गण्डकी प्रदेशमा आज कांग्रेसका पाण्डे मुख्यमन्त्री नियुक्त हुँदै

काठमाडौं । गण्डकी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे आज मुख्यमन्त्रीमा नियुक्त हुने भएका छन् । सर्वोच्च अदालतको आदेश अनुसार प्रदेश संसदीय दलका नेता पाण्डे आज गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुन लागेका हुन् ।

सोमबार न्यायाधीश कुमार रेग्मी र सुनिल कुमार पोखरेलको इजलासले सोमबार सबैभन्दा ठूलो दलको नेताको हैसियतमा पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको थियो ।

सर्वोच्चले एमाले संसदीय दलका नेता खगराज अधिकारीले लिएको विश्वासको मत गैरसंवैधानिक ठहर गर्दै मुख्यमन्त्रीमा उनको नियुक्तिलाई बदर गरिदिएको हो ।

४८ घण्टाभित्र संविधानको धारा १६८ को उपधारा ३ बमोजिम पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न गण्डकी प्रदेश प्रमुखका नाममा सर्वोच्चले परमादेशको आदेश दिएको हो ।

मंगलबार सार्वजनिक बिदा भएकाले अदालतको पत्र प्रदेश प्रमुख कार्यालयमा नपुगेको बताइएको छ । कार्यालयमा पत्र आएपछि प्रदेश प्रमुखको निर्देशन अनुसार शपथको तयारी हुने प्रदेश प्रमुख प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिए ।

दोस्रो आमनिर्वाचनपछि गण्डकी प्रदेशमा बुधबार चौथो पटक सरकार बन्न लागेको हो । कांग्रेस संसदीय दलका नेता पाण्डे दोस्रो पटक मुख्यमन्त्री बन्न लागेका हुन् ।

प्रतिक्रिया