलहरु Washington group of Questionnaire को ६ प्रश्नमा आधारित रहेर बनाइएको छ ।

यद्यपि उक्त प्रश्नावलीले नेपाल जस्ता विकासोन्मुख राष्ट्रहरुमा बसोबास गर्ने अपांगता भएका व्यक्तिहरुको पुरा विवरण सहितको तथ्यांक संकलन गर्नका लागि पुर्ण अनुकुल नहुने र यसले विकासात्मक अपांगता र त्यससम्बन्धी समस्या भएका व्यक्तिहरुलाई सम्बोधन नगरिने हुँदा सो विषयलाई सम्बोधन गर्नका लागि समेत दुईवटा थप प्रश्नहरु समावेश गरी प्रश्नावली निर्माण गरिएको कार्यक्रममा जानकारी गराइएको थियो ।

उक्त प्रश्नावलीले अपांगता भएका व्यक्तिहरुको आर्थिक‚ सामाजिक‚ स्वास्थ्यसम्बन्धी सहायक सामग्री प्रयोगको अवस्था‚ परिचयपत्र प्राप्तिको विवरण‚ निर्णय प्रक्रियामा उनीहरुको सहभागिता‚ बैंकिङ सेवा तथा वित्तिय क्षेत्रको उपभोग‚ यौन तथा प्रजनन स्वास्थ्यलगायत अन्य विषयहरुको बारेमा जानकारी लिन ३३९ वटा प्रश्नहरु राखिएको जानकारी गराइएको थियो ।

उक्त प्रश्नावलीलाई अब अपांगता भएका व्यक्तिहरुको विचमा पुर्याइ प्रारम्भिक नमुना सर्वेक्षण गरी प्राप्त पृष्ठपोषणको आधारमा अन्तिम रुप दिइने कुरा समेत जानकारी गराइएको थियो । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को सहयोगमा राष्ट्रिय अपांग महासंघ नेपालमा सञ्चालित परियोजनाअन्तर्गत गरिएको कार्यक्रम राष्ट्रिय अपांग महासंघ नेपाल संघीय कार्यसमितिका सचिव सृजना केसीको अध्यक्षतामा सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक ढुण्डीराज लामिछाने‚ प्रश्नावली तयारी गरेका परामर्शदाता केशवकुमार गौतम र अपांगता अधिकारकर्मी एंव राष्ट्रिय अपांग महासंघ नेपालका सल्लाहकार डा विरेन्द्रराज पोख्रेलले प्रश्नावलीको बारेमा प्रस्तुतिकरण गर्दै सहभागीहरुको जिज्ञासा समेत समाधान गरेका थिए । कार्यक्रममा अपांगताको क्षेत्रमा क्रियाशिल संघसंस्थाका प्रतिनिधिहरु‚ अपांगताको क्षेत्रमा काम गर्ने गैर सरकारी संस्थाका प्रतिनिधिहरु‚ अपांगता अधिकारकर्मीहरु र पत्रकारहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

प्रतिक्रिया