कार कि पनडुब्बी !

समयमा काम नहुँदा ज्यान जोखिममा राखेर यात्रा

काठमाडौँ । विकास निर्माणमा भइरहेको लापरबाही र ढिलासुस्तीले स्थानीय जनता मारमा पर्ने गरेको घटना नौलो होइन । विकासका काममा राज्यको ध्यान नजाने, ध्यान पुगेका ठाउँमा पनि प्रक्रियागत झन्झट र स्रोतको अनिश्चितताका कारण छोटो समयमा सकिनुपर्ने निर्माणको कामलाई वर्षौं लाग्ने समस्या कम हुन सकेको छैन ।


त्यस्तै ढिलासुस्तीको मारमा परेको सडकखण्ड हो– मुग्लिन–पोखरा सडक । ठेक्का सम्झौताको अवधि सकिइसक्दा पनि काम पूरा नहुँदा यो सडक हुँदै यात्रा गर्ने र सडक आसपासमा बसोबास गर्नेहरू दिनहुँ सास्ती बेहोर्न बाध्य छन् । हिउँदयाममा धुलोको सास्ती खेपेका स्थानीय र यात्रु बर्खा लाग्नासाथ हिलोले हैरान हुन्छन् ।

निर्माणाधीन मुग्लिन–पोखरा सडकखण्डको काममा ढिलाइ हुँदा बर्खामा सर्वसाधारणले सास्ती बेहोर्नुपरेको छ । केही दिनदेखि परेको वर्षाका कारण राजमार्ग हिलाम्य र जलमग्न हुँदा सर्वसाधारणले सास्ती बेहोरेका हुन् ।

मुग्लिन–पोखरा सडक योजनाको पश्चिम खण्डअन्तर्गत तनहुँको म्याग्देका विभिन्न भाग हिलाम्य हुँदा सवारीसाधन सञ्चालनमा कठिनाइ भएको छ । म्याग्दे गाउँपालिकाको मौरीओडार, थर्पुलगायत ठाउँमा सवारीसाधन तथा पैदल यात्रामा समस्या बढेको स्थानीय बताउँछन् ।
‘दुईपांग्रे सवारीसाधनलाई निकै सास्ती हुने गरेको छ । हिलोका कारण चिप्लिएर दुर्घटनासमेत हुने गरेको छ,’ म्याग्दे–४ मनहरिका गौरवराज रानाले भने । पानी परेपछि म्याग्देका विभिन्न ठाउँमा आवागमनमा निकै सास्ती हुने गरेको भन्दै निर्माणमा ढिलासुस्ती हुँदा नागरिकलाई सास्ती भएको उनको भनाइ छ ।

रानाका अनुसार थर्पु बजारबाट अकला मन्दिरसम्मको भागमा काम नहुँदा समस्या भएको छ । अधिकांश ठाउँमा एकतर्फी कालोपत्र भए पनि थर्पु बजारबाट अकलासम्मको भागमा कामको गति शून्य रहेको उनको भनाइ छ । उनले भने, ‘म्याग्देको रिठ्ठेपानीमा सडक नै जलमग्न छ । साना सवारीसाधन आवतजावतमा समस्या हुँदै आएको छ ।’

मुग्लिन–पोखरा सडक प्रयोग गर्दै पोखरातर्फ जानेले भने वैकल्पिक सडक प्रयोग गर्न सकन्छन् । यो सडकमा धुलो र हिलोले सास्ती खेप्न थालेपछि सर्वसाधारणले वैकल्पिक मार्ग प्रयोग गर्न थालेका छन् । सदरमुकाम दमौलीको भोर्लेटार चोकबाट कलेस्ती, लमजुङको मध्य नेपालको दुईपिप्ले, न्यौपानेबेसी, कास्कीको रूपा गाउँपालिकाको पोल्याङ, देउराली, राजाको चौतारा, पोखरा महानगरपालिकाको शिशुवा हुँदै पोखरा निस्किन सकिन्छ ।
यो सडक पूरै कालोपत्र गरिएको छ । धुलो र हिलोको सास्ती रहेकाले आफू यही मार्ग हुँदै पोखरा आवतजावत गर्ने गरेको दमौलीका सुदीप मोहम्मदले बताए । उनले भने, ‘अहिलेको अवस्थामा पृथ्वी राजमार्ग हुँदै पोखरा जान सक्ने अवस्था छैन । वैकल्पिक सडक प्रयोग गरी पोखरा जाने गरेको छु । बाटो सफा छ, कालोपत्र छ । धुवाँधुलो केही छैन ।’

पृथ्वी राजमार्गको अवस्थाका कारण हिजोआज धेरैजसो साना तथा निजी सवारीसाधन यही बाटो हुँदै आवजावत गर्ने क्रम बढेको छ । पर्यटक बससमेत यही बाटो हुँदै पोखरा पुग्ने र पोखराबाट दमौली हुँदै काठमाडौँ जाने गरेका छन् । दमौलीबाट पृथ्वी राजमार्ग हुँदै पोखरा जाँदा ४९ किलोमिटर दुरी पर्छ भने दमौलीबाट पोल्याङ हुँदै पोखरा पुग्न ५९ किलोमिटर पर्छ ।

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा केही प्रगति भए पनि पश्चिम खण्डमा प्रगति निराशाजनक छ । पूर्वी खण्डअन्तर्गत आँबुखैरेनीबाट जामुनेसम्म ५६ र पश्चिम खण्डअन्तर्गत जामुनेबाट पोखरासम्म २३ प्रतिशत प्रगति भएको पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए ।

उनका अनुसार पूर्वी खण्डको म्याद अवधि वैशाख २ गतेदेखि सकिएको छ भने पश्चिम खण्डको म्याद सकिन ४ महिना बाँकी छ । पूर्वी खण्डको म्याद सकिए पनि कामलाई निरन्तरता दिइएको पाण्डेले बताए । यो खण्डमा २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेस्न कन्स्ट्रक्सनले पाएको थियो ।

पश्चिम खण्डको म्याद अवधि भने २०८१ भदौ १२ गतेसम्म बाँकी छ । यो खण्डमा २०७८ जेठ २ गते सम्झौता भई २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले पाएको छ ।

प्रतिक्रिया